शीर्षकहरू

'आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने'

'आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने'

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही  कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन ।

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री एवं्  पार्टी अध्यक्ष दाहालले सरकार आर्थिक अनियमितता र भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत भएको बताएका थिए ।

बैठकमा पार्टी पदाधिकारीले राजनीतिक रङ्ग नदिइकन शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानुनी दायरामा ल्याउन सरकारले कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले पदाधिकारीमा रहेका नेतालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समावेश  गर्ने विषयलाई लिखित रुपमा नै पेश गर्न निर्देशन दिएका थिए । 

सरकार विस्तार, गठबन्धनमा आबद्ध दलहरुबीचमा भइरहेको छलफल तथा समाजवादी मोर्चालगायतका विषयमा बैठकमा छलफल भएको थियो । पार्टीका अर्का सचिव गणेश साहका अनुसार बैठकमा सरकारको काम कारबाहीलगायतका विषयमा छलफल भएको थियो ।