शीर्षकहरू

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने आशा व्यक्त गरेको छ। नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।

मुद्दा चलेको झन्डै एक सातापश्चात् काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी एक अधिकारीले ती आरोपहरू चिन्ताजनक भएको प्रतिक्रिया बीबीसी न्यूज नेपालीलाई दिएकी छन्। “कुनै पनि भ्रष्टाचारको आरोपजस्तै अहिले नेपालमा चर्चामा आएको शरणार्थीसम्बन्धी दस्तावेजमा अवैध अनियमितता एवं भ्रष्टाचारका आरोपहरू चिन्ताजनक छन्,” दूतावासकी प्रवक्ता एना रिचे(एलनले भनिन्।

नेपाली अधिकारीहरूले ती आरोपको अनुसन्धान गरिरहेको हामीले बुझेका छौँ र हामी आशा गर्छौँ उनीहरूले कानुनबमोजिम अनि पारदर्शिता तथा जबाफदेहीप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरूप वास्तविकता चाँडै निर्क्योल गर्ने छन्, दोषीहरूलाई जबाफदेह बनाउने छन्, अनि भविष्यमा भ्रष्टाचारका मामिला निरुत्साहित गर्ने छन्।”

दूतावासले दिएको प्रतिक्रियामा संयुक्त राज्य अमेरिकाले भ्रष्टाचार निर्मूल पार्ने नेपाल सरकार तथा नागरिक समाजका प्रयासलाई निरन्तर समर्थन गर्दै आएको उल्लेख छ। “भ्रष्टाचारका आरोपहरूमा गरिने पारदर्शी अनुसन्धानले नेपाली जनतालाई कानुनभन्दा माथि कोही छैन भन्ने देखाउने छ। कानुनबमोजिम सत्य उद्घाटित गर्ने नेपाल सरकारको कदमहरूको हामी प्रशंसा गर्छौँ।”

अमेरिकाले सन् २००७ र २०१६ का बीच नेपालमा बसोबास गरिरहेका दशौँ हजार भुटानी शरणार्थीलाई एक पुनर्वास कार्यक्रम अन्तर्गत आफ्नो देश लगेको थियो। उक्त कार्यक्रम अहिले सम्पन्न भइसकेको छ र उक्त पुनर्वास कार्यक्रममा कुनै धोखाधडीपूर्ण गतिविधि भएका भनेर कुनै उल्लेखनीय चिन्ता व्यक्त भएको थिएन।”

दूतावासले नेपालमा हालको भ्रष्टाचारसम्बन्धी आरोप एवं शरणार्थी दस्तावेजमा अवैध चलखेलको विषय पारदर्शिता र जबाफदेहीमा प्रतिबद्ध नेपालजस्तो एउटा सार्वभौम लोकतान्त्रिक देशको सरकारले अनुसन्धान गर्ने मामिला भएको पनि बताएको छ। “संयुक्त राज्य अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ र त्यसैअनुरूप मामिलाहरूको समीक्षा तथा अनुसन्धान गर्छ।”