शीर्षकहरू

अजोड इन्स्योरेन्सद्वारा १ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

अजोड इन्स्योरेन्सद्वारा १ अर्ब ४४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रेमाससम्म रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कुल बीमाशुल्क आर्जन करिब १८ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब २२ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीको खुद नाफा भने ११ प्रतिशतभन्दा बढी भएको छ । गत वषृ रू. ९ करोड ४१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४७ लाख यो नाफा गरेको हो ।

कम्पनीको आम्दानी गत वर्षभन्दा यस वर्ष करिब १२ प्रतिशत बढी भएकाले नाफा बढ्न सहयोग मिलेको हो । यो कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रक्रियामा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ ।

कम्पनीको जगेडा कोष रकम भने रू. २० करोडभन्दा बढी छ । बीमा कोष रकम भने गत वर्षभन्दा करिब ४१ प्रतिशत बढी रू. २२ करोड ३९ लाख कायम भएको छ । 

गत वर्षभन्दा यस वर्ष करिब ३५ प्रतिशत कम दाबी भुक्तानी कम्पनीले गरेको छ ,। गत वर्ष रू. १ अर्ब ५ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ६८ करोड ७५ लाखमात्र कुल दाबी भुक्तानी गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १३ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ८१ छ ।