शीर्षकहरू

वायुसेवा निगमका यी आठ घटनाले आजित बने मन्त्री किराँती

वायुसेवा निगमका यी आठ घटनाले आजित बने मन्त्री किराँती

काठमाडौं । गत सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेसबुकमा एउटा स्ट्याटस लेखे । स्ट्याटस हेर्दा पर्यटन मन्त्री किराँती नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पछिल्लो क्रमबद्ध घटनाले आजित भएको देखिन्छ ।    

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाल वायुसेवा निगममा पछिल्लो समयमा भएका मलेसियाको नियमित फ्लाइट क्यान्सिल, दिल्लीमा जहाजको चक्कामा आएको समस्या, ११ घण्टा ढिलो गरी भएका उडान लगायतका शृङ्खलाबद्ध घटनाक्रमले धेरै महानुभावहरूलाई निराश बनाएका सन्देशहरू मलाई प्राप्त भएको छ ।"

मन्त्रीले कुर्सीमा बसेको तीन महिना मात्रै बित्दा नै मैले हारेँ, आजित बनेँ भनेर लेख्ने कुरा भएन। त्यसैले उनले आफैलाई केही सुरक्षित राख्दै लेखेका छन्, 'मलाई यी घटनाहरूले निराश बनाएको छैन बरु थप जिम्मेवार र समस्याप्रति अझ संवेदनशील बन्न प्रेरित गरेको छ। हामी सबैलाई थाहा छ, रोग पुरानो हो, अब धेरै पीडा सहेर बस्न सक्ने स्थिति हामीलाई पटक्कै छैन ।’  

मन्त्री  किराँतीले भने झैँ नेवानीले यस्ता हर्कत गरेको पहिलो पटक भने होइन । विगतदेखि नै गैर-जिम्मेवार खालका कार्यहरु गर्दै आएको छ । यात्रुको लगेज तोड्ने र महँगा सामानहरू चोर्ने कर्मका कारण बदनामीको शीर्ष स्थानमा समेत नेपाल वायुसेवा निगमको जहाज रहेको छ।

किराँती पर्यटन मन्त्री बन्दै गर्दा धेरैले निगममा अब सुधार हुने अपेक्षा गरेका थिए । मन्त्री  किराँती आफैले पनि मन्त्रीको कुर्सीमा बस्दै गर्दा नेपाल वायुसेवा निगम सुधार गर्छु भनेर प्रतिबद्धता व्यक्त गरेका थिए । तर, पछिल्ला घटनाक्रम हेर्दा सुधार भन्दा धेरै निगमको लापरबाही बढेको देखिन्छ। लाग्छ, निगमका अधिकारी/ कर्मचारीहरू मन्त्रीलाई गिज्याउन जानीजानी यस्ता घटना घटाइरहेका छन्। नत्र कम समयमै ८ वटा गम्भीर घटनामा नेपाल वायुसेवा निगमको नाम जोडिने थिएन। 

घटना-१  

गत फागुन दोस्रो साता नेपाल वायुसेवा निगममा कार्यरत पाइलटले परिचारिका(एयरहोस्टेस) माथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भयो । घटना त्यस बेला सार्वजनिक भए पनि सात महिनाअघि साउन १२ गते नै त्यो घटना भएको खुलासा भएको छ।    

मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउने क्रममा रहेको नेपाल वायुसेवा निगमको उडान सङ्ख्या एआर–४१६ को विमानमा उक्त घटना भएको हो । साउन १२ गते उक्त विमानमा ३ जना क्याप्टेनसहित १० जना चालक दलका सदस्य रहेका थिए । उडानको अवतरणका क्रममा निगममा कार्यरत क्याप्टेनले ढोका हेर्ने जिम्मेवारीमा रहेकी नयाँ परिचारिकालाई ‘ककपिटमा राखेर ल्यान्ड गरेको विषयमा विवाद सिर्जना भएको थियो ।

परिचारिकालाई एकाएक ककपिटमा लैजाँदा हवाई सुरक्षाको दृष्टिकोणले गलत भएको भन्दै क्याबिन क्रुका बाँकी सदस्य र अन्य कर्मचारी पनि असन्तुष्ट बनेका थिए । त्यसै क्रममा अन्य परिचारिकाहरू एकजुट भएर आन्तरिक रूपमा आवाज उठाए । उनीहरूले साउन २७ गते निगमकै सम्बन्धित शाखा (क्याबिन क्रु डिभिजन)का निर्देशकलाई इमेलमार्फत घटनाको जानकारी गराएका थिए । प्राधिकरणले गत फागुनमा त्यस बेला उडानमा रहेका चालक दलका सबै सक्रिय सदस्यहरूलाई तत्काल उडानमा रोक लगाएको थियो ।  

घटना-२

यहि चैत ४ गते नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सको जहाजको ढोका रातभरि खुला राखेको पाइयो । बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शङ्कास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने भएकोले जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द गर्नुपर्ने हुन्छ । तर, त्यस दिन जहाजको दायाँतर्फको ढोका खुला राखेको पाइयो । जहाजको ककपिटको दायाँतर्फको ढोका रातैभर खुलै छाडेका कारण प्राधिकरणले विमानको निरीक्षण गर्ने दुई इन्जिनियरलाई ग्राउन्डे गरेको थियो ।  

