शीर्षकहरू

'जिम्मेवार बैंक बनाउन सबै सीइओहरु सहमत छौँ, नेपालका बैंकमा कुनै समस्या छैन'

'जिम्मेवार बैंक बनाउन सबै सीइओहरु सहमत छौँ, नेपालका बैंकमा कुनै समस्या छैन'

सन्तोष कोइराला नेपालको बैंकिंग क्षेत्रमा एक चिरपरिचित नाम हो । विगत २३ वर्षदेखि विभिन्न बैङ्कमा काम गर्दै आएका कोइराला ११ वर्षदेखि माछापुच्छ्रे बैङ्कमा कार्यरत छन् । विगत दुई वर्ष (२०७७ वैशाखदेखि) यता सो बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका उनी नेपालको बैंकिंगबारे सूक्ष्म ज्ञान भएका सीमित व्यक्तिहरू मध्येका एक हुन् । प्रस्तुत छ उनै सिइओ कोइरालासँग आर्थिक न्युजका इन्द्र बानियाँले गरेको कुराकानीको सम्पादित अंश :

अझै पनि बैंकहरु धेरै दबाब भएजस्तो देखिन्छ । खासमा अहिले  हाम्रा बैंकहरुको अवस्था कस्तो छ ?

आजको मितिमा हेर्ने हो भने नेपालका बैंकहरुको स्थिति एकदमै सबल रहेको छ । यहाँका बैंकहरु बलिया छन् । दोस्रो त्रैमाससम्मको रिपोर्टमा केही प्रोभिजन थपिएको भए पनि बैंकहरुको अवस्था अहिले राम्रो छ । हाम्रा बैंकहरु सबल र  सक्षम नै छन्  ।

के फरक देखियो पछिल्लो बैंकहरुको त्रैमासको वित्तीय विवरणमा ?

पछिल्लो त्रैमाससम्म आइपुग्दा लिक्युडिटी अलिकति बढेको देखियो । सबै बैंकहरुको सिडी रेसियो म्यानेज भयो। यो हिसाबले अलिकति सबल भन्नु पर्‍यो । कमजोरीको कुरा गर्ने हो भने हाम्रो लगानीको उठ्नुपर्ने जति ब्याज उठ्न सकिरहेको छैन । यो झन्डै २० अर्बले बढेको छ। यसले गर्दा प्रोभिजन पनि बढ्न गएको छ ।

प्रोभिजन बढ्नुका कारणहरू के के हुन् त ?

यसमा एक दुई वटा कुराहरू रहेका छन् । पहिलो कुरा सरकारका कारण आपूर्ति श्रंखलामा असर परेको छ । सरकारले भुक्तानी दिन सकिरहेको छैन । यसले सिमेन्ट, स्टिल उद्योगहरूलाई असर परेको छ । यसले श्रमिकलाई पनि असर गरेको छ । तर, आपूर्ति श्रंखलामा असर पर्दा नगद प्रवाहमा मै असर गरेको छ । खरिद गर्ने क्षमता नै सबैको कम भएको छ।

त्यस्तै, विभिन्न खालका आन्दोलनहरू भए । ब्याज नतिर्नका लागि विभिन्न खालका नारा जुलुस पनि भए । यो बिचमा बैंकर्सहरुलाई तर्साउने खालका क्रियाकलापहरू समेत भए । कहीँ कहीँ हाम्रा बैंकका कर्मचारीहरू माथि भौतिक आक्रमण समेत भयो । त्यसबाहेक ‘चैत्रमा किन ऋण तिर्ने, असारमा तिरे पनि भइहाल्छ नि, सरकारले केही गरिदिईहाल्छ की’ भन्दै तिर्न सक्नेहरूले समेत कम तिरिरहेको अवस्था छ ।

तेस्रो त्रैमास आसपासमा नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव समेत भयो । उनीहरू चुनावमा लागेकाले समयमा ब्याज तिरेनन् । यसले गर्दा प्रोभिजन बढेको हो । तर, यी सबै कुराहरू सकिएकाले अब आउने रिपोर्टमा बैंकहरुको राम्रो रिपोर्ट आउँछ । 

खराब कर्जाको अवस्था कस्तो छ र यसले बैंकको कुन तहसम्म असर पारिरहेको छ ?

यसले सबैभन्दा बढी नाफामा असर गर्ने हो । किनभने खराब कर्जा (एनपीए) बढ्ने बित्तिकै नाफा घट्छ । नाफा घट्ने बित्तिकै यसको असर लाभांशमा पर्ने भइहाल्यो । कर्मचारीको बोनस, प्रोमोटरहरुले पाउने लाभांश, बढ्नु पर्ने क्यापिटलमा हिट गर्छ ।

व्यापारीहरूलाई ऋण प्रवाह गर्दा कसरी ऋणको आकार मापन (गणना) गरिन्छ ?

हामीकहाँ कुनै पनि प्रस्ताव आइसकेपछि त्यसलाई अध्ययन गरेर नै लगानी गरिरहेका हुन्छौँ । नेपालको लगानी भनेको अधिकांश  धितोमा आधारित लगानी नै हो । यहाँ विदेशको जस्तो हुँदैन । यसले गर्दा नेपालको लगानी सुरक्षित नै रहेको छ ।

यसमा पनि ठूला आयोजनाहरूमा यसले फिर्ता दिन सक्ने क्षमता हेरेर लगानी गरिन्छ भने साना खालका घरजग्गा, गाडीहरूको भनेको धितोमा आधारित नै हुन्छ । यसमा ऋणीको आम्दानीलाई पनि आधार मानिन्छ । कोरोना महामारीपछि भने हामीले गरेको लगानीहरू घर जग्गा, शेयर, अनुत्पादक क्षेत्रतिर डाइभर्ट भएजस्तो देखिएको छ । हामीले उत्पादन क्षेत्रका लागि ऋण दिँदा दिँदै पनि अनुत्पादक क्षेत्रमा गएको छ ।

एउटा शीर्षकमा पैसा लगेर अर्को शीर्षकमा खर्च गरेको पनि पाइएको छ । सबैले यसो गरेका छैनन् । केहीले भने यसो गरेको पाइएको छ । यसले गर्दा बैंकहरुलाई केही समस्या भएको छ ।

धितोमा आधारित भन्नु भनेको हाम्रोमा घर जग्गा धितो राखेर नै हो । यसले गर्दा बैंकहरुले घरजग्गाको मूल्य धेरै बढाएको भन्ने आरोप पनि छ नि ?

यो केही हदसम्म हुन पनि सक्ला । किनभने हामीले पनि त्यही अनुसार लगानी गर्‍यौँ । ऋण दिने बेलामा बैंकहरुले फिल्डमा गएर हेर्ने अनि त्यसलाई मूल्याङ्कन गराउने र त्यसको ४०/५०  प्रतिशत ऋण दिने गरिएको छ ।

अब भने यो खालको काम नहुन पनि सक्छ । हिजोका दिनमा जता गए पनि ऋण पाइने अवस्था थियो । अब त्यस्तो हुन छोडेको छ । लगानी गर्ने कुरामा बैंकहरु पनि पछिल्लो समय सजक भएका छन् । यसले गर्दा अहिले त्यति कर्जा प्रवाह हुन सकेको छैन । अर्को भनेको लिनेहरूले पनि अहिले जथाभाबी लगानी गर्दा समस्या परिने रहेछ भन्ने बुझेर पहिला जसरी जोखिम मोल्न खोजेका छैनन्।

ऋण लगानी गर्दा सिईओहरुलाई बैंक सञ्चालक (बोर्ड) बाट  कस्तो दबाब आउँछ ?

त्यस्तो प्रेसर भन्ने हुँदैन । तर, हामीले यो क्षेत्रमा यतिसम्म लगानी गर्ने भनेर बनाएका हुन्छौँ । त्यही अनुसार लगानी गर्छौ । नीतिगत निर्णयहरू बोर्डले गर्ने गर्छ त्यस्तो हस्तक्षेपहरू भन्ने चाहिँ हुँदैन । हामीले वार्षिक योजना बनाएका हुन्छौँ त्यही अनुसार हरेक महिना पुनरावलोकन हुन्छ । हस्तक्षेप गर्ने भन्ने कुरा मैले यहाँ आएको ११ वर्षको अवधिमा अहिलेसम्म महसुस  गरेको छैन ।

यहाँ लामो समयदेखि बैङ्किङ क्षेत्रमा नै हुनुहुन्छ । हामी परम्परागत बैंकिङबाट आधुनिक र व्यावसायिक बैङ्किङमा पुग्न नसकिरहेको अवस्था किन भएको हो ?

अब सुरुवात भएको छ । हामीले डिजिटल माध्यममा निकै फड्को मारेका छौँ । नयाँ नयाँ प्रोडक्टहरु पनि आइरहेका छन् । बिस्तारै नेपालका बैंकहरुले फड्को मारिरहेका छन् । आजको भोलि नै सबै कुरा हुन्छ भन्ने छैन । बाहिरतिर हेर्दा उनीहरू हामीभन्दा धेरै माथि रहेका छन् । प्रविधिमा उनीहरू धेरै माथि छन् । हामी त यसमा भर्खर लगानी गर्न सुरु गरेका छौँ । ३/४ वर्षको अवधिमा अझै अगाडी पुग्नेछौँ ।

डिजिटलाइजेसन भइरहँदा जोखिमको पाटो पनि त उतिकै छ नि होइन ?

डिजिटल प्रोडक्टहरु हामीले ल्याउँदा यसमा लगानी एकदमै राम्रो गर्नु पर्ने हुन्छ । पहिले जसरी चेक नै ल्याएर भेरिफाइ गर्दा भन्दा हातमा मोबाइल लिएर गर्ने कारोबारका लागि बढी सुरक्षा आवश्यक पनि छ । जोखिम के के छन् यसका लागि के के गर्नु पर्छ भनेर बैंकहरुले अध्ययन गरिरहेका पनि छन् । पछिल्ला समय घटेका घटनाहरूलाई हेरेर यसलाई न्यूनीकरण गर्न हामीले के के गर्नु पर्ने रहेछ भन्ने कुरा सिक्दै अगाडी बढिरहेका छौँ ।

टेक्नोलोजी भनेको जहिले पनि नयाँ नयाँ कुराहरू आइरहेका हुन्छन् । नयाँ टेक्नोलोजीहरुसंगै नयाँ जोखिम पनि जन्मिरहेको हुन्छ । यसलाई रोक्न हामी पनि त्यति नै स्मार्ट भएर अगाडी बढ्नु पर्ने हुन्छ । अहिलेसम्म नेपालका बैङ्कहरूमा त्यस्ता ठुलो खालका कुनै पनि घटना भएका छैनन् । यो भनेको जोखिम न्यूनीकरण गर्न नेपालका बैंकहरुले राम्रै लगानी गरेका छन् भन्ने प्रमाण हो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटिरहेका छन् । यसले हिजोका दिनमा भएको अस्वस्थ प्रतिस्पर्धा कम गर्ला त ?

अस्वस्थ प्रतिस्पर्धा भनेको तरलता अभाव भएको बेला हुने रहेछ । जब लिक्युटिडी पर्याप्त हुँदै जान्छ यो सबै अस्वस्थ प्रतिस्पर्धा स्वस्थ हुँदै जान्छ । अहिले बैङ्कहरूबिच एकदमै स्वस्थ प्रतिस्पर्धा छ । यो हुनुमा बैंकर्स एसोसिएसनको पनि देन हो । यसले सबै बैंकहरुलाई ‘लुप होल’ खोल्न दिएका छैन । अनुशासन समिति रहेको छ, भोलि बैङ्कहरूमा केही भइहाल्यो भने बोलाएर बयान लिइहाल्छौँ । वाणिज्य बैङ्कहरूमा प्रमुख कार्यकारी अधिकृतहरू पनि यस्ता कार्य नगर्नमा एक मत भएका छन् ।

