सन्तोष कोइराला नेपालको बैंकिंग क्षेत्रमा एक चिरपरिचित नाम हो । विगत २३ वर्षदेखि विभिन्न बैङ्कमा काम गर्दै आएका कोइराला ११ वर्षदेखि माछापुच्छ्रे बैङ्कमा कार्यरत छन् । विगत दुई वर्ष (२०७७ वैशाखदेखि) यता सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका उनी नेपालको बैंकिंगबारे सूक्ष्म ज्ञान भएका सीमित व्यक्तिहरू मध्येका एक हुन् । प्रस्तुत छ उनै सिइओ कोइरालासँग आर्थिक न्युजका इन्द्र बानियाँले गरेको कुराकानीको सम्पादित अंश :
अझै पनि बैंकहरु धेरै दबाब भएजस्तो देखिन्छ । खासमा अहिले हाम्रा बैंकहरुको अवस्था कस्तो छ ?
आजको मितिमा हेर्ने हो भने नेपालका बैंकहरुको स्थिति एकदमै सबल रहेको छ । यहाँका बैंकहरु बलिया छन् । दोस्रो त्रैमाससम्मको रिपोर्टमा केही प्रोभिजन थपिएको भए पनि बैंकहरुको अवस्था अहिले राम्रो छ । हाम्रा बैंकहरु सबल र सक्षम नै छन् ।
के फरक देखियो पछिल्लो बैंकहरुको त्रैमासको वित्तीय विवरणमा ?
पछिल्लो त्रैमाससम्म आइपुग्दा लिक्युडिटी अलिकति बढेको देखियो । सबै बैंकहरुको सिडी रेसियो म्यानेज भयो। यो हिसाबले अलिकति सबल भन्नु पर्यो । कमजोरीको कुरा गर्ने हो भने हाम्रो लगानीको उठ्नुपर्ने जति ब्याज उठ्न सकिरहेको छैन । यो झन्डै २० अर्बले बढेको छ। यसले गर्दा प्रोभिजन पनि बढ्न गएको छ ।
प्रोभिजन बढ्नुका कारणहरू के के हुन् त ?
यसमा एक दुई वटा कुराहरू रहेका छन् । पहिलो कुरा सरकारका कारण आपूर्ति श्रंखलामा असर परेको छ । सरकारले भुक्तानी दिन सकिरहेको छैन । यसले सिमेन्ट, स्टिल उद्योगहरूलाई असर परेको छ । यसले श्रमिकलाई पनि असर गरेको छ । तर, आपूर्ति श्रंखलामा असर पर्दा नगद प्रवाहमा मै असर गरेको छ । खरिद गर्ने क्षमता नै सबैको कम भएको छ।
त्यस्तै, विभिन्न खालका आन्दोलनहरू भए । ब्याज नतिर्नका लागि विभिन्न खालका नारा जुलुस पनि भए । यो बिचमा बैंकर्सहरुलाई तर्साउने खालका क्रियाकलापहरू समेत भए । कहीँ कहीँ हाम्रा बैंकका कर्मचारीहरू माथि भौतिक आक्रमण समेत भयो । त्यसबाहेक ‘चैत्रमा किन ऋण तिर्ने, असारमा तिरे पनि भइहाल्छ नि, सरकारले केही गरिदिईहाल्छ की’ भन्दै तिर्न सक्नेहरूले समेत कम तिरिरहेको अवस्था छ ।
तेस्रो त्रैमास आसपासमा नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव समेत भयो । उनीहरू चुनावमा लागेकाले समयमा ब्याज तिरेनन् । यसले गर्दा प्रोभिजन बढेको हो । तर, यी सबै कुराहरू सकिएकाले अब आउने रिपोर्टमा बैंकहरुको राम्रो रिपोर्ट आउँछ ।
खराब कर्जाको अवस्था कस्तो छ र यसले बैंकको कुन तहसम्म असर पारिरहेको छ ?
