शीर्षकहरू

अक्टोबर क्रान्तिका प्रारम्भिक दिन

अक्टोबर क्रान्तिका प्रारम्भिक दिन

आज अप्रिल २२ । आजैका दिन सन् १८७० मा सर्वहाराहरूका महान् विश्व गुरु लेनिनको जन्म भएको थियो । कुनै बेला नेपालमा लेनिन जन्मोत्सव धूमधाम सँग मनाइन्थ्यो । अहिले त्यो रुपमा मनाउने, उनलाई सम्झने क्रममा निक्कै कमी आएको छ ।

थाहा छैन, यस पटक नेपालमा उनलाई कसरी सम्झना गरिन्छ । विश्वमा पहिलो पटक सफलतापूर्वक सम्पन्न महान् समाजवादी क्रान्तिका अगुवाइ गर्ने लेनिनको सम्झना गर्न कतिलाई 'कम्फरटेबल' महसुस हुने हो ?

एउटा चर्चित भनाइ छ- इनारको पानी खानेले इनार खन्नेलाई सम्झनु पर्छ । त्यसैले विश्व क्रान्तिका महानायक, सर्वहारा वर्गका महागुरु लेनिनमा हार्दिक सम्मान अर्पण गर्न यहाँ लेनिनले ‘समाजवादी क्रान्तिको पहिलो दिनको बधाई !’ दिएको रोचक घटनालाई भ्लादिमिर बोन्च–ब्रुयेविचले लेखेको यो अंशमा प्रस्तुत गरिएको छ :

अक्टोबर क्रान्ति लगत्तैका सुरुवाती दिनहरूमा पेत्रोग्रादमा उत्तेजनाको वातावरण छाएको थियो । हरेकलाई कुनै चीजको प्रतीक्षा छ, जस्तो लाग्थ्यो । स्मोल्नीमा आउने–जाने मानिसहरूको लस्कर लागेको थियो ।

यहाँ, स्मोल्नीमा नै बोल्सेभिकहरुको प्रधान कार्यालय थियो । त्यसको नाम थियो–सैनिक क्रान्तिकारी समिति । भ्लादिमिर इल्यीच (लेनिन) यहीँ थिए । आफूसँग भेट्न आउनेहरू सबैलाई उनले स्वागत गरे र त्यस दिन घटित भएका घटनाहरू, खास गरेर शिशिर महलमा र त्यहाँ पुग्ने मार्गहरूमा के भइरहेका छन् भनेर सोधे ।

बोल्सेभिकहरुमा यो खबर तीव्रताका साथ फैलियो कि भ्लादिमिर इल्यीच स्मोल्नीमा छन् । धेरै मानिसहरू उनलाई हेर्न चाहन्थे, उनीहरू सबै त्यहाँ आए । कोठामा प्रशंसकहरू र नवागन्तुकहरुको भीड लाग्यो । फेरि घटनासँग कुनै सम्बन्ध नै नभएकाहरू पनि आउन थाले । विदेशी समाचारपत्रहरूसहित अनेकौँ अखबारका सम्वाददाताहरू उनको कार्यालयमा पुग्ने कोसिस गर्न थाले । उनीहरूले यो देखेका थिए कि सबैभन्दा बढी मानिसहरूको आवतजावत यहीँ भइरहेको छ, यसबाट के सुनिश्चित थियो भने विद्रोहका लागि निर्देशनहरू दिइरहिएका यिनीहरूको केन्द्र यही हुनुपर्छ ।

एउटा विश्वसनीय रक्षा दलको स्थापना गर्नु नितान्त आवश्यक भएको थियो ।

स्मोल्नीको एउटा कोठामा पाँच सय भन्दा बढी सशस्त्र मजदुरहरू थिए । उनीहरू लाल गार्ड थिए । तीमध्येबाट पचहत्तर जना जतिलाई रक्षा दलका लागि छनौट गर्ने तय गरियो ।

लगभग तीस वर्ष जातिका एक सुन्दर नौजवान मजदुरले सानो आवाजमा उनीहरूलाई पङ्क्तिमा उभिन आदेश दिन्छन् ।

