शीर्षकहरू

नेपाल लाइफले ९ महिनामा संकलन गर्यो करिब २७ अर्ब खुद बीमाशुल्क

नेपाल लाइफले ९ महिनामा संकलन गर्यो करिब २७ अर्ब खुद बीमाशुल्क

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २६ अर्ब ८३ करोडभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म रू. २५ अर्ब ९९ करोडभन्दा खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ३ दशमलव २४ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

कम्पनीले यस अवधिसम्म ११ अर्ब ८२ करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १० अर्ब ६० करोडभन्दा बढी खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष रू. १९ करोड ४५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको यस कम्पनीले यो वर्ष भने रू. ४४ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष आम्दानी बढेकाले कम्पनी नाफामा गएको हो । गत वर्ष रू. ५४ करोड ३६ लाखभन्दा बढी रहेको आम्दानी रकम यस वर्ष रू. ८१ करोड १५ लाखभन्दा बढी छ । खर्च रकम भने कम भएको छ । गत वर्ष रू. ७३ करोड ८२ लाखभन्दा बढी रहेको खर्च रकम यस वर्ष रू. ३६ करोड ५० लाखभन्दा बढी मात्र रहेको छ ।

 हाल यस कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड रहेको छ भने जगेडा कोष रकम गत वर्षभन्दा ९ दशमलव ४० प्रतिशत बढेर रू. ४८ करोड ६७ लाखभन्दा बढी पुगेको छ । जीवन बीमा कोष रकम भने गत वर्षभन्दा करिब २० प्रतिशत बढी रू. १ खर्ब ५७ अर्ब १६ करोड ९१ लाख कायम छ । प्रतिशेयर आम्दानी रू. ७ दशमलव २५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव शून्य १ रहेको छ ।