शीर्षकहरू

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको मेसिन भारत निर्यात

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको मेसिन भारत निर्यात

काठमाडौँ । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको एउटा मेसिन भारत निर्यात भएको छ । अन्न भुट्न प्रयोग हुने मेसिन आविष्कार केन्द्रको उत्पादन हो जुन केन्द्रले ६७ हजार ८ सय रुपैयाँमा बिक्री गरेको छ ।

आफ्नो उत्पादन भारत तर्फ बिक्री गरेको खुसीयालीमा यसबारेको बृस्तृत जानकारी पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । उनका अनुसार भारतको रिम्दिकबाट आएका खरिदकर्ताले सो मेसिन किनेका हुन् ।

अब भारतको सामान मात्रै किन्ने होइन भारतलाई सामान पनि बेच्ने हो भन्ने उनको धारणा रहेको छ । मेसिन बिक्री गरेको बिल, खरिदकर्ता र बिक्रिगरेको मेसिनको तस्बिर सहित उनले फेसबुक स्ट्याटसमा लेखेका छन् : ‘लु हेर्नु होस्, राष्ट्रिय आविष्कार केन्द्रमा बनेको अन्न भुट्ने मेशिन भारतमा निर्यात गरियो ।भारतको सामानहरू मात्र कति किन्ने !!! होइन त ???’

आफ्नो कामको खिसिट्युरी हुने गरेकोमा दिक्क मान्दै आएका पुनले थप अगाडी लेखेका छन् :  ‘ठट्टा गरेको होइन । एउटा मसिन साँच्ची कै बेचेको हो । ६७ हजार ८ सय रुपैंयाको बिल पनि हेर्नु होला । अनि कसैले पनि नगिज्याउनु र नउडाउनु होला ।‘

पुनका अनुसार मेसिन खरिदकर्ता भारतको दार्जिलिङबाट २ घण्टा परको रिम्दिक भन्ने गाउँबाट आएका हुन् । राजेश कुमार राई नाम गरेको ती व्यक्ति यहि मकै र अन्न भुट्ने मेशिन किन्न भनेर आएका आएका हुन् ।

पुनले यसबारे थप लेखेका छन्, ‘उनले सो मेशिन फेसबुकमा देखेका रहेछन् । उता तिर खोज्दा कहीँ पनि पाएनछन् । अहिलेलाई यो एउटा उदाहरण मात्र हो । भविष्यमा यस्ता धेरै किसिमका थुप्रै सामानहरू भारत र अन्य देशहरूमा बेच्नु पर्छ । हो कि होइन ?? हो -- हो – हो ।’