शीर्षकहरू

बजेट बनाउँदा यस पटक पनि पूर्वनासुको संलग्नता गराइएको भन्दै उठ्यो प्रश्न

बजेट बनाउँदा यस पटक पनि पूर्वनासुको संलग्नता गराइएको भन्दै उठ्यो प्रश्न

काठमाडौं । यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको छ । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

आगामी वर्षका लागि प्रस्तुत बजेटका करका दर हेरफेरमा पूर्वनासु श्रेष्ठको संलग्नता रहेको समाचार अनलाइन खबर डटकमले प्रकाशित गरेको छ । समाचारमा भनिएको छ, ‘बजेट पेस हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायब सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ ।’

अर्थमन्त्री, सचिवले भने बजेट निर्माणमा श्रेष्ठको संलग्नता अनधिकृत नभई आधिकारिक रहेको दाबी गरेका छन् । बजेटको निर्णयमा होइन, बजेट टाइप गर्ने काममा श्रेष्ठको सहभागिता रहेको मन्त्रालयको दाबी छ ।