काठमाडौं । जेठ १६ गतेदेखि बिक्रीमा आएको लुम्बिनी विकास बैंक लिमिटेडको ऋणपत्र खरीदका लागि अवधि थप भएको छ । बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र जेठ १९ गतेसम्मका लागि निष्कासन गरेको थियो । यस अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि जेठ ३० गतेसम्म बिक्री खुला गरिने जानकारी बैंकले दिएको छ ।
बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको यो ऋणपत्र ‘११ % एलबिबिएल डिबेञ्चर २०८९’ नामको रहेको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो ।
कुल कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने ४ लाख कित्ता सर्वसाधारणमा (सामूहिक लगानी कोष समेतका लागि) वितरण गर्नेछ । बैंकले २० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।
ऋणपत्र खरीदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।