
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारी अढाई महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्यास लिक भएर उछिट्टिएको स्पार्क लागेर गम्भीर घाइते भइ ४ गते भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारका लागि भर्ना गरिएका डा. भण्डारी आज स्वदेश फर्किएका हुन् ।
उनी आज स्वास्थ्य उपचारपछि नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किए ।
नेता भण्डारीले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे । नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई उनले अपिल गरे ।
आगलागीमा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस