काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । आज बिहान ११ बजे संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने भएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।
नीति तथा कार्यक्रममाथि विपक्षी दलहरुले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै २ घण्टाको समय लिएर बुँदा बुँदामा आलोचना गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले पनि नीति तथा कार्यक्रम पुरानै निरन्तरता र कर्मकाण्डी मात्रै भएको आरोप लगाएका छन् ।