काठमाडौं । श्रमिक दिवसमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा श्रमिकको न्यूनतम पारिश्रमिक सबैभन्दा धेरै बनाएको दावी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गरेका छन् ।
अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उनको भनाइ छ । “विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम भएको थियो । त्यही समझदारीका कारणले न्यूनतम पारिश्रमिक इतिहासमा उच्च, ३९ प्रतिशतले वृद्धि भएको थियो”, उनले भने ।
उनले न्यूनतम पारिश्रमिक वृद्धिले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हड्ताल र तालाबन्दीको समस्या अन्त्य भएको भन्दै त्यसपछि मुलुकको अर्थतन्त्रले तीव्र विकासको लय समातेको उल्लेख गरे ।