काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्रधिकरणबाट बैंशाख २१ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै कम्पनीले प्राइम जीवन उपहार अग्रिम सावधिक (समुन्नती) योजनामा प्रतिहजार २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
उक्त बोनसदर मृत्युदावी, पूर्ण वा आंशिक अवधि भुक्तानी दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य तथा चालु बीमामा समेत लागु हुने कम्पनीले जनाएको छ । साथै, अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।