यसले सबैभन्दा बढी नाफामा असर गर्ने हो । किनभने खराब कर्जा (एनपीए) बढ्ने बित्तिकै नाफा घट्छ । नाफा घट्ने बित्तिकै यसको असर लाभांशमा पर्ने भइहाल्यो । कर्मचारीको बोनस, प्रोमोटरहरुले पाउने लाभांश, बढ्नु पर्ने क्यापिटलमा हिट गर्छ ।
व्यापारीहरूलाई ऋण प्रवाह गर्दा कसरी ऋणको आकार मापन (गणना) गरिन्छ ?
हामीकहाँ कुनै पनि प्रस्ताव आइसकेपछि त्यसलाई अध्ययन गरेर नै लगानी गरिरहेका हुन्छौँ । नेपालको लगानी भनेको अधिकांश धितोमा आधारित लगानी नै हो । यहाँ विदेशको जस्तो हुँदैन । यसले गर्दा नेपालको लगानी सुरक्षित नै रहेको छ ।
यसमा पनि ठूला आयोजनाहरूमा यसले फिर्ता दिन सक्ने क्षमता हेरेर लगानी गरिन्छ भने साना खालका घरजग्गा, गाडीहरूको भनेको धितोमा आधारित नै हुन्छ । यसमा ऋणीको आम्दानीलाई पनि आधार मानिन्छ । कोरोना महामारीपछि भने हामीले गरेको लगानीहरू घर जग्गा, शेयर, अनुत्पादक क्षेत्रतिर डाइभर्ट भएजस्तो देखिएको छ । हामीले उत्पादन क्षेत्रका लागि ऋण दिँदा दिँदै पनि अनुत्पादक क्षेत्रमा गएको छ ।
एउटा शीर्षकमा पैसा लगेर अर्को शीर्षकमा खर्च गरेको पनि पाइएको छ । सबैले यसो गरेका छैनन् । केहीले भने यसो गरेको पाइएको छ । यसले गर्दा बैंकहरुलाई केही समस्या भएको छ ।
धितोमा आधारित भन्नु भनेको हाम्रोमा घर जग्गा धितो राखेर नै हो । यसले गर्दा बैंकहरुले घरजग्गाको मूल्य धेरै बढाएको भन्ने आरोप पनि छ नि ?
यो केही हदसम्म हुन पनि सक्ला । किनभने हामीले पनि त्यही अनुसार लगानी गर्यौँ । ऋण दिने बेलामा बैंकहरुले फिल्डमा गएर हेर्ने अनि त्यसलाई मूल्याङ्कन गराउने र त्यसको ४०/५० प्रतिशत ऋण दिने गरिएको छ ।
अब भने यो खालको काम नहुन पनि सक्छ । हिजोका दिनमा जता गए पनि ऋण पाइने अवस्था थियो । अब त्यस्तो हुन छोडेको छ । लगानी गर्ने कुरामा बैंकहरु पनि पछिल्लो समय सजक भएका छन् । यसले गर्दा अहिले त्यति कर्जा प्रवाह हुन सकेको छैन । अर्को भनेको लिनेहरूले पनि अहिले जथाभाबी लगानी गर्दा समस्या परिने रहेछ भन्ने बुझेर पहिला जसरी जोखिम मोल्न खोजेका छैनन्।
ऋण लगानी गर्दा सिईओहरुलाई बैंक सञ्चालक (बोर्ड) बाट कस्तो दबाब आउँछ ?
त्यस्तो प्रेसर भन्ने हुँदैन । तर, हामीले यो क्षेत्रमा यतिसम्म लगानी गर्ने भनेर बनाएका हुन्छौँ । त्यही अनुसार लगानी गर्छौ । नीतिगत निर्णयहरू बोर्डले गर्ने गर्छ त्यस्तो हस्तक्षेपहरू भन्ने चाहिँ हुँदैन । हामीले वार्षिक योजना बनाएका हुन्छौँ त्यही अनुसार हरेक महिना पुनरावलोकन हुन्छ । हस्तक्षेप गर्ने भन्ने कुरा मैले यहाँ आएको ११ वर्षको अवधिमा अहिलेसम्म महसुस गरेको छैन ।
यहाँ लामो समयदेखि बैङ्किङ क्षेत्रमा नै हुनुहुन्छ । हामी परम्परागत बैंकिङबाट आधुनिक र व्यावसायिक बैङ्किङमा पुग्न नसकिरहेको अवस्था किन भएको हो ?