धेरै बैंकहरु भर्खर भर्खर मर्जरमा गएका हुनाले भोलिको दिनमा यसमा के हुन्छ भन्ने कुरा हेर्न नै बाँकी रहेको छ । यो आर्थिक वर्ष सकिएपछि बल्ल बैंकहरुको रियल चित्र आउँछ । र, मर्जरले कस्तो इफेक्ट दिन्छ, मर्जरले कति राम्रो भयो, कति भएन, बैंकको क्षमता बढाउँदा ठूला ठुलो प्रोजेक्टहरु नेपालमा आउन सक्छन् की सक्दैनन भन्ने कुरा हेर्न बाँकी नै छ । अहिले नै यो भन्न सकिँदैन ।

थोरै सङ्ख्या हुँदा मिलेर एकाधिकार जमाउने र प्रतिस्पर्धात्मक वातावरण नबन्ने सम्भावना पनि त होला नि ?

सही प्रश्न गर्नु भयो । अहिले वाणिज्य बैंकको सङ्ख्या २१ वटा रहेको छ । सनराइज र लक्ष्मी बैंक मर्ज हुँदा २० वटामा यो सङ्ख्या झर्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक पनि मर्जरमा लैजान सरकारले कमिटी गठन गरेको छ भनेर भर्खरै सुन्नमा आएको छ । यी दुई पनि मर्जरमा गए भने वाणिज्य बैंकको सङ्ख्या १९ वटामा झर्छ । यतिको संख्यामा नेपाललाई बैंक चाहिन्छ भन्ने मेरो बुझाइ हो । पछिल्लो समय मर्जरमा जानै पर्छ भनेर त्यस्तो खासै प्रेसर पनि आइरहेको छैन ।

१९ वटा वाणिज्य बैंक भए भने ठूलाहरुले ठूलै खालको काम गर्छन् । सानाले सानै काम गर्छन् । उनीहरूको आफ्नो आफ्नो मार्केट हुन्छ । सबै खालका ग्राहकहरूलाई बैङ्किङ पहुँच पुर्‍याउनु पर्ने भएकोले यतिको संख्यामा बैंकहरुको सङ्ख्या आवश्यक छ । अब यसको सङ्ख्या घटाउनु हुँदैन ।

धेरै बैंकहरु कोहीसँग गएर मर्ज भए, कोहीले अर्को ल्याएर मिसाए । तर, माछापुच्छ्रे बैंक कोहीसँग गएन पनि, ल्याएन पनि किन ?

मर्जरको विषय सिईओको भन्दा पनि प्रमोटर र बोर्डको हो । मर्जको लागि माछापुच्छ्रे बैंकले कोशिस चाहिँ गरेको हो । अन्तिम कसरतसम्म पुग्दा समेत त्यो डिललाई फाइनल गर्न सकेनौँ । अहिले तत्कालको अवस्थामा योसँग मर्जरमा जाने भन्ने कुनै कुरा भएको छैन । हामीले अहिले मर्जरमा गएका बैंकहरुको नतिजा कस्तो आउँछ भनेर हेरौँ न त भनेर पर्खेका छौँ ।

माछापुच्छ्रे बैंकलाई अन्य वाणिज्य बैंकहरुसंग दाँजेर हेर्दा के के राम्रो छ ?

माछापुच्छ्रे बैंकको सबै भन्दा राम्रो भनेको असल व्यवस्थापनमा सम्झौता (गुड गभरमेन्समा कम्परमाइज) गर्दैनौँ । नेपाल राष्ट्र बैंकले गरेका निर्देशनहरूमा कहिले पनि कतै दुलो छ की भनेर लुप होल खोज्दैनौँ । उसले जारी गरेका कुनै पनि मापदण्डलाई हामी तोड्दैनौँ । बचतको आधार (डिपोजिटवेस) अत्यन्तै बलियो छ । हाम्रोमा ७५ प्रतिशत इन्डिभिजुअल डिपोजिट छ । हाम्रो एनपीए टप सेभेन भित्र छ । वितरणयोग्य नाफामा पनि टप सेभेन भित्र नै हामी पर्छौँ । कुनै आक्रामक योजना बिलकुल पटक्कै छैन । धेरै लप्पन छप्पन नगरी एकदमै शान्त भएर अगाडी बढेको छ, हाम्रो माछापुच्छ्रे बैंक।