शीर्षकहरू

स्वास्थ्य बीमा बोर्डद्धारा १० अर्बबढी दावी भुक्तानी, बीमितको संख्या ६७ लाख नाघ्यो

स्वास्थ्य बीमा बोर्डद्धारा १० अर्बबढी दावी भुक्तानी, बीमितको संख्या ६७ लाख नाघ्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म स्वास्थ्य बीमा वापतको १० अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले सातौं पटक अर्थात यही बैशाख महिनासम्म स्वास्थ्य बीमा वापतको १० अर्ब ४४ करोड ३६ लाख ७९ हजार ३६९ रुपैयाँ दावी भुक्तानी गरेको हो ।

बोर्डले सातौं पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब ८९ करोड ५२ हजार ६१८ रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । बोर्डको बैशाख २६ गते बसेको बैठकको निर्णय अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पूर्ण तथा आंशिक फर्छौंट गरी बाँकी रकम भुक्तानी गरेको हो ।

यसअघि गत पुस महिनामा बोर्डले स्वास्थ्य बीमा वापतको १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९०० रुपैयाँ दावी भुक्तानी गरेको थियो । त्यस्तै, बोर्डले मंसिरमा एक अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ र कात्तिक महिनामा एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यसैगरी, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो । 

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको ३८ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ ।

स्वास्थ्य बीमा गर्नेको संख्या ६७ लाख नाघ्यो

हालसम्म स्वास्थ्य बीमा कार्यक्रमको पहुँच ६७ लाख बढी जनसंख्यामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६७ लाख ६२ हजार १६६ पुगेको हो ।

स्वास्थ्य बीमा गर्नेहरुमा सबैभन्दा धेरै झापामा रहेका छन् । झापामा ६ लाख ४९ हजार ७११ जनाले बीमा गरेका छन् । त्यस्तै सुनसरीमा ४ लाख ८० हजार ३८६ र मोरङमा ४ लाख ८१ हजार ९८७ रहेका छन् । हालसम्म चितवनमा ४ लाख ४९ हजार ९३८ ले स्वाथ्य बीमा गरेको बोर्डले जनाएको छ ।

कुन प्रदेशमा कतिले गरे स्वास्थ्य बीमा ?

बोर्डका अनुसार हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । जसमध्ये कोशी प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २० लाख ८१ हजार रहेको छ । अन्य प्रदेशको तुलनामा यो सङ्ख्या सबैभन्दा बढी हो ।

त्यस्तै, मधेश प्रदेश नम्बर दुईमा ४ लाख ८५ हजार ७१८ जना, बाग्मती प्रदेशमा १४ लाख ७ हजार ७९२ जना, गण्डकी प्रदेशमा ८ लाख ६६ हजार ५३७ जना रहेका छन् ।  त्यसैगरी लुम्बिनी प्रदेशमा १० लाख १२ हजार १५ जना, कर्णाली प्रदेशमा ३ लाख ९५ हजार ४८३ जना र सुदूरपश्चिम प्रदेशमा ५ लाख १२ हजार ७२६ जना रहेको तथ्याङ्कमा उल्लेख छ  ।