अब सुरुवात भएको छ । हामीले डिजिटल माध्यममा निकै फड्को मारेका छौँ । नयाँ नयाँ प्रोडक्टहरु पनि आइरहेका छन् । बिस्तारै नेपालका बैंकहरुले फड्को मारिरहेका छन् । आजको भोलि नै सबै कुरा हुन्छ भन्ने छैन । बाहिरतिर हेर्दा उनीहरू हामीभन्दा धेरै माथि रहेका छन् । प्रविधिमा उनीहरू धेरै माथि छन् । हामी त यसमा भर्खर लगानी गर्न सुरु गरेका छौँ । ३/४ वर्षको अवधिमा अझै अगाडी पुग्नेछौँ ।
डिजिटलाइजेसन भइरहँदा जोखिमको पाटो पनि त उतिकै छ नि होइन ?
डिजिटल प्रोडक्टहरु हामीले ल्याउँदा यसमा लगानी एकदमै राम्रो गर्नु पर्ने हुन्छ । पहिले जसरी चेक नै ल्याएर भेरिफाइ गर्दा भन्दा हातमा मोबाइल लिएर गर्ने कारोबारका लागि बढी सुरक्षा आवश्यक पनि छ । जोखिम के के छन् यसका लागि के के गर्नु पर्छ भनेर बैंकहरुले अध्ययन गरिरहेका पनि छन् । पछिल्ला समय घटेका घटनाहरूलाई हेरेर यसलाई न्यूनीकरण गर्न हामीले के के गर्नु पर्ने रहेछ भन्ने कुरा सिक्दै अगाडी बढिरहेका छौँ ।
टेक्नोलोजी भनेको जहिले पनि नयाँ नयाँ कुराहरू आइरहेका हुन्छन् । नयाँ टेक्नोलोजीहरुसंगै नयाँ जोखिम पनि जन्मिरहेको हुन्छ । यसलाई रोक्न हामी पनि त्यति नै स्मार्ट भएर अगाडी बढ्नु पर्ने हुन्छ । अहिलेसम्म नेपालका बैङ्कहरूमा त्यस्ता ठुलो खालका कुनै पनि घटना भएका छैनन् । यो भनेको जोखिम न्यूनीकरण गर्न नेपालका बैंकहरुले राम्रै लगानी गरेका छन् भन्ने प्रमाण हो ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटिरहेका छन् । यसले हिजोका दिनमा भएको अस्वस्थ प्रतिस्पर्धा कम गर्ला त ?
अस्वस्थ प्रतिस्पर्धा भनेको तरलता अभाव भएको बेला हुने रहेछ । जब लिक्युटिडी पर्याप्त हुँदै जान्छ यो सबै अस्वस्थ प्रतिस्पर्धा स्वस्थ हुँदै जान्छ । अहिले बैङ्कहरूबिच एकदमै स्वस्थ प्रतिस्पर्धा छ । यो हुनुमा बैंकर्स एसोसिएसनको पनि देन हो । यसले सबै बैंकहरुलाई ‘लुप होल’ खोल्न दिएका छैन । अनुशासन समिति रहेको छ, भोलि बैङ्कहरूमा केही भइहाल्यो भने बोलाएर बयान लिइहाल्छौँ । वाणिज्य बैङ्कहरूमा प्रमुख कार्यकारी अधिकृतहरू पनि यस्ता कार्य नगर्नमा एक मत भएका छन् ।
धेरै बैंकहरु भर्खर भर्खर मर्जरमा गएका हुनाले भोलिको दिनमा यसमा के हुन्छ भन्ने कुरा हेर्न नै बाँकी रहेको छ । यो आर्थिक वर्ष सकिएपछि बल्ल बैंकहरुको रियल चित्र आउँछ । र, मर्जरले कस्तो इफेक्ट दिन्छ, मर्जरले कति राम्रो भयो, कति भएन, बैंकको क्षमता बढाउँदा ठूला ठुलो प्रोजेक्टहरु नेपालमा आउन सक्छन् की सक्दैनन भन्ने कुरा हेर्न बाँकी नै छ । अहिले नै यो भन्न सकिँदैन ।
थोरै सङ्ख्या हुँदा मिलेर एकाधिकार जमाउने र प्रतिस्पर्धात्मक वातावरण नबन्ने सम्भावना पनि त होला नि ?
