शीर्षकहरू

थप ११ कम्पनीले पाए ब्रोकर लाईसेन्स

थप ११ कम्पनीले पाए ब्रोकर लाईसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ११ कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गर्ने निर्णय गरेको छ । बोर्डले एक धितोपत्र व्यापारी (स्टक डिलर), एक पूर्ण कार्य कार्य गर्ने धितोपत्र दलाल र ९ सिमिति कार्य गर्ने धितोपत्र दलाललाई लाईसेन्स वितरण गर्ने निर्णय गरेको हो । जेठ २२ गते धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका ११ थप कम्पनीलाई ब्रोकर लाईसेन्स दिने निर्णय गरेको जानकारी बोर्डले दिएको छ ।

नबिल सेक्युरिटिज लिमिटेडलाई स्टक डिलरको र मेगा स्टक मार्केट लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको लाईसेन्स दिने निर्णय भएको बोर्डको भनाई छ । सिमित कार्य गर्ने धितोपत्र दलालको लाईसेन्स एलिट स्टक हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्यूरिटिज लिमिटेड, शुभकामना सेक्यूरिटिज प्रा.लि, हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि, मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, के.वि.एल सेक्यूरिटिज लिमिटेड र कलश स्टक मार्केट प्रा.लि रहेको बोर्डले प्रष्ट पारेको छ ।

४३ कम्पनीलाई ब्रोकर लाईसेन्सको आशयपत्र प्रदान गरेको बोर्डले हालसम्म १८ कम्पनीलाई ब्रोकर लाईसेन्स वितरण गरेको हो । आशय पत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरेसँगै बोर्डले लाईसेन्स वितरण गरेको हो ।

यस अघि बोर्डले सात सिमित कार्य गर्ने कम्पनीहरूलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको थियो । बोर्डले आशयपत्र प्रदान गरेका अझै २५ कम्पनीले ब्रोकर लाईसेन्स पाउन बाँकी छ । बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीहरूमध्ये एक धितोपत्र व्यापारी, ३९ सिमित कार्य गर्ने धितोपत्र दलाल र तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल कम्पनीहरू रहेका छन् ।