शीर्षकहरू

काठमाडौंको भान्सामा जुम्लाको स्वाद दिने गंगादेवीको संघर्षका गाथा

काठमाडौंको भान्सामा जुम्लाको स्वाद दिने गंगादेवीको संघर्षका गाथा

उमेर ४५ वर्ष, नाम गंगादेवी राउत । जुम्ला पातारासीकी स्थायी बासिन्दा रहेकी एक सफल व्यवसायीको सामान्य परिचय हो यो । विगत १८ वर्षदेखि जुम्लाको उत्पादन काठमाडौंबासीलाई चखाइरहेकी राउतको चिनारी यतिले मात्रै पुग्दैन । उनको जीवन संघर्ष र प्राप्त सफलताको पुरै कथा पढेपछि बल्ल खुल्छ यी जुझारु महिलाको खास परिचय । 

कलिलैमा विवाह र संघर्षको श्रीगणेश 

जुम्लाकै शिवलाल राउतसँग विवाह गर्दा उनको उमेर १२ वर्ष मात्र थियो । विवाहको एक वर्षपछि उनका पति कलेज पढ्नका लागि काठमाडौं आए । उनी गाउँमै बसिन् । पराई घर, केटाकेटी उमेर । उनको जीवन निकै सकसपूर्ण थियो । 

उनका पतिले १२ कक्षा पास गरेपछि दरबार हत्याकाण्ड भएकै समय अर्थात् २०५८ सालमा उनी काठमाडौं आइन् । कानको उपचार गर्ने सिलसिलामा राजधानी भित्रिएकी थिइन्, उनी । उपचारको क्रममा काठमाडौंको बसाइ उनको लम्बियो ।

उपचार गर्न लामो समय बस्नु पर्ने भएपछि गुजारा चलाउन किराना पसल खोल्ने सोच बनाइन् । जहाँ किरानाका सामानसहित तरकारी, फलफूल पनि राखिन् । तर, त्यस्तो पसल उनले लामो समय चलाउन सकिनन् । र, बेचिन् । गंगादेवीले काठमाडौंमा यो व्यापार शुरु गर्न धेरै संघर्ष गर्नु पर्‍यो ।  

‘श्रीमान् वैकल्पिक ऊर्जामा काम गर्नु हुन्थ्यो । उहाँको कमाइले घर खर्च थेग्नै गाह्रो हुन थाल्यो । काठमाडौंमा दुई छोराछोरीसहितको चार जनाको परिवार धान्न हम्मेहम्मे पर्न थाल्यो । अनि मैले सानो किराना पसल खोल्ने सोच बनाएर शुरु गरेको थिएँ। तर, चलेन । अनि बेचिदिए’, उनले भनिन् ।

जुम्लाको स्याउ बेच्दा बर्सिएका गाली 

किराना पसल बेचेपछिका तीन वर्षसम्म छोराछोरीको स्याहारमा नै बिताइन् । तर, उनलाई काठमाडौंको महँगी र एक जनाको मात्रै कमाइले छाक टार्न नै समस्या हुँदै गयो । उनी काका सिंह विष्टसँग विभिन्न ठाउँमा गएर जुम्लाको स्याउ बिक्री गर्न थालिन् ।  

‘मेरो काकाले जुम्लाबाट स्याउ ल्याए काठमाडौं बिक्री गर्नु हुन्थ्यो । बिक्री गर्ने ठाउँ हुँदैन थियो । हामी विभिन्न ठाउँमा गएर स्याउ बिक्री गर्ने गर्थ्यौँ । जुम्लाको अर्ग्यानिक स्याउले राम्रै बजार पाउँछ भन्ने सोचका थियौँ । तर, हामीले बिक्री गर्ने समेत ठाउँ पाएनौँ । विभिन्न ठाउँका सडक किनारामा बसेर स्याउ बिक्री गर्ने गर्‍यौँ’, उनले भनिन् ।

स्याउ बिक्री गर्दा उनीहरूले चीनबाट आयात गरिएका स्याउका कार्टुन प्रयोग गर्ने गर्थे । यसो गर्दा उनीहरूले धेरैको गाली समेत खाए । त्यो कार्टुन हेरेर धेरैले उनीहरूलाई चाइनाको स्याउ ल्याएर जुम्लाको भन्दै मान्छे झुक्याउने भनेर गाली गाली समेत गरे ।

खुमलटारका कर्मचारीले आलु नै खाइदिए 

स्याउ बिक्री गर्दागर्दै उनले जुम्लाको सिमी पनि ल्याएर बिक्री गर्न थालिन् । तर, सिमी पनि उनले बिक्री गर्न सकिनन् । उनले गाउँकै एक जना दाईसंग बिक्री गरिदिनका लागि हारगुहार गरिन् । उनी लामो समयदेखि जुम्लाका उत्पादन काठमाडौंमा बिक्री गर्दै आएका थिए । त्यसो हुनाले सुरुवाती चरणमा दाल पनि सजिलै बिक्री गरिदिए ।  

