शीर्षकहरू

थप एक सत्याग्रहीको ‘निर्मम हत्या’

थप एक सत्याग्रहीको ‘निर्मम हत्या’

इजरायलमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादका नेता खादिर अदनानको भोक हडतालको क्रममा मृत्यु भएको छ। इजरायली जेलबाट रिहाइको माग राख्दै ४५ वर्षीय खादिर अदनान ८६ दिन देखि निरन्तर भोक हडताल गरिरहेका थिए।

इजरायलको सैन्य अदालतले उनको बिग्रँदो स्वास्थ्य अवस्थाका बाबजुद पनि उनलाई रिहाइ गर्न अस्वीकार गरेको थियो। खादिर अदनानलाई विगत दुई दशकयता १२ पटक गिरफ्तार गरिएको थियो। त्यसको विरोधमा उनले ४ पटकसम्म भोक हडताल गरेका थिए।

खादिर अदनान सन् २०१२ मा ६६ दिनको भोक हडताल पछि रिहा भएका थिए। त्यस्तै, सन् २०१५ मा ५९ दिनको भोक हडताल पछि जेल मुक्त भएका थिए। यो उनको ५ औ भोक हडताल थियो। इजरायलले स्वतन्त्रताको माग गर्ने प्यालेस्टाइनीहरुलाई प्रशासनिक हिरासतको नाममा अनिश्चितकाल सम्म थुन्ने गर्दछ। यहि अमानवीय कानुनको विरोधमा खादिर अदनानले पटक पटक भोक हडताल गर्नु परेको थियो।

खादिर अदनानको मृत्युलाई प्यालेस्टाइनी प्रधानमन्त्रीले नियोजित हत्याको संज्ञा दिएका छन्। उनको मृत्युको विरोधमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादले इजरायल माथि ३ वटा रकेट प्रहार गरेको छ।

कारावासमा रहेका राजनीतिक बन्दीहरूले आफ्नो माग राख्न र त्यसलाई मान्न सरकारलाई बाध्य पार्ने हतियारको रुपमा आमरण अनसन वा भोक हडताललाई प्रयोग गर्छन्। यसै क्रममा उत्तरी आयरल्यान्डका बबी स्यान्ड्सको नाम सबैभन्दा माथि आउँछ। उत्तरी आयरल्यान्डको पृथकतावादी समूह प्रोविजनल आइआरए( Provisional IRA ) सदस्य बबी स्यान्ड्स सन् १९७६ मा झडपको क्रममा पक्राउ परेका थिए।

उनलाई १४ वर्ष कारावासको सजाय अदालतले दियो। यसै क्रम सन् १९८१ मा कैदीको अधिकारको लागि उनले आफ्ना साथीहरूका साथ आमरण अनसन सुरु गरे। भोक हडतालकै दौरान भएको बेलायती संसद्को उपनिर्वाचनमा बबी स्यान्ड्स निर्वाचित भए। चुनाव जिते पनि उनलाई शपथ ग्रहण गर्न दिइएन। बेलायत सरकारले आइरिश कैदीहरूको माग मान्न अस्वीकार गर्‍यो। र, भोक हडतालको ६६ औ दिनमा बबी स्यान्ड्सको निधन भयो। उनको मृत्यु पछि तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले प्रतिक्रिया दिइन- मिस्टर स्यान्ड्स दोषी प्रमाणित अपराधी थियो। उसले आफ्नो ज्यान आफै लिने बाटो रोज्यो।

दुई बर्सअघि एक जना ४२ वर्षीय टर्किस वकिल इब्रु टिम्टिकले भोक हडतालको क्रममा मृत्युवरण गरेकी थिइन। इब्रु टिम्टिक आफू र आफ्ना १७ जना साथीहरूको मुद्दाको निष्पक्ष न्यायिक निरूपणको माग गर्दै २३८ दिन देखी भोक हडतालमा बसेकी थिइन् ।

टर्कीको यो घटनाको जरो निक्कै पुरानो छ। सन् १९७० र ८० को दशकमा टर्कीमा कम्युनिस्ट र कुर्दिश समूहहरूले विद्रोह सुरु गरे। जसलाई टर्की सरकारले निर्ममतापूर्वक दमन गर्‍यो। बिद्रोहीहरुले पनि कडा प्रतिरोध जारी राखे। यसै क्रममा बिद्रोहीहरुले आत्मघाती हमला पनि गरे। यहि वामपन्थी विद्रोही गुट मध्येको एउटा समुह क्रान्तिकारी जनमुक्ति पार्टी फ्रन्ट( DHKP/C ) सँग आबद्ध भएको आरोपमा टिमटिक र अन्य १७ जना वकिललाई मुद्दा चलाएको र सजाय दिएको थियो।

टर्कीमा जेल परेका वामपन्थी कैदीहरूको कारावास भित्र सङ्घर्ष गरेको लामो इतिहास छ। करिब १९ वर्ष अगाडी टर्कीको राजधानी इन्स्तान्बुलमा रहेको जेलमा वामपन्थी कैदीहरूले भोक हडताल गर्दा ४२ जनाको मृत्यु भएको थियो। यसै वर्ष पनि एउटा वामपन्थी सङ्गीत टोलीका दुई जना सदस्यको भोक हडतालको क्रममा मृत्यु भएको थियो। ती मध्ये एक जना कलाकारले २८८ दिन र अर्काले ३२३ दिन सम्म भोक हडताल गरेका थिए।

त्यस्तै भारतको एउटा राज्य मणिपुरकी इरोम शर्मिला सशस्त्र बल (विशेष अधिकार) ऐन (Armed Forces (Special Powers) Act (AFSPA) लाई खारेज गर्ने माग गर्दै १६ वर्षसम्म आमरण अनसन बसिन्। उनलाई भारत सरकारले नाकमा पाइप राखेर जबरर्जस्ति खाना खुवाउंथियो। उनको मागको कुनै सुनवाइ भएन। आजित भएर १६ वर्ष पछि २०१६ मा आफ्नो अनसन तोडिन र राजनीतिमा लाग्ने इच्छा जाहेर गरिन्। अर्को वर्ष मणिपुरमा भएको चुनावमा इरोम शर्मिलाले उठिन तर उनी नराम्रोसँग पराजित बनिन्। उनले जम्मा ९० भोट मात्र प्राप्त गरेकी थिइन् ।

नेपालमा पनि भोक हडतालको प्रचलन निकै छ। आफ्नो आस्था र मूल्यमान्यताको लागि लड़दा लड्दै मर्नु गौरवको कुरो हो। यस्ता सच्चा सहिदहरूको सम्मान सारा मानव जातिले गर्छ। तर विरोधको यो तरिका खासै प्रभावकारी भने होइन।

गान्धी सफल भए भन्दैमा आमरण अनसनमा बस्ने सबै सफल हुन्छन् भन्ने केही ग्यारेन्टी छैन। आमरण अनसन बसेर राज्यलाई झुकाउने हो भने गान्धी जस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित व्यक्तित्व हुनु जरुरी छ। नत्र कोही साधारण मान्छे भोक हडतालमा गर्दा गर्दै मर्‍यो भने पनि राज्यलाई खासै फरक पर्दैन। त्यस्तो, फुजेलका अधिकारी दम्पतीको हकमा नेपालमा पनि देखिई सकिएको छ।