घटना-३

यहि चैत्र ६ गते ताप्लेजुङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजको लोड सिटमा देखाइएको भन्दा ४८ किलो तौल बढी बोकेको भेटियो । लोड कम देखाउनका लागि पुरुष यात्रुलाई महिला भनी झुटो विवरण रेकर्ड गरेको पाइयो । उक्त जहाजमा ६ जना पुरुष र नौ जना महिला गरी १५ यात्रु सवार थिए । तर, लोड कम देखाउन पाँच पुरुष र १० महिला भनी रेकर्ड राखिएको पाइयो । 

तौल बढी भएको विषय खोजी गर्दा पुरुषलाई महिला बनाएर यात्रा गराएको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । नागरिक उड्डयन प्राधिकरणले उक्त घटनामा संलग्न निगमका चालक दलका सदस्य, परिचारिका, ताप्लेजुङ विमानस्थलका स्टेसन प्रमुख र काठमाडौं विमानस्थलमा खटिएका निगमका कर्मचारीलाई अनिश्चित कालसम्मका लागि निलम्बन गरेको छ।

घटना-४

यहि चैत्र ६ गतेकै दिन निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी त्रिभुवन विमानस्थल काठमाडौंबाट नयाँ दिल्ली गएका थिए । नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली गएका सचिव दुवाडीको लगेज तोडिएको अवस्थामा हात पर्‍यो ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्‍यो ?’

यो घटनामा निगम भने गैर जिम्मेवार खालको जवाफ दिएर पन्छियो । निगमले जिम्मेवारी लिनुको साटो यात्रुले सामान धेरै खाँदेर ब्यागेज फुटेको प्रतिक्रिया दियो । तर, यो घटना सार्वजनिक भएपछि भने नेपाल उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले यात्रुको ब्यागेज व्यवस्थापनमा खटिने कर्मचारीलाई अब ‘खल्ती नभएको पोसाक’ दिने तयारी थालेको छ ।

घटना-५

यहि चैत्र १६ गते बिहीबार नेपाल वायुसेवा निगम (एनएसटी)को वाइड बडी एयरबस ३३० जहाज भारतको एक विमानस्थलमा ग्राउन्डे भयो । दुई वटा टायर पन्चर भएर नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राउन्डे हुनु परेको थियो । निगमको जहाजको टायर पन्चर भएपछि काठमाडौं आउन ठिक्क परेका दुई सय ५१ यात्रु अलपत्र परेका थिए । उनीहरूलाई निगमकै खर्चमा दिल्लीको होटेलमा लगेर राखिएको थियो ।

पछि, १७ गते साँझ भने कतार एयरवेजसँग टायर भाडामा लिएर त्यो जहाज काठमाडौं फर्किएको थियो । यसरी सामान्य आवश्यकताको सामानहरू समेत जगेडा गर्न नसक्दा ग्राउन्डे गर्नुपर्ने अवस्था आएको हो । हुन त निगममा यस्ता घटना घट्नु नौलो कुरा होइन । तर, यसरी सामान्य कुराहरूको समेत व्यवस्थापन गर्न नसक्दा त्यसबाट भने ठुलो क्षति व्यहोर्नु परेको छ ।  

घटना-६  

नेपाल वायुसेवा निगमको वाइड बडी विमान उड्नै लाग्दा को–पाइलट बिरामी भएपछि यहि चैत्र १८ गते राति काठमाडौं–दुबईको उडान रद्द भयो । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को–पाइलट व्यवस्था गर्न नसक्दा दुबईका लागि तय गरिएको उडान नम्बर–आएर २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रु अलपत्र परे । ती यात्रुहरूलाई एयरलाइन्सकै खर्चमा काठमाडौँको सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो ।

घटना-७  

मलेसियाको नियामक निकायले नेपाल वायुसेवा निगमलाई यहि चैत्र १३ गतेदेखि नियमित उडानको अनुमति रोक्यो। निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफओसी) नवीकरणमा ढिलाइ गरेसँगै उडानमा रोक लगाइएको थियो । नियमित उडानको अनुमतिमा रोक लागेपछि नेवानीले मलेसियाका लागि चार्टर उडान सुरु गर्‍यो ।

तर, प्राधिकरणले निगमलाई सोमबार नियमित उडान नगरी चार्टर उडान गर्नुपर्ने कारण के हो भनी स्पष्टीकरण सोधेको थियो । नेपाल र मलेसिया सरकारबिच भएको हवाई सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भए पनि सो वृत्त खण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान सञ्चालनका लागि अनुमति माग गरिएको विषयमा स्पष्टीकरण सोधिएको थियो ।

मलेसियाको नागरिक उड्डयन कार्यालय (सिभिल एभिएसन अथोरीटी अफ मलेसिया) ले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लामो समयदेखि पटक पटक एफओसी प्रमाणपत्र नवीकरण गर्न इमेलमार्फत पत्राचार गरेको थियो । तर, निगमले बल्ल चैत्र ८ गते फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरणको प्रक्रिया थालेको बुझिएको छ। सबै प्रक्रिया पूरा गरी डकुमेन्ट बुझाइसकेपछि नवीकरण भएको प्रमाणपत्र जारी गर्न ३० दिन लाग्छ