शीर्षकहरू

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा दायर, दुई अर्ब बिगो माग

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध मुद्दा दायर, दुई अर्ब बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

उनीसहित सोहि केन्द्रका सिडिइ नबिन कुमार पोखरेल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, सेवा निवृत्त भएका रामबहादुर बुढा, शाखा अधिकृत शिशिर उपाध्याय रहेका छन् । त्यस्तै, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिंग सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्धक निर्देशक मित्रलाल गुरौँको समेत संलग्नता रहेको पाइएको छ । 

अख्तियारले उनीहरु ९ जनाविरुद्ध दुई अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको बिगो माग गरेको छ । पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङकको खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का लिएर काम गरेको उनीहरुविरुद्ध अख्तियारको आरोप रहेको छ । 

खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन विद्युतिय ट्रान्सफरमर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने कार्य उनीहरुले गरेका थिए । यसका साथै खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामानको खरिद गरेको पाइएको छ । 

सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा उनीहरु ९ जनाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको भनाई छ ।