काठमाडौं । आगामी आर्थिक वर्षमा खाद्यान्नको मूल्य अत्याधिक वृद्धि भई गरिब तथा विपन्न नागरिकहरू भोकै बस्नुपर्ने स्थिति बन्ने देखिएको छ । भारतबाट आयात हुने खाद्यान्नले नेपालीहरूले पेट भरिरहेको बेला त्यहाँको सरकारले खाद्यान्न तथा नगदे बालीको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि यस्तो सम्भावना बढेको हो ।
त्यसैपनि, चर्को मुल्यबृद्धिका कारण आक्रान्त नेपालका गरिब तथा विपन्न नागरिकहरू अत्यन्तै कष्टकर जीवन यापन गरिरहेका छन् । त्यसमाथि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आयात हुने कृषिजन्य उत्पादन र खाद्यान्नमा कर लगाएपछि नेपालमा खाद्यान्नको मूल्य बढ्ने निश्चित नै थियो ।
'मान माथि भुक्तमान' भने झैँ बुधबार भारत सरकारले क्याबिनेट निर्णय मार्फत केही कृषिजन्य उत्पादन र खाद्यान्नको समर्थन मूल्य वृद्धि गरेसँगै नेपालमा त्यसको प्रतक्ष्य प्रभाव नेपालका गरिबहरूको भान्सामा देखिने भएको छ ।
आफ्ना किसानलाई राहत उपलब्ध गराउन र उत्पादनको उचित मूल्य दिन भारत सरकारले चालु आर्थिक वर्ष २०२३/२४ को लागि धानको न्यूनतम समर्थन मूल्यमा प्रति क्विन्टल २२८ रुपैयाँ वृद्धि गर्दै ३५ सय पुर्याएको छ । त्यसैगरी, मुंग दालको समर्थन मूल्यमा ठूलो वृद्धि गर्दै प्रति क्विन्टल १३ हजार ७०० पुर्याएको छ ।
अन्य नगदे बालीहरूमा भटमासको मूल्य प्रति क्विन्टल ७ हजार ३६० रुपैयाँ पुर्याएको छ भने तिलको समर्थन मूल्य १३ हजार ८१६ रुपैयाँ तोकिएको छ । जसले गर्दा अब भारतबाट आयात हुने तेलजन्य बस्तुमा पनि ठूलो मात्रामा मूल्य वृद्धि हुने देखिन्छ ।
नेपालमा ठूलो मात्रामा खाद्यान्न भारतबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा २५ अर्ब ७६ करोड रुपैयाँ भन्दा धेरैको धान/ चामल आयात भएको छ । यस अवधिमा ३९ करोड ४६ लाख किलो धान चामल प्रयोजनको रुपमा आयात हुँदा १ लाख ३१ हजार २१३ किलो धान बिउको रुपमा मात्र आयात भएको देखिन्छ ।
यसरी नेपालमा हुने खाद्यान्नको अभाव बाहिरबाट, विशेषगरी भारतबाट हुने आयातद्वारा पूर्ति हुँदै आएकोमा त्यहाँ नै खाद्य बस्तुको मूल्य बढ्दा नेपालका उपभोक्ताहरूको भान्सा निकै महँगिने देखिएको हो ।
अहिले नै पनि नेपालमा उत्पादन हुने खाद्यान्नले नेपालीको पेट भर्न सकिरहेको छैन । तथ्याङ्क अनुसार यदि मौसम अनुकूल नै रह्यो र अपेक्षित रुपमा उत्पादन भयो भने पनि नेपालमा वार्षिक ७ लाख मेट्रिक टन चामल आयात गर्नुपर्ने हुन्छ । तर, सो भन्दा निकै नै बढी आयात हुँदै गरेको तथ्याङ्कले देखाएबाट भारतमा खाद्यान्नको मूल्य बढ्दा नेपालको भारतसँगको व्यापार घाटा समेत अझ गहिरिने देखिन्छ ।