काठमाडौं । हातमा पुराना कागज, मलिन अनुहारसहित सोमबार सहकारी व्यवस्थापन समितिको कार्यालयका हाकिमसमक्ष बिन्ती गरिरहेका थिए। चिन्तित मुद्रा, निन्याउरो स्वर र उनले हारगुहार गरिरहेको कार्यालय नै काफी छन् की उनी अरू कोही नभएर खराब सहकारीका एक बचतकर्ता हुन् भनेर चिन्नलाई ।
यसरी पैसा फिर्ता माग्न उनी बेलाबेला दोलखाबाट काठमाडौं आउने गर्छन् । तर, अहिलेसम्म उनले हर्षित अनुहार सहित फर्कने मौका पाएका छैनन्।
उनको नियति कतिसम्म छ भने उनी आफ्नो नाम समेत नखोल्ने सर्तमा मात्र आफ्नो पिँडा सुनाउन राजी बने । ती बचतकर्ताले सुनाए अनुसार एक दशक भन्दा अघि उनले स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारीमा पैसा राखेका थिए । वि.सं २०६९ साल पुस ९ गते उनले उक्त सहकारीमा मुद्दती निक्षेपमा एक वर्षका लागि एक लाख रुपैयाँ जम्मा गरेका थिए । सो बचत उनले आफ्नो छोरा र आफ्नो नाममा गरेका थिए ।
२०७० पुस ८ गते उनले फिर्ता पाउनु पर्ने बचत सहकारीले दिएन । बचत गर्दाको सर्त अनुसार उनले एक लाख रुपैयाँमा १८ प्रतिशतको ब्याज थप गरेर फिर्ता पाउनु पर्ने हो । तर, उनले ब्याज त परको कुरा साँवा रकम पनि अहिलेसम्म फिर्ता पाएनन् ।
उनले उक्त पैसा छोराको उपचारको लागि जम्मा गरेका थिए । बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि २०७५ असार १८ गते सरकारले स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारीलाई समस्यागस्त सहकारीका रुपमा घोषित गर्यो ।
सहकारी व्यवस्थापन समितिको कार्यालय साबिकको (समस्याग्रस्त सहकारी व्यवस्थापन समिति) ले बचत फिर्ता गरिदिन्छ भन्ने आसमा उनले २०७५ चैत १२ गते निवेदन दिए । उनीसँगै उक्त सहकारी विरुद्ध १७५ बचतकर्ताहरूले ११ करोड ८ लाख ९३ हजार रुपैयाँ बराबरको मागदावी सहित निवेदन दिएका थिए ।
छोराको उपचारका लागि चन्दा उठाइरहेका उनी बचत फिर्ता पाइन्छ भन्ने आसमा लामो समयदेखि कार्यालय धाइरहेका छन् । कार्यालय धाएको तीन/चार दिन हुँदा समेत उनले ब्याज त परको कुरा सावाँ समेत पाएका छैनन् । ‘तिन दिन भयो काठमाडौं आएको छोराको उपचारका लागि दिल्ली लानुपर्नेछ । ब्याज नपाए पनि साँवा फिर्ता पाइन्छ की भनेर धाइरहेको छु’, मलिन स्वरमा उनले भने ।
उनका २० वर्षीय छोरा विनोद कार्कीलाई जन्मजात नै आन्द्रा सम्बन्धी (एच.डि) रोगबाट ग्रसित छन् । सानो छँदा उपचार गरेको कान्ति बाल अस्पताल र अहिले टिचिङ हस्पिटलले नेपालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि दिल्ली लान सिफारिस गरेका छन् डाक्टरहरूले। उनको उपचारको लागि न उनीसँग पैसा छ न बचतमा राखेको पैसा नै फिर्ता पाएका छन् ।
‘छोराको उपचारको लागि अहिले दिल्लीमा हुनुपर्ने म काठमाडौँमा हार गुहार गर्दै छु’, उनले अगाडी भने, ‘आफन्तकोमा बसेको छु । काठमाडौँको डेराको बसाई, अर्काकोमा लामो समय बसिरहन असहज भइरहेको छ ।’
