शीर्षकहरू

नेपाल-भारत सम्बन्ध 'सुपरहिट' बनाउन आधा दर्जन बढी सम्झौता

नेपाल-भारत सम्बन्ध 'सुपरहिट' बनाउन आधा दर्जन बढी सम्झौता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्धलाई सुपरहिट बनाउने घोषणा गरेका छन् । उनले गोरखपुर-भैरहवा बिधुत प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा भएको सम्झौताले दुवै देशलाई लाभ पुग्ने बताएका हुन् ।

भारतले नेपालबाट ४५० मेगावाट बिधुत खरिद गर्ने गरी भएको कामलाई बितेका नौ वर्षका उपलब्धि बताउँदै उनले यसबिच भएका कामहरूको व्याख्या गर्दा दिन बित्ने समेत बताए । दुई देशबिच धेरै क्षेत्रमा सहयोगको आदान प्रदान गर्दै आएको उनले स्मरण गरे ।

आफ्नो चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिधुत किन्न सहमति जनाएकोमा मोदीलाई धन्यवाद दिएका छन् । प्रचण्डले दुवै देशका अधिकारीहरूलाई पन्चेश्वोर परियोजनाको काम तीन महिनामा नै अघि बढाउन निर्देशन दिने सहमति पनि दुई प्रधानमन्त्री बीच भएको खुलासा गरे ।

नरेन्द्र मोदीले नेपाल र भारतबिच पछिल्ला नौ वर्षमा धेरै प्रगति भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् । उनले भविष्यमा आफ्नो पर्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताए । 

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स‌ंयुक्त पत्रकार सम्मेलनमार्फत दुई देशबिच भएका सम्झौताको जानकारी दिएका हुन् ।  दाहालले भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ ।

दिल्लीमा भएका खास कामहरू

·       गोरखपुर-भैरहवा ४०० केभी ट्रान्समिसन लाइन निर्माण सम्झौता

·       भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन

·       सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

·       नेपालगन्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन

·       अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईको शिलान्यास

·       सिलीगुड़ी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारी

·       दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

·       फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा सम्झौता

·       क्रस बोर्डर पेमेन्टबारे समझदारी

·       तल्लो अरुण जलविद्युत आयोजना निर्माणको सम्झौता

प्रचण्डको भ्रमणमा नेपाल र भारतबिच क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता भएको छ । अब वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तर्देशीय) भुक्तानी प्रणाली सञ्चालन गरिने भएको छ । हाल यस्ता काम गरिरहेका नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबिच सम्झौता भएको हो ।

यस्तो सम्झौतामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रस बोर्डर भुक्तानी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि अब नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैङ्किङको माध्यमबाट क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् ।

प्रचण्डले क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे । अब नेपाल र भारत मिलेर फुकोट कर्णाली हाइड्रोपावरलगायतका आयोजनामा काम गर्ने भएका छन् । त्यस्तै, अमलेखगन्जको पाइप लाइनलाई विस्तार गरी चितवनसम्म पुर्‍याउने र झापा-सिलिगुडी नयाँ पेट्रोलियम पाइपलाइन बनाउने पनि समझदारी भएको छ  ।

मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने विषयमा दुई जना बीच छलफल भएको समेत पत्रका सम्मेलनमा जानकारी दिए । मोदीले नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै सीमालगायत अन्य समस्या समाधान गरिने समेत बताए ।