काठमाडौं । विगत केही दशकयता नेपालमा प्लाष्टिकको खपत ह्वात्तै बढेको छ । मानवीय जीवनमा प्लाष्टिकको प्रयोग अनिवार्य बनेको छ । यसले गर्दा हरेक वर्ष नेपालमा प्लाष्टिकको खपत वृद्धि हुँदै गएको हो ।
प्लाष्टिकका धेरै सामान अहिले नेपालमै बन्न थालेका छन् । पर्यावरणीय रक्षाको विषय चर्चाको केन्द्रमा रहेका बेला प्लाष्टिकको व्यवस्थापन र पुनः प्रयोगबारे महत्त्वपूर्ण छलफल भएको छ । विश्व पर्यावरण दिवसको अवसरमा क्रियसन नेपाल र प्लाष्ट नेपाल फाउन्डेसनको आयोजनामा मंगलबार काठमाडौंमा प्लाष्टिकको पुनः प्रयोगबारे चर्चा भएको हो ।
सो कार्यक्रममा नेपालमा प्लाष्टिक व्यवस्थापनका लागि भएका प्रयासहरू, प्लाष्टिक प्रदूषण कम गर्न सहयोगी दृष्टिकोणले ‘बिट प्लाष्टिक पोलुसन’ अभियान अन्तर्गत प्लाष्टिक प्रदूषणको समाधानबारे चर्चा भएको छ ।
आज भएको छलफल कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले प्लाष्टिकको प्रयोग र विकल्पबारे गहन अध्ययन र छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘प्लाष्टिकलाई छोडेर तुरुन्तै अर्को विकल्प खोज्न सकिदैन । यो प्रयोग गर्दा यसले पार्ने असर पनि हेर्नू पर्ने हुन्छ । यसले गर्दा सरकार र प्लाष्टिक उधोगीहरु एकै ठाउँमा बसेर छलफल गर्न आवश्यक छ ।’
त्यस्तै, उनले ९० प्रतिशत उद्योगीहरूले फाइदामा मात्र ध्यान दिएको बताए । मन्त्री महतले भने, ९० प्रतिशत उद्योगीहरूले नाफा कमाउन मात्र ध्यान दिएका छन् । उनीहरूले सामाजिक उत्तरदायित्व तिर ध्यान दिएको छैन ।
कार्यक्रममा नेपाल पोलिमर इन्स्टिच्युटका अध्यक्ष रामेश्वर अधिकारले प्लाष्टिक उद्योग र प्राज्ञिक क्षेत्रबिचको साझेदारी आजको आवश्यकता भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले प्लाष्टिक आवश्यकता हो भन्ने बुझ्न सके मोहोर बनाउन सक्ने बताए । कार्यक्रममा उनले भने, ‘हाम्रो नेपालमा प्लास्टिक धेरै खेर गइरहेको छ । प्लास्टिक हाम्रो जीवनको अभिन्न अङ्ग हो । प्लास्टिक अनावश्यक ठाउँमा भए फोहोर हुने र आवश्यक ठाउँमा भए मोहोर बन्न सक्छ ।’
उनका अनुसार नेपालमा प्लास्टिकबाट विभिन्न वस्तुहरू बनाउन सकिन्छ । तर, ढङ्ग पुग्न सकेको छैन । केहीले उत्पादन गरेका वस्तुहरूको बजार र विश्वास कम रहेको उनको भनाइ छ । उद्योगमैत्री सरकारी नीति, अनुसन्धान र सोचाइमा परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । प्लास्टिकका झोलाहरूको पुनः प्रयोग गर्न सकिने भएकोले यसको प्रोत्साहन गर्न विधालायस्तरदेखी नै पढाउनु पर्ने उनको तर्क छ ।
त्यस्तै, प्लाष्ट नेपाल फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले प्लाष्टिक उद्योगीहरूलाई नकारात्मक नजरले हेर्ने गरेकोमा गुनासो गरे । अध्यक्ष श्रेष्ठले भने, ‘प्लास्टिक उद्योगी नेपालमा ७० वर्ष अगाडिदेखि शुरु भएको हो । त्यसयता देखि नै प्लास्टिक उद्योगी भन्ने बित्तिकै छिछी र दुरदुर गर्ने गरिएको छ । आजकै दिनदेखि सकारात्मक रूपमा लिन म आग्रह गर्दछु ।’ प्लास्टिकलाई पुर्णरुपमा निषेधित गर्न नहुने उनको तर्क छ ।
त्यसैगरि कार्यक्रममा क्रियसन नेपालकी सचिव सुजता कोइरालाले प्लाष्टिकबाट विभिन्न वस्तुहरू बनाउन सकिने सम्भावना रहेको बताइन् । उनले भनिन्, १८ हजार जना सम्म काठमाडौंमा सफाइकर्मीहरू कार्यरत रहेका छन् । नेपालमा विभिन्न किसिमको प्लाष्टिक रिसाइकल गर्नेहरू रहेका छन् । क्रियसनले प्लाष्टिकबाट बन्ने विभिन्न वस्तुहरू सँगै कपडाहरू समेत उत्पादन गर्ने गरेको छ । अन्यले पनि धेरे कुराहरू उत्पादन गरिरहेको छन् । प्लाष्टिकबाट विभिन्न वस्तुहरू फाइदामै बनाउन सकिने सम्भावना छ ।
क्रियसनले प्लाष्टिकबाट बनाएको लुगाबारे थप जानकारी दिँदै क्रियसनका वरिष्ठ कार्यक्रम अधिकृत रितेशराज गुरुङले भने, ‘क्रियसनले प्लाष्टिकलाई रिसाइक्लिङ गरेर कपडा समेत बनाइरहेका छौँ । हामीले बनाएको ज्याकेट हामीले प्रदर्शनमा राखेका हौँ ।’
त्यस्तै, आजको कार्यक्रममा प्लाष्टिकबाट बनेका विभिन्न वस्तुहरूको समेत प्रदर्शन गरिएको थियो । जहाँ प्लाष्टिकबाट बनेका गमलादेखी फोहोरबाट उत्पादन गरिएको मल समेत प्रदर्शनमा राखिएको थियो । आफ्नो उत्पादन प्रदर्शनमा राखेका ब्लु वेष्ट भ्यालुका म्यानेजर जेन्सन महर्जनले काम लाग्दैन भनेर फालिएका प्लाष्टिक र फोहोरबाट मोहर बनाइरहेको बताए ।
उनले भने, ‘हामीले काम नलाग्ने भनेर फालिएका प्लाष्टिकबाट गमला, गिलास लगायत वस्तुहरू बनाइरहेका छौँ । फोहोरबाट मल समेत बनाइरहेका छौँ । यो सम्भव छ भनेर हामीले प्रमाणित गरिरहेका छौँ ।’