शीर्षकहरू

बढी धुवाँ फाल्ने सवारी साधन विस्थापित गरिने

बढी धुवाँ फाल्ने सवारी साधन विस्थापित गरिने

काठमाडौँ। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न र युरो–३ मापदण्डभन्दा माथिका सवारी आयात हुने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् ।

उनले दक्षिण एसियाका मुलुकमा युरो–३ मापदण्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको उल्लेख गर्दै एक हप्ताभित्र प्रतिवेदन तयार गर्न वातावरण विभागलाई निर्देशन दिए। विश्व वातावरण दिवसका अवसरमा विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैँबाट सुरुवात गर्नुपर्ने बताए।

पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरे । उनले वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन आवश्यक रहेको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालले मानिसका विभिन्न क्रियाकलापका कारण प्रकृति कुरूप बन्दै गएको बताए। वातावरण संरक्षणतर्फ सबै सचेत हुनुपर्ने बताउँदै उनले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनः प्रयोगमा जोड दिन आग्रह गरे। विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठुलो चुनौतीका रूपमा रहेको बताए।