उनले सहकारी व्यवस्थापन समितिको कार्यालय धाए पनि बचतको सबै पैसा नपाउने भएका छन् । उनलाई कार्यालयले बचतको आधा रकम मात्रै दिलाउन पहल गरेको छ । कार्यालयका सदस्य सचिव केशव प्रसाद पौडेलले भने, ‘हामीले उहाँको समस्या सुनिसक्यौ । त्यसैले उहाँको पैसाका लागी पहल गरिरहेका छौँ । अहिले तत्कालै अन्य बचतकर्ताहरूको पनि मर्म बुझ्नुपर्ने भएकाले उहाँलाई ५० हजार रुपैयाँ मात्रै दिने तयारी थालेका छौँ ।’
ती बचतकर्ता त एक प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्तै अन्य हजारौँ बचतकर्ता बचत फिर्ता गरिपाँउ भन्दै कार्यालय आउँछन् । त्यसरी बचत फिर्ता गर्न आउने बचतकर्ताहरूलाई हालसम्म कार्यालयले ४४ करोड ९६ लाख रुपैयाँ रकम फिर्ता गरिसकेको छ । कार्यालयमा समस्याग्रस्त घोषित भएका १२ सहकारीका ५ हजार ५४२ बचतकर्ताले मागदावी गरेका थिए । जसमा ४४६ बचतकर्ताले रकम फिर्ता पाइसकेका छन् ।
कार्यालयका सदस्य सचिव पौडेलका अनुसार हालसम्म कुवेर बचत तथा ऋण सहकारी संस्था र स्ट्याण्डर्ड मल्टिपर्पोज सहकारीका सबै बचतकर्ताहरूको रकम फिर्ता भइसकेको छ । त्यसैगरी, सोसाइटल बचत तथा ऋण सहकारीका २४० बचतकर्ताहरूको मागदावी परेको १० करोड ८७ लाख ४२ हजार रुपैयाँ पनि वैशाखभित्र फर्छ्यौट गरिसक्ने सदस्य सचिव पौडेलले जानकारी दिए ।
त्यसैगरी, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को अपरेटिभका १४ बचतकर्ताको ८४ लाख ११ हजार ४९४ रुपैयाँ पनि जेठ भित्र फर्छ्यौट गर्ने कार्ययोजना रहेको उनले बताए । बचत फिर्ता गर्न बाँकी रहेका सहकारीहरूमा प्यासिफिक सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को– अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी र लुनिभा बहुउद्देश्यीय सहकारी रहेका छन् ।
ओरेण्टल को– अपरेटिभको हकमा भने अदालतले फैसला नगरी दिँदा काम गर्न समस्या भएको उनले गुनासो गरे । उनी भन्छन्, ‘हामी त्रिपक्षीय द्वन्द्वमा परेका छौँ । सहकारीको मुद्दा अदालतमा विचाराधीन छ । कुनै फैसला गर्न सकेको छैन । पीडितहरू हामीले काम नगरिदिएको जस्तो गरी गुनासो गर्छन् । ओरेण्टलका सञ्चालकसँग पनि पटक/पटक छलफल गरिरहेका छौँ । तर, कार्ययोजना सहित छलफलमा आउँछौँ भन्ने बहानामा टारिरहेका छन् ।’
सञ्चालकको मनोमानीले गर्दा सहकारीमा समस्या आएको भन्ने गुनासो पिंडीत बचतकर्ताको छ । अर्को पक्षको तर्क छ- नियामक निकायले सहकारीलाई नियमन गर्न नसकेकोले समस्या परेको हो। तर, सहकारीको मनोमानी बढ्दा पनि सरकारको ध्यान पुग्न सकेको छैन । तिन खम्बे अर्थनीतिलाई अँगालेको सरकारले अर्थतन्त्र सुधारका लागि सहकारीमा देखिएको समस्या समाधान गर्न नीतिगत सुधारको आवश्यकता रहेको छ ।