तर, उनले पछि दाल बिक्री गरिदिएनन् । बिक्री नभएको दाल आफैँ पिसेर होटल र घरघरमा लगेर सित्तैमा चाख्न दिइन् । त्यसो गरेपछि दाल मिठो रहेछु भन्दै धेरैले किन्न मागे । तर, जुम्लाबाट दाल खरिद गरेर ल्याउन उनीसँग पैसा नै थिएन ।  

जुम्लाको स्याउ बेच्न सघाए वापत काकाले उनलाई १६ हजार रुपैयाँ दिएका थिए । त्यो पैसा र उनका श्रीमानका साथीसँग दुई लाख ऋण लिएर उनले जुम्लाबाट आलु र सिमीको दाल ल्याइन् । आलु राख्ने गोदाम थिएन । एक जना नेवारको घरको गोदाममा राखिन् । तर, आलु त गोदामवालाले चोरेर दिनदिनै घट्थ्यो । बाँकी रहेको आलु बिक्री नभएपछि खुमलटारमा कृषि कार्यालयको कर्मचारीलाई दिइन् ।

‘गोदामबाटै चोरेर घटाइदिए । बाँकी रहेको आलु कृषिका कर्मचारीहरूले बेचिदिन्छु भने र उनीहरूलाई दिएँ । बिक्री गरिदिन्छु भनेर घुस समेत लिएका थिए । तर, बिक्री गरिदिएनन्, उल्टै उनीहरूले खाइदिए । अहिलेसम्म त्यो आलुको पैसा दिएनन्’, उनले सुनाइन् ।

स्याउबाट सिमीमा सिफ्ट 

सिमी दाल पनि मागेको बाहेक अरू बिक्री भएन । त्यो दाल उनले अनामनगरको घट्टेकुलोमा रहेको मिलमा पिस्ने गर्थिन । उनको त्यो दुःख देखेर एक वर्षपछि मिलवालाले दाल पिस्ने मेसिन उनलाई सित्तैमा दिए । मेसिन पाएपछि उनले हिमाली कृषि उद्योग दर्ता गरिन् । संस्था दर्ता भए पनि कृषि उपज बेच्ने ठाउँ थिएन । एक वर्षसम्म सडकपेटीमा बसेर दाल बेचिन् । उनकोमा दाल किन्न आउने कृषिको सरले पुल्चोकमा बेच्ने ठाउँ देखाइ दिए । त्यसपछि उनको व्यापार बढ्न थाल्यो ।   

उनको व्यापार यसरी फस्टायो की उनले त्यहाँ बेच्न थालेको केही वर्षमै विदेश समेत निर्यात गर्न थालिन् । युकेमा मकैको च्याँख्ला र सिमीको दाना निर्यात गर्न थालिन् । उनले महिनामा पाँच सय केजी मकैको च्याँख्ला र पाँच सय केजी सिमी निर्यात हुने गरेको थियो । तर, गत वर्षदेखि भने जुम्लामा उत्पादन नै नभएको कारण निर्यात गर्न सकिनन् ।

भिआइपी ग्राहक, चार वटा पसल 

उनको सामान खरिद गर्न डाक्टरदेखि राजनीतिज्ञ पनि आउने गरेका छन् । हिमाली क्षेत्रमा फलेको अर्ग्यानिक खाद्यान्न भएकोले पनि विशिष्ट व्यक्तिहरू नियमित ग्राहक रहेको उनले सुनाइन् । उनी तिते फापरको पिठो, सिमी र सिमीको दाल, कालीमासी चामल, कोदोको पिठो, कागुनोको चामल, चिनोको चामल बिक्री गर्छिन् । यसका साथै उनले मकैको च्याँख्ला, मकैको पिठो, जौको सातु, ताजा स्याउ तथा स्याउको चाना, गहुँको पिठो, जडीबुटी चिया, जिम्बु, दाँते ओखर आदी सामानहरू होलसेल र खुद्रा मूल्यमा बिक्री गर्दै आएकी छिन् ।

यी सामान बिक्री गर्नका लागि उनले अहिले काठमाडौंमै चार ठाउँमा पसल खोलेकी छिन् । यी पसलहरू अनामनगर, लाजिमपाट, काँडाघारी र नक्सालमा रहेका छन् । काठमाडौं बाहिर सुर्खेत र जुम्लामा पनि उनका यस्तै सामान बिक्री गर्ने पसल रहेका छन् । यी पसलमा उनले करिब एक दर्जनलाई रोजगारी दिएकी छिन् । विराटनगरमा पनि माग हुने भएकोले उनले त्यहाँ पनि डेलिभरी गर्ने गरेकी छिन् ।

काठमाडौंको लाजिमपाटमा कुटानी पिसानी गर्ने उनको आफ्नै मिल छ । अन्य ठाउँमा पनि उनका चार वटा मिल रहेका छन् । जुम्ला पुगेर उनी आफै सामान ल्याउने गर्छिन् । उनले जुम्लाबाट ल्याएका सामान आफ्नै पिस्ने गर्छिन् ।  

