aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

जेठ ४ गतेदेखि नेपाल चेम्बर एक्स्पो हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ जेठ २०८०
Global IME
ime Limited
DHI
nmb

काठमाडौं । यहि जेठ ४ गतेदेखि ८ गतेसम्म ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी मार्गमा उक्त एक्स्पो गर्न लागिएको हो । 

मंगलबार पत्रकार सम्मेलन मार्फत चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले देशको समग्र विकास निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने मूल मन्त्र लिई उक्त एक्स्पो गर्न लागिएको जानकारी दिए । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने समेत मल्लले जनाएका छन् । 

निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक सङ्गठनहरूमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । नेपाल चेम्बर अफ कमर्शले पछिल्ला पाँच संस्करणहरू सम्पन्न गरिसकेको छ । यो मेलाको छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ । 

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकले जनाएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने आयोजकको भनाई छ । 

यस वर्ष पनि विगतमा झैँ ‘मिनिस्ट्रिी अफ कमर्श एण्ड इएपीबी बंगलादेश’ को सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटो मोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्स, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्ज, हाइड्रो, लजेस्टिक, ह्याण्डीक्राफ्ट एण्ड ह्याण्डलुम्स्, सुज एण्ड लेदर आइटम, कस्मेटिक, डेरी प्रडक्ट लगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।

एक्स्पोको अफिसियल इन्स्योरेन्स ‘प्रभु इन्स्योरेन्स’ र इन्टरनेट पार्टनर ‘क्लासिक टेक प्रालि’ रहेको बताइएको छ । एक्स्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा ‘इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राली’ले लिएको आयोजकले जनाएको छ । एक्स्पोमा १५० भन्दा बढी स्टल रहने आयोजकको भनाइ छ । जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् । 

 

प्रतिक्रिया दिनुहोस