शीर्षकहरू

विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसक्दा एक सय ४० वटा उद्योग बन्द भए: गुप्ता

विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसक्दा एक सय ४० वटा उद्योग बन्द भए: गुप्ता

काठमाडौं । विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसक्दा एक सय ४० वटा स्वदेशी उद्योग बन्द भएका छन् । नेपाल चामल तेल दाल उद्योग संघले आइतबार पत्रकार सम्मेलन मार्फत स्वदेशी उद्योग धराशायी बनेको जानकारी दिएको हो । 

संघका अध्यक्ष सुबोध गुप्ताले स्वदेशी विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसक्दा सय वटा स्वदेशी साना उद्योग र ४० वटा ठूला उद्योग बन्द भएको जानकारी दिएका छन् । कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्टनीति निर्माण नहुनु, कृषि भूमिको संरक्षण नहुनु, उन्नत बिउ बिजन र मल जलको पूर्ण व्यवस्थापन नहुनु, राज्यका कमजोर पक्ष रहेको उनको तर्क छ । 

उनका अनुसार हरेक आर्थिक वर्षका बजेट घोषणा गर्दा विभिन्न शीर्षकहरू प्रष्ट रुपमा उल्लेख नगरी अन्यौलमा राखेको पाइन्छ । यस्तो अन्यौलमा नेपालका चामल तेल र दाल उद्योगहरू समेत पटक पटक चपेटामा परेका छन् । उद्योगले उत्पादन गर्ने वस्तुमा लाग्ने गरेको कर, भन्सार महसुल लगायत अन्य असमान करका दरले कृषि उद्योगलाई मात्र नभई समग्र क्षेत्रलाई नै प्रभावित पार्ने गरेकोले सरकारको औद्योगिक नीति बनाउनु पर्ने संघको माग रहेको छ ।  

संघका अनुसार नेपालमा स्वदेशी र आयातित कच्चा पदार्थ प्रयोग गरी लगभग २५ वटा दाल उद्योगहरू सञ्चालनमा छन् । स्वदेशी दाल उद्योगले शतप्रतिशत माग धानिरहेको छ । यहाँको मागलाई परिपूर्ति गर्न सक्ने क्षमता भएपनी हाल अनावश्यक रुपमा तयारी दालको आयात भइरहेको छ । कच्चा दाल र तयारी दाल दुबैको समान भन्सार दर १० प्रतिशत कायमले विदेशी तयारी दालसँग प्रतिस्पर्धा गर्न नसकी उद्योगहरू धारासायी हुने स्थितिमा पुगेको छ । 

विगत ३–४ वर्षदेखि बजेट भाषण मार्फत अर्थमन्त्रीले कच्चा र तयारी बस्तुमा उद्योगहरूलाई १–२ तहको भन्सार दर फरक गरिने कुरा भन्दै आएपनि कृषि उद्योग दालमा भने व्यवहारिक रुपमा पूर्णतः लागु हुन सकेका छैन । नेपालका धेरै उद्योगहरूले फरक भन्सार दर मार्फत संरक्षण पाइरहेको अवस्थामा दाल उद्योगहरूले वर्षौँदेखि माग गर्दै आएको दुई तहको भन्सार दरको सुविधा हालसम्म प्राप्त गर्न सकेको छैन । जसले गर्दा स्वदेशी दाल उद्योग प्रभावित बनेको छ । 

तोरी तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि खारेजीको माग समेत संघले राखेको छ । यसका साथै, तोरी तेल दैनिक जीवनमा नभई नहुने अत्यावश्यक खाद्य वस्तु हो । अवैधानिक तरिकाबाट अत्यधिक मात्रामा भित्रिएको तोरी तेलका कारण नेपालका स्वदेशी उद्योगहरू धमाधम बन्द भएका छन् । छिमेकी देश भारतमा कृषि उत्पादनमा मल, बीउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा मूल्य अभिवृद्धि कर नलाग्ने भएकोले भारतीय तोरी तेल नेपाली तोरी तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा विक्री भइरहेको छ । यसरी अस्वस्थ प्रतिस्पर्धाको कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको छ ।

अहिले धेरै जसो उद्योगको उत्पादन घटेको छ । विधुत अनुदान तथा अन्य सुविधा हुनु जरुरी छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाली उत्पादनलाई निश्चित तौलमा वस्तुको प्याकिङ गर्ने पर्ने कानुनी प्रावधान छ । तर, आयातित सोही प्रकारका बस्तुमा नेपाल सरकारले तोकेको वजन मापदण्ड लागु छैन । कृषि उद्योगको कच्चा पदार्थ नेपालमा उत्पादन बढाउन नेपाल सरकारसँग हातेमालो गर्नु पर्ने संघले जनाएको छ ।