बिचौलियाको बिगबिगी, बेइमान किसान 

‘पहिले किसानको विश्वास गरेर गाडीमा सामान पठाउन लगाउने गरेको थिएँ । तर, अहिले किसानहरूले नै मिसावट गर्न थाले । ओजन बढाउनका लागि उनीहरूले ढुङ्गा माटो मिसावट गर्ने गरे । त्यही भएर म आफै जुम्ला जाने गरेको छु’, उनले दुखेसो छ ।  

लाखबाट शुरु भएको उनको व्यापार अहिले करोडको भएको छ । उनी भन्छिन्, ‘अहिले मेरो व्यापारमा करोडौँ लगानी भइसकेको छ । कोरोना महामारी अघिसम्म वार्षिक एक करोडसम्म आम्दानी हुने गरेको थियो । महामारीपछि भने केही कम भएको छ ।’  

राम्रो सामान ल्याएर बिक्री गर्ने हो भने कर्णालीका उत्पादनको बजार काठमाडौंमा राम्रो रहेको उनको अनुभव छ । गंगादेवि भन्छिन्, ‘मिसावट बिनाको राम्रो समान ग्राहकलाई दिने हो भने हिमाली क्षेत्रको उत्पादनको बजार काठमाडौंमा राम्रो रहेको छ ।’ विचौलियाका कारण हिमाली भेगका सामान भनेर अर्कै सामान ब्रिकी गरेर अर्ग्यानिक सामान बिक्री गर्नेहरूलाई गाह्रो पर्ने गरेको उनले बताइन् ।  

विगत १८ वर्षदेखि व्यापार गरिरहँदा उनले पाएको दुख र चुनौती धेरै नै छ । यो दौरानमा उनले धेरै नै चुनौती खेप्नु पर्‍यो । सामान्य लेखपढ गरेकी उनलाई बजार खोज्नदेखि ग्राहकको विश्वास जित्न समेत समस्या झेल्नु पर्‍यो ।  

भनसुन पछि मात्रै बैंकले पत्यायो  

व्यवसाय सुरु गर्दा बैंकहरुबाट ऋण नपाएको उनको गुनासो छ । बैंकहरुले सहुलियतदरमा ऋण दिन्छ भन्ने सुनेपछि उनी काठमाडौंबाट जुम्ला पुगिन् । उनले भनिन्, ‘जुम्लामा रहेको राष्ट्रिय वाणिज्य बैंकले महिलालाई १५ लाख रुपैयाँसम्म सहुलियत दर ऋण दिन्छ भनेको सुनेर पुगे । तर, बिना धितो दिँदैनौँ भने । त्यति रकमको लागि धितो राख्ने जग्गा थिएन । त्यतिकै फर्किएँ ।’

महिला उद्यमीलाई बैंकहरुले ऋण दिन नमान्ने गरेको उनको अनुभव छ । गंगादेवि भन्छिन्, ‘महिला उद्यमीलाई ऋण दिन्छौँ भने पनि हत्तपत्त दिन नमान्ने रहेछन् । जुम्लाको जग्गा धितो कसरी राख्ने रु मेहनत गर्छु भनेर ऋण माग्दा हामीजस्तालाई बैंकले ऋण नदिने रहेछ ।’  

आफूहरूलाई ऋण नदिने रहेछन् भन्ने लागेर उनले ऋणको लागि बैंकको ढोका ढकढक्याउन छोडेकी थिइन् । तर, पछि उनले अर्की एक महिला उद्यमीको लागि एनएमबी बैंकमा ऋण भनिदिइन् । बैंकका कर्मचारीले उनको पसल हेरेर बिना धितो ऋण दिएको उनले सुनाइन् । जहाँबाट उनले १० लाख रुपैयाँ ऋण लिएर चलाएको उनले सुनाइन् ।

‘जुम्ला पुगेर ऋण माग्दा बैंकले दिन मानेन । खर्च मात्रै लाग्यो जान आउनलाई । तर, यो बैंकले सहजै ऋण दियो । यस्तो पनि बैंक हुने रहेछ भन्ने लागेर धेरै नै खुसि लाग्यो’, उनले भनिन् ।  

बन्यो गाडी चढ्ने हैसियत 

यो व्यवसाय गर्दा उनले घरको एक रुपैयाँ पनि पैसा लिएकी छैनन् । उनलाई यो व्यवसाय गर्न उनका परिवारले नगद सहयोग नगरे पनि श्रीमानले हौसला दिएको सुनाउँदै उनी भन्छिन्, ‘मैले घरको एक रुपैयाँ पनि लिएको छैन । एउटा कोदोको दानो समेत ल्याएको छैन । आफैले दुख गरेर पसिना बगाएर यो व्यवसायलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।’  

उनले यो आम्दानीबाट नै छोराछोरीलाई स्नातकोत्तरसम्म पढाइन् । यसबाहेक उनले काठमाडौं एउटा घडेरी किनेकी थिइन् । त्यो घडेरी उनले बेचेर नेपालगञ्जमा अर्को घडेरी किनेकी छिन् । एउटा गाडी पनि किनेकी छिन् भने छोरीलाई नयाँ बानेश्वरमा गहना पसल खोलिदिएकी छिन् । जुन पसल खोल्दा उनले २० लाख लगानी गरेकी छिन् ।