सही प्रश्न गर्नु भयो । अहिले वाणिज्य बैंकको सङ्ख्या २१ वटा रहेको छ । सनराइज र लक्ष्मी बैंक मर्ज हुँदा २० वटामा यो सङ्ख्या झर्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक पनि मर्जरमा लैजान सरकारले कमिटी गठन गरेको छ भनेर भर्खरै सुन्नमा आएको छ । यी दुई पनि मर्जरमा गए भने वाणिज्य बैंकको सङ्ख्या १९ वटामा झर्छ । यतिको संख्यामा नेपाललाई बैंक चाहिन्छ भन्ने मेरो बुझाइ हो । पछिल्लो समय मर्जरमा जानै पर्छ भनेर त्यस्तो खासै प्रेसर पनि आइरहेको छैन ।
१९ वटा वाणिज्य बैंक भए भने ठूलाहरुले ठूलै खालको काम गर्छन् । सानाले सानै काम गर्छन् । उनीहरूको आफ्नो आफ्नो मार्केट हुन्छ । सबै खालका ग्राहकहरूलाई बैङ्किङ पहुँच पुर्याउनु पर्ने भएकोले यतिको संख्यामा बैंकहरुको सङ्ख्या आवश्यक छ । अब यसको सङ्ख्या घटाउनु हुँदैन ।
धेरै बैंकहरु कोहीसँग गएर मर्ज भए, कोहीले अर्को ल्याएर मिसाए । तर, माछापुच्छ्रे बैंक कोहीसँग गएन पनि, ल्याएन पनि किन ?
मर्जरको विषय सिईओको भन्दा पनि प्रमोटर र बोर्डको हो । मर्जको लागि माछापुच्छ्रे बैंकले कोशिस चाहिँ गरेको हो । अन्तिम कसरतसम्म पुग्दा समेत त्यो डिललाई फाइनल गर्न सकेनौँ । अहिले तत्कालको अवस्थामा योसँग मर्जरमा जाने भन्ने कुनै कुरा भएको छैन । हामीले अहिले मर्जरमा गएका बैंकहरुको नतिजा कस्तो आउँछ भनेर हेरौँ न त भनेर पर्खेका छौँ ।
माछापुच्छ्रे बैंकलाई अन्य वाणिज्य बैंकहरुसंग दाँजेर हेर्दा के के राम्रो छ ?
माछापुच्छ्रे बैंकको सबै भन्दा राम्रो भनेको असल व्यवस्थापनमा सम्झौता (गुड गभरमेन्समा कम्परमाइज) गर्दैनौँ । नेपाल राष्ट्र बैंकले गरेका निर्देशनहरूमा कहिले पनि कतै दुलो छ की भनेर लुप होल खोज्दैनौँ । उसले जारी गरेका कुनै पनि मापदण्डलाई हामी तोड्दैनौँ । बचतको आधार (डिपोजिटवेस) अत्यन्तै बलियो छ । हाम्रोमा ७५ प्रतिशत इन्डिभिजुअल डिपोजिट छ । हाम्रो एनपीए टप सेभेन भित्र छ । वितरणयोग्य नाफामा पनि टप सेभेन भित्र नै हामी पर्छौँ । कुनै आक्रामक योजना बिलकुल पटक्कै छैन । धेरै लप्पन छप्पन नगरी एकदमै शान्त भएर अगाडी बढेको छ, हाम्रो माछापुच्छ्रे बैंक।