शीर्षकहरू

यो हो मान्छेले आफैलाई सङ्कटमा पारेको ठोस प्रमाण

यो हो मान्छेले आफैलाई सङ्कटमा पारेको ठोस प्रमाण

प्रख्यात अमेरिकी विश्लेषक नोम चोम्स्कीका अनुसार एक पटक प्रख्यात खगोल भौतिक शास्त्री (astrophysicist) कार्ल सेगन र प्रख्यात उदबिकाशबादी जीव शास्त्री(evolutionary biologist) अर्नेस्ट मायर बीच पृथ्वी बाहिर ब्रह्माण्डमा बुद्धिमान जीव भेटिने सम्भावना बारे बहस भएको थियाे ।

कार्ल सेगनले तर्क गरे ब्रह्माण्डमा पृथ्वी जस्तै अनगिन्ती ग्रहहरू रहेका छन् । ती ठाउँमा बुद्धिमान जीवनको विकास नहुने कुनै कारण नै छैन । तर अर्नेस्ट मायर ले जवाफ दिए त्यस्तो सम्भावना एकदमै न्यून छ । उनले यसको कारण दिए हामी सँग एउटा उदाहरण पृथ्वी छ र त्यसै लाई हेर्दा पुग्छ । उनले थपे बुद्धिमत्ता एक प्रकारको घातक उत्परिवर्तन (Mutation ) हो ।

यदि हामीले जीवको सफलता लाई हेर्ने हो भने सबै भन्दा सफल जीव चाही आफुलाई चाँडो उत्परिवर्तन गर्न सक्ने ब्याक्टेरिया र आफुलाई सुहाउँदो वातावरणमा बस्ने गोब्रे किराहरू हुन् । उनीहरू वातावरणीय सङ्कट लाई पनि झेल्न सक्छन् । तर बुद्धिमत्ताको तह बढ्दै जाँदा जीवहरू कम भन्दा कम सफल हुँदै जान्छ । स्तनधारी जीव को तह आइपुग्दा किरा फट्याङ्ग्राको तुलनामा धेरै कम हुन्छन् । अझ मान्छेको तहमा पुग्दा धेरै सानो समुह मात्र बाँकी रहन्छ ।

मान्छेको उत्पत्ति भएको करिब एक लाख वर्ष मात्र भयो । अहिले जताततै मान्छे देखेर धेरै लाई भ्रम हुन् सक्छ । तर यो भएको केही हजार वर्ष मात्र भयो । जुन समय उदविकासका दृष्टिकोणले केही पनि होइन । अर्नेस्ट मायारले तर्क गरे हामीले बुद्धिमान जीवन अन्यत्र कहीँ पनि भेट्ने वाला छैनौ । र यहाँ पनि धेरै लामो समय यो टिक्ने वाला छैन । किनकि बुद्धिमत्ता घातक उत्परिवर्तन हो । हरेक प्रजातिको औसत जीवनकाल एक लाख वर्ष हुन्छ । जुन आधुनिक मानव अस्तित्वमा आएको समय जति नै हो ।

केही वर्ष अघि कोरोना भाइरस विश्वभर फैलेपछि मान्छेको सामान्य जीवन अस्तव्यस्त भएको थियो । त्यो बेला संसारभर मान्छेहरू घरभित्रै सीमित बनेका थिए । दुई तिन महिनासम्म संसारभर यातायात, कलकारखाना, उद्योगधन्दा सबै जसो बन्द भए । यसले गर्दा विश्वभर हावा स्वछ भयो, पानी सङ्लो बन्यो, माछाहरू फेरी नदीमा निस्फिक्री नदीमा पौडिन थालेका थिए । अनेक जङ्गली जनावरहरू सहरका मुख्य सडकहरूमा निर्धक्क घुम्न थालेका थिए ।

यसले देखाउँछ मानव जातिले पृथ्वीलाई कति क्षति पुर्‍याएको रहेछ । र, मानव जातिको हस्तक्षेप बेगर पृथ्वी कसरी छोटो समयमै पुनर्जीवन पाउँदो रहेछ । सबै भन्दा बुद्धिमान प्रजाति मानिसले आफैलाई र पृथ्वीलाई समेत हानि गर्ने आविष्कारले गर्दा आफ्नो जीवनको अन्त आफै गर्दै गइरहेको छ ।

पृथ्वीको तापक्रम वृद्धि गरेर जलवायु परिवर्तन गर्ने पेट्रोलियम पदार्थको विकल्प हुँदा हुँदै पनि मान्छे केवल केही पैसाको लोभको कारण यसलाई छोड्न चाहँदैन । जसले गर्दा उसकै जीवनको अन्त निश्चित छ । मान्छेहरू आणविक हतियार लाई आम विनाशको हतियार भन्छन् तर वास्तवमा आम विनाशको साधन मान्छे नै हुन् । सायद, अर्नेस्ट मायर सही थिए !!!