काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र बोकेर भाडाको बस चलाउने चालक सहित २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा लिएको छ । नक्कली सवारी चालक अनुमति पत्र सहित दुई जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौँको स्वयम्भु बस्ने २७ वर्षीय भिम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले आज एकान्तकुनामा बा ४ ख ३८ ५१ नम्बरको बस चेक गर्ने क्रममा श्रीकृष्ण भुर्तेलको ०१-०६-०१०४८१८५ वर्ग B,G सवारी चालक अनुमति पत्र फेला पारी शंका लागेर विद्युतीय माध्यमबाट चेक गर्दा वर्ग बी मात्र खुल्न आएको थियो ।
त्यस्तै यही बैशाख १ गते जावलाखेलमा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीको लागि लिएको ०१-०६-००९८०७२४ वर्ग ए, बी, F सवारी चालक अनुमति पत्र लिन आएको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरीले भिम बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
उनको सवारी चालक अनुमतिपत्र विधुतिय माध्यमबाट चेक गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको हो । बा २ क ९८ ०१ नम्बरको ट्रक चलाएको अवस्थामा स्याङतान कारबाहीमा परेका थिए । नियन्त्रणमा आएका दुबैजनालाई आवश्यक अनुसन्धानको लागि सवारी चालक अनुमति पत्र सहित प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन ।
नक्कली सवारी चालक अनुमति पत्र लिएर सवारी साधन चलाउनु गैरकानुनी कार्य भएको र दुर्घटना समेत हुने भएकाले यस्ता कार्य रोक्न ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए ।