शीर्षकहरू

बजेट कि मौद्रिक नीतिले गर्ने आर्थिक समस्याको समाधान, बाझ्यो बैंकर्स र अर्थविद्को मत

बजेट कि मौद्रिक नीतिले गर्ने आर्थिक समस्याको समाधान, बाझ्यो बैंकर्स र अर्थविद्को मत

काठमाडौं । अर्थमन्त्रीले हालको आर्थिक समस्या हाल गर्न मौद्रिक नीतिका औजारहरू मार्फत काम गर्ने बताएपछि अर्थविद् र बैंकर्सहरुको त्यो विधिको पक्ष र विपक्षमा मतहरू सार्वजनिक हुन थालेका छन् । बैंकर्स यसको विपक्षमा छन् भने अर्थविद्हरूको मत बाझिएको छ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा बैंकिङ क्षेत्रको समस्या समाधान गर्न मौद्रिक नीतिले मात्रै नपुग्ने तर्क गर्छन् । देवकोटा भन्छन्, 'बजेट र मौद्रिक नीति दुवैमा यी चिजहरू समन्वय भएर जानुपर्छ ।'

उनी अर्थमन्त्रीले अहिले धेरै काम गर्न बाँकी नै रहेको बताउँदै अगाडी थप्छन्, 'अहिले आवश्यकता के हो भन्ने कुरालाई हेर्नुपर्छ । बजेट आउन पनि धेरै दिन बाँकी छैन । अब गर्नुपर्ने काममा राजस्व कसरी बढाउने भन्ने हो । राजस्व बढाउन आर्थिक गतिविधि बढ्नुपर्छ । आर्थिक गतिविधि बढाउनका लागि निजी क्षेत्रमा जाने कर्जा लगानी बढ्नुपर्छ । निजी क्षेत्रमा ऋण प्रवाह बढाउनका लागि उनीहरूको मनोबल र आत्मविश्वासमा वृद्धि हुनुपर्‍यो ।'

तर, अर्थमन्त्रीले बजेटमा त्यो विषयमा कुरा नगर्ने बरु मौद्रिक नीति लचिलो पार्ने बताउँदै आएका छन् । उनको त्यो अवधारणा गलत भएको अर्थविद् तथा सांसद स्वर्णिम वाग्लेले संसद्मा नै बताइसकेका छन् । उनले अर्थमन्त्रीलाई हालको आर्थिक समस्या समाधान र चुनौतीको सम्बोधनको लागि विभिन्न उपायहरू समेत सुझाएका छन् ।

अर्का युवा अर्थविद् ज्ञानेन्द्र अधिकारी भने अर्थमन्त्रीले रोजेको बाटो नै अहिलेको लागि सही र उपयुक्त हुने तर्क गर्छन् । उनी भन्छन्, 'म अर्थमन्त्रीको एप्रोचसँग सहमत छु । लचिलो मौद्रिक नीति मार्फत बैङ्कको ब्याजदर घटाउने र लगानी बढाउने नगरी हुँदैन । जे जसरी हुन्छ अब ब्याजदर घटाउने र बजारमा लगानी थप्ने ढङ्गले सोच्नुपर्ने बेला हो यो । यसकालागि मौद्रिक नीतिका औजारहरू नै सबैभन्दा उपयुक्त हुन्छन् ।'

हुन पनि अहिले सरकारले विकास खर्च गर्न सकिरहेको छैन । विकास निर्माणको काममा सरकाले खर्च गर्नुपर्छ  र खर्च गरिसकेपछि त्यसको भुक्तानी पनि समयमा दिनुपर्छ । तर, अहिले स्थिति उल्टो छ । भुक्तानी पनि दिन सकेको छैन, काम पनि भइरहेको छैन । सरकारले विकास निर्माणमा सरकारी राजस्व खर्च गर्न नसकेको अवस्था छ । यसले गर्दा निजी क्षेत्र काम गर्न सक्ने अवस्था रहेन । क्रियाकलापहरू कम हुँदै गएका छन्। सबै क्षेत्र प्रभावित भएका छन् ।

विकास निर्माणको काम नहुने बित्तिकै निर्माण क्षेत्र सुस्त भएकाे छ । निर्माण क्षेत्र सुस्त हुनु भनेको धेरै क्षेत्रमा असर गर्नु हो । यसले निर्माण सामाग्रीको व्यापार, स्टिल, सिमेन्ट, गाडी, मेसिनको व्यापार,र सरकारी राजस्व लगायतका धेरै क्षेत्रहरूमा सङ्कुचन आएको छ ।

हालको अवस्थाको चित्र प्रस्तुत गर्दै देवकोटा भन्छन्, 'पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका वस्तुहरूको महँगी र ब्याजदरका कारण समस्या भयो । व्यवसाय गरेर नाफा कमाउन सकिन्छ । नयाँ क्षेत्रमा लगानी गरौँ भन्ने वातावरण भएन  । व्यवसाय गरिरहेकाहरूले पनि व्यवसाय विस्तारलाई रोक्नुपर्ने अवस्था आयो ।'

अहिले बैङ्कहरूसँग तरलता सहज भएको बेला समेत ऋण लगानी भने हुन् नसक्नुको कारण व्याख्या गर्दै देवकोटा अगाडी भन्छन्, 'यसले गर्दा पनि ऋण माग एग्रिगेटमा एकातिर लगानीकर्ता, उद्योगी व्यापारीहरूको कन्फिडेन्स लेभल, यस्तै निजी हिसाबले घर, गाडी किन्नेहरूमा पनि महँगो ब्याज र अन्य कारणले गर्दा आम्दानीको स्रोत खुम्चिरहेको छ । यसले गर्दा ऋण तिर्ने क्षमता पनि कम भइरहेको छ भने नयाँ व्यवसायका लागि पनि मान्छेहरूले सोचिरहेको अवस्था छ ।'

उनका अनुसार यिनै कारणले गर्दा पनि तत्काल ऋणको माग नभएको हो । बैङ्कमा लगानी योग्य रकम (तरलता) बढाउनका लागि  हाल भइरहेको निश्चित अनुपातमा खुल्ला गरिदिँदा हुन सक्छ । धेरै ऋणको माग भयो भने पनि हाम्रो जस्तो देशमा इम्पोर्ट बढाएर विदेशी मुद्रा बाहिरिए बाह्य भुक्तानी सन्तुलनमा असर पर्छ । अहिले त हाम्रो राम्रो अवस्था छ । आयात घटेको छ ।

मौद्रिक नीतिले समस्या समाधानका सबै पाटा पक्षलाई समेट्न नसक्ने उनको भनाई छ । उनी थप्छन्, 'मौद्रिक नीतिले मात्र सबै कुरा समेट्न सक्दैन । टालटुले नीतिले मात्र समस्या समाधान हुँदैन । यसका लागि ठूलो इच्छा शक्ति, फोकस नीति, बजेट र मौद्रिक नीतिको बिचमा राम्रो समन्वय भएर काम भयो भने अगाडी बढ्न सकिन्छ ।'

निजी क्षेत्रले पनि बजारमा माग बढे मात्र उत्पादन बढाउने हो । बजारमा माग बढ्नलाई मान्छेहरूको आम्दानी र रोजगारीमा वृद्धि हुनुपर्छ । त्यसैले बजेटको माध्यमबाट देशमा विकास निर्माणका काम बढ्नुपर्छ । आर्थिक गतिविधि बढाउन सरकारले काम गर्नुपर्‍यो । रोजगारी बढाउनु पर्‍यो भन्ने देवकोटाको सुझाव छ ।

सहज रुपमा ऋण प्रवाह हुने वातावरणमा मात्रै जोड दिने अर्थविद् अधिकारीको भनाईलाई सीइओ देवकोटा नकार्छन् । उनको तर्क छ-  'हामीले ऋण प्रवाह गर्दा पनि किन ऋण मागिरहेका छन्, के मा लगानी गर्छन्, त्यसको सुरक्षित पक्ष के हो र तिर्ने स्रोत के हो ? त्यसमा हामीले ध्यान दिनुपर्छ । त्यसै ऋण मागे बन्दैमा अनुत्पादक क्षेत्रमा लगानी गर्दा भविष्यमा झन् ठूलो जोखिम आउँछ ।'