क्षणभरमै सबै जना आ–आफ्नो स्थानमा आएर उभिन्छन् । त्यहाँ एकदमै सन्नाटा छाउँछ, न कुनै आवाज न त कुनै सरसराहट । ढोकामा गार्ड खडा छन् । कमान्डर बताउँछन् कि उनलाई हर अवस्थाको लागि तयार हुन सक्ने पचहत्तर जना चाहिएको छ, आवश्यक परेमा ज्यानै दिन पनि तयार ।

पङ्क्तिबद्ध खडा सबै जना एक कदम अगाडि बढेर उभिए । कमान्डरले उनीहरूमध्येबाट पचहत्तर जनालाई छनौट गरे, तिनका नायक र उनका दुई जना सहायकहरूलाई पनि नियुक्त गरे ।

‘कुनै गडबडी भयो भने, तिमीहरूलाई थाहै छ कि...’ यसो भन्दाभन्दै उनले आफ्नो आँखीभौँ तन्काए र बोलीलाई अधुरै छाडिदिए ।

उनले पहिला प्रवेश पास बनाए । क्रमसङ्ख्या १ वाला प्रवेश पास उनीहरूले भ्लादिमिर इल्यीचलाई दिए ।

‘यो के हो ? प्रवेश पास ? यो केका लागि ?’ भ्लादिमिर इल्यीचले सोधे ।

‘यो जरुरी छ । तत्कालको लागि नै सही । स्मोल्नीको सुरक्षा हेरचाहका लागि हामीले रक्षा दल पनि बनाइसकेका छौँ । हामी चाहन्छौँ कि तपाईँले त्यसलाई निरीक्षण गर्नोस् ।’

भ्लादिमिर इल्यीचले ढोकाबाहिर नजर दौडाए र रक्षा दललाई गल्लीमा पङ्क्तिबद्ध खडा भएको पाए ।

‘वाह ! शानदार जवानहरू छन् । यिनीहरूलाई देखेर खुसी लाग्छ !’ उनले प्रशंसाको स्वरमा भने ।

तलका प्रवेशद्वारहरूमा र लेनिनको कार्यालयभित्र गार्ड तैनाथ गरियो । यसबिच रक्षा दलका कमान्डरले केन्द्रीय दस्तासँग सम्पर्क स्थापित गरे ।

र, स्मोल्नीमा आउनेहरूको लर्को जारी रह्यो ।

०००

भ्लादिमिर इल्यीच यो कुराले चिन्तित थिए कि शिशिर महलको घेराउ चलिरहेकै छ । शिशिर महल अफिसर छात्रहरूको कब्जामा थियो, जसले अस्थायी सरकारको रक्षा गरिरहेका थिए ।

क्रान्तिकारी फौजको तर्फबाट आएका पाब्लोव्स्क गार्ड रेजिमेन्टलाई शिशिर महल पुग्ने बाटाहरू कब्जा गर्न हुकुम दिइयो ।

रेजिमेन्टले महलको बाहिर चौकीहरू खडा गरे । चाँडै नै नौसैनिकहरुको दस्ता पनि आएर त्यसमा सामेल भयो । नौसैनिकहरुले अलि पर पर लम्किएर महलका सामुन्नेकै चोकहरू पार गरेर त्यहाँका बाटाघाटाहरु कब्जा गरे । शिशिर महलमा हमला सुरु भयो । यो हमला कैयौँ घण्टा चल्यो ।

नौसैनिकहरुले महलको विशाल ढोकाहरू जबरजस्ती खोलिदिए र पाब्लोव्स्क रेजिमेन्टका सैनिकहरू र लालगार्डहरु अगाडि अगाडि झम्टिँदै भित्र पस्न थाले ।

नजिकैको नेवा नदीमा क्रुजर ‘अव्रोरा’ पनि खडा थियो । उसलाई आफ्ना तोपहरू शिशिर महलमा ताकेर राख्न आदेश मिलेको थियो । यस्तै खालको आदेश पिटर–पाल किल्लाको गेरिसनलाई पनि दिइएको थियो ।

‘अव्रोरा’ र किल्लाका तोपहरूले शिशिर महलमा हमला सुरु गर्नका लागि सङ्केत गरे । लाल गार्ड, सैनिक र नौसैनिकहरुले भित्री प्रमुख स्थानहरू– सिढीहरु, भित्र जाने र बाहिर निस्कने बाटाहरूमा कब्जा जमाए । २५–२६ अक्टोबरका रातिसम्म शिशिर महल क्रान्तिकारी फौजहरूको कब्जामा आयो । अस्थायी सरकारलाई गिरफ्तार गरेर कडा पहरामा पिटर–पाल किल्लामा पठाइयो । महिलाको भेषमा केरेन्स्की एउटा गोप्य बाटोबाट बाहिर निस्के र अमेरिकी दूतावासको कारमा बसेर भाग्न सफल भए। आफ्नो ज्यान जोगाए।

तस्बिर: शिशिर महलमा हमला

कालो छालाको कोट र छालाको पतलुन लगाएका, साइकलमा सवार एक सैनिक गल्लीमा तीव्रताका साथ फौजी कदम बढाएर गइरहेका थिए । उनले काँधमा छालाको थैलो भिरेका थिए । आफ्नो बायाँ हातले उनले थैलोलाई आफ्नो कुममा दबाए थिए ताकि त्यसले झट्का नखाओस् ।

‘सैनिक क्रान्तिकारी समितिको मुख्य कार्यालय कहाँ छ ?,’ उसले ढोकामा पहरा दिइरहेका दुवै लालगार्डहरुलाई सोधे ।

‘कसलाई भेट्नुपर्ने हो ?’

‘लेनिनसँग ! मलाई उनीसमक्ष सन्देश पुर्‍याउनु छ ।’

एउटा गार्डले अलि मोडिएर आफ्नो साथीलाई भन्न थाले, ‘यसको अर्थ हो हामीले नायकलाई बोलाउनु पर्छ । यी सन्देशवाहकसँग प्रवेश पास छैन । यिनी मुख्यालय जान चाहन्छन्... लेनिनसँग भेट्न चाहन्छन् ।’

नायकले सैनिकलाई उनी कहाँबाट आएको हो र कसले पठाएको हो भनी सोधे ।

‘म शिशिर महलबाट आएको हुँ । मलाई कमान्डर पोद्वोइस्कीले पठाएका हुन् ।’

‘मेरा पछि पछि आऊ ।’

‘मैले सन्देश ल्याएको छु ।’ सैनिकले अगाडिको कोठामा प्रवेश गर्दै भने, ‘मलाई स्वयं लेनिनसँगै भेट्नु छ ।’

‘कुरा के हो साथी ?’

‘के तपाईँ नै लेनिन हो ?’

सैनिकले अत्यधिक प्रसन्नतायुक्त उत्सुकताले भ्लादिमिर इल्यीचतिर हेरे, खुसीले उनको आँखा चम्कियो । उसले हतार हतार आफ्नो थैलीको बटन खोल्यो, त्यसबाट एउटा कागज निकाल्यो, त्यसलाई सादर लेनिनको हातमा दियो, सलाम गर्‍यो र भन्यो, ‘सन्देश !’

‘धन्यवाद साथी!’ भ्लादिमिर इल्यीचले भने र उनीतर्फ आफ्नो हात बढाए ।

सैनिक सङ्कोचमा परे । उसले आफ्नो दुवै हातले लेनिनसँग हात मिलाए, मुस्कुराए र फनक्क फकिएर फौजी चालमा त्यहाँबाट बाहिरिए ।

बाहिर जाँदाजाँदै उनले लेनिनको हस्ताक्षरयुक्त कागजलाई आफ्नो थैलीमा राखे ।

‘शिशिर महललाई कब्जामा लिइयो, अस्थायी सरकारलाई गिरफ्तार गरिएको छ, केरेन्स्की बचेर भागे ।’ भ्लादिमिर इल्यीचले सन्देशलाई ठुलो स्वरमा पढे ।

लेनिनले वाक्य पूरा मात्रै गरेका थिए कि ‘हुर्रा’ भनिएको जारदार आवाज सुनियो, त्यसलाई सामुन्नेका कोठामा रहेका लालगार्डहरुले दोहोर्‍याए ।

सबै कोठाहरू र गल्लीहरूमा ‘हुर्रा’को गगन भेदी नाराहरू गुन्जियो ।

०००

हामी बिहान चार बजेतिर थकानले चुर तर उल्लासले भरपुर भएर स्मोल्नीबाट जान सुरु गर्‍यौँ। मैले भ्लादिमिर इल्यीचलाई मेरो घरमा गएर सुत्नका लागि अनुरोध गरेँ । त्यसभन्दा पहिले नै मैले रोज्देस्त्वेन्स्कीमा फोन गरेर सशस्त्र मजदुरहरूको समूहलाई आसपासका सडकहरू खाली राख्न भनिसकेको थिएँ ।

हामी स्मोल्नीबाट निक्ल्यौँ । पूरै सहर अँध्यारोमा डुबेको थियो । हामी कारमा बस्यौँ र मेरो घरतिर लाग्यौँ ।

भ्लादिमिर इल्यीच अत्यधिक थाकेका थिए र उनी बाटोमै झकाउन थालिसकेका थिए । घर पुगेर हामीले रुखासुखा खाना खायौँ । मैले भ्लादिमिर इल्यीचको सुविधाका लागि सकेको गर्ने कोसिस गरेँ । तर, मैले उनलाई मेरो आफ्नो पलङमा सुत्नका लागि अत्यन्तै कठिनाइका साथ मात्र मनाउन सकेँ । मेरो पलङ एउटा सानो कोठामा थियो । त्यो कोठामा एउटा मेच, कागज, मसी र मेरो पुस्तकालय पनि थियो । अन्ततः उनी त्यहाँ सुत्न तयार भए र हामी बाँकी रातका लागि अलग भयौँ ।

म सामुन्नेकै कोठाको सोफामा ढल्किएँ । मैले निश्चय गरेँ कि भ्लादिमिर इल्यीच सुतेको कुरामा विश्वस्त भएपछि मात्रै म सुत्नेछु ।

अत्यधिक सुरक्षाको ख्याल गरेर मैले सबै तालाहरू लगाएका थिएँ र बाहिरको ढोकामा पनि छेस्किनी लगाएको थिएँ । घरमा घुसेर भ्लादिमिर इल्यीचको हत्या गर्ने कोसिस पनि हुन सक्छ भन्ने सोचेर मैले आफ्नो पेस्तोल पनि निकालेर राखेको थिएँ । आखिर केही पनि असम्भव थिएन ।

आवश्यक पर्दा काम लाग्न सक्ने सबै टेलिफोन नम्बरहरू पनि मैले लेखेर राखेँ– साथाीहरुको, स्मोल्नीको, मजदुर फाँटका समितिहरूको, ट्रेड युनियनहरूको । ‘यो यस कारण कि सङ्कटको समयमा मैले कतै नबिर्सिऊ,’ मैले आफ्नो मनमा भनेँ ।

भ्लादिमिर इल्यीचले आफ्नो कोठाको बत्ती निभाए । मैले आफैँसँग सोधे, ‘के उनी सुते ?’ केही पनि आवाज आइरहेको थिएन । मलाई निद्रा लाग्न थाल्यो । म पूरै सुतिसकेको थिइनँ,  भ्लादिमिर इल्यीचको कोठाको ढोकामुनिबाट प्रकाशको एउटा पातलो पट्टीजस्तो प्रकट भइरहेको देखेँ ।

म सतर्क भएँ । मैले सुनिरहेको थिएँ कि उनी कसरी बिस्तारै खाटबाट उत्रिए, बिस्तारै कोठाको ढोका खोले र म सुतिसकेँ भन्ने कुराको सुनिश्चित गरे पनि अति सुस्तरी उनी आफ्नो कोठाको मेच भएतिर गए । त्यसपछि उनी मेचमा बसे, कागज झिके र लेख्न थाले । ढोकाको प्वालबाट मैले ती सबै देखिरहेको थिएँ ।

भ्लादिमिर इल्यीच केही लेख्थे, केही लेखेका कुराहरू काट्थे, आफूले लेखेको पढ्थे र फेरि अर्को कागजमा केही लेख्न थाल्थे । आखिरमा उनले एउटा सफा प्रतिलिपि तयार गर्न सुरु गरे ।

रात ढल्कँदै थियो । पेत्रोग्रादमा बिहानको उज्यालो झुल्कन थाल्दै थियो, भ्लादिमिर इल्यीचले बत्ती निभाए र पलङमा गएर सुते । मलाई पनि निद्रा लाग्यो ।

बिहान मैले घरमा सबैलाई भ्लादिमिर इल्यीचले पूरै रातभरि नै काम गरेको र उनी सुत्न जरुरी रहेकोले सकेसम्म आवाज ननिकाल्न भनेँ ।

अचानक उनको कोठोका ढोका खुल्यो । उनी पूरै कपडा लगाएर, एकदमै तरोताजा अवस्थामा मुस्कुराउँदै बाहिर आए ।

‘समाजवादी क्रान्तिको पहिलो दिनको बधाई !’ उनले हामीलाई भने ।

उनको अनुहारमा थकानको कुनै चिन्ह नै थिएन । यस्तो लाग्थ्यो, मानौँ उनी रातभरि आरामले सुतेका थिए, जबकि उनी यस्तो थकानयुक्त चौबीस घण्टाको खटाइपछि दुई तीन घण्टाभन्दा बढी सुतेकै थिएनन् ।

केही साथीहरू आइपुगेका थिए । जब सबै जना चिया पिउनका लागि जम्मा भयौँ, नादेज्दा कोन्स्तान्तीनोव्ना पनि आएर बसिन् । उनी राति हाम्रै घरमा बसेकी थिइन् । भ्लादिमिर इल्यीचले आफ्नो गोजीबाट थुप्रै कागजहरू निकालेर हामीलाई आफ्नो भूमिसम्बन्धी प्रसिद्ध आज्ञा पढेर सुनाए । यी निर्णायक दिनहरूमा उनी त्यसलाई तयार गर्न लागिपरेका थिए ।

केही बेरपछि हामी हिँडेरै स्मोल्नीरित लाग्यौँ र फेरि एउटा ट्राममा चढ्यौँ । सडकमा शान्ति–व्यवस्था देखेर भ्लादिमिर इल्यीचको अनुहारमा खुसीको चमक देखियो ।

बेलुकी, सोभियतहरूको दोस्रो काँग्रेसमा, शान्तिको बारेमा आज्ञा पास भएपछि भ्लादिमिर इल्यीचले प्रतिनिधिहरूलाई स्पष्ट र गुन्जिएको स्वरमा भूमिसम्बन्धी आज्ञा पढेर सुनाए । त्यसलाई जोसका साथ एक स्वरमा स्वीकृत गरियो ।

नोट:

भ्लादिमिर बोन्च–ब्रुयेविच (१८७३–१९५५) कम्युनिस्ट पार्टी र सोभियत राज्यका एक पुराना प्रमुख कार्यकर्ता थिए । भूमिसम्बन्धी आज्ञा– जमिनको बारेमा पहिलो सोभियत कानून, जसमा भूमिको निजी स्वामित्वको अधिकारलाई सधैँका लागि समाप्त गरियो । जमिन सबै जनताको सम्पत्ति बन्यो । शान्तिको बारेमा आज्ञा– एउटा आज्ञा पत्र, जसमा सोभियत सरकारका सबै युद्धरत पक्षहरू र तिनका सरकारहरूलाई सम्बोधित गरिएको थियो । त्यसमा युद्धलाई समाप्त गरेर उचित तथा जनवादी शान्तिको सन्धिका हस्ताक्षर गरेर वार्ता सुरु गर्न प्रस्ताव गरिएको थियो ।

(प्रगति प्रकाशन मस्कोबाट हिन्दीमा प्रकाशित, नरेश वेदीद्वारा अनूदित ‘ऐसे थे लेनिन’बाट । नेपाली अनुवाद: चन्द्र खाकी)