शीर्षकहरू

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी पूरा

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी पूरा

काठमाडौं । भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा यही जेठ २३ गतेदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ । 

आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग पूरा भएको जानकारी दिए । उनले भने, “सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि बसोबासको थोरै समस्या देखिएकाले त्यसको व्यवस्थापनमै जुटेका छौँ ।” 

 उक्त सम्मेलनमा भारतीका प्रसिद्ध योग गुरु रामदेव समेत सहभागी हुने  जनाइएकोे छ । पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन । सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ ।
  
प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो  सम्मेलन हुन लागेको हो । समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ ।

सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती ९टापु० लगायतका आकर्षक संरचना छन् । बहुमूल्य जडीबुटी पनि पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो । 

विकासको पहिलो पूर्वाधार मानिने सडक मार्ग खप्तडमा आहिलेसम्म पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ । झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ । बाजुरा, बझाङ र अछामको बाटो हुँदै पनि खप्तड पुगिन्छ ।