aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

नक्कली शरणार्थी प्रकरणमा फेला परेका यी ४३ प्रमाण, यी हुन् जुटाउने आधार

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १२ जेठ २०८०
नक्कली शरणार्थी प्रकरणमा फेला परेका यी ४३ प्रमाण, यी हुन् जुटाउने आधार
NIBL

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरिएको छ । जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैंक भौचर र चेकसम्म प्रमाणका रूपमा छन् । यस्तै, अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनका विषयसम्म प्रमाणका रूपमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा उनीहरूलाई विभिन्न पाँच कसुरमा मुद्दा अघि बढाउन राय दिइएको छ । उनीहरूमाथि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।

अभियोगपत्रमा प्रतिवादीका बयानसँगै अन्य दसी प्रमाणसमेत पेस गरिएको छ । सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा जाहेरवालाले जाहेरी दरखास्त साथ दिएका पेनड्राइभमा वारदातको मिति र समयसहितका फुटेज राखिएको छ ।

यसैगरी, भिडियोसहितको सीडी तथा फोटो, प्रतिवादीहरूको खातामा रकम जम्मा गरेको बैंक भौचरको प्रतिलिपि, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त परीक्षण प्रतिवेदन, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्राप्त प्रतिवादी सन्देश शर्माले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीका नाममा काटिएका सक्कल पाँच थान चेक पेस गरिएको छ ।

यसैगरी, प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको नबिल बैंक लेखिएको र भित्र विभिन्न पानामा भुटानी शरणार्थीसम्बन्धीको रकम विवरण उल्लेख गरिएका डायरीसमेतलाई अभियोगपत्रमा दसी प्रमाणका रूपमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवादीले प्रयोग गर्ने मोबाइल र सीमकार्डसमेत प्रमाणका रूपमा उल्लेख गरिएको छ । प्रहरीले घटनासँग जोडिएका सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल तथा फोटोकपी, राजस्व दाखिला गरेका भौचर, सम्बन्धित व्यक्तिले फरकफरक रूपमा विभिन्न बैंकमा जम्मा गरेको रकमको भौचर, केही जग्गाधनीका सक्कल पुर्जा, अभियुक्तबाट बरामद डायरी, हस्तलिखित कागजातसमेत प्रमाणका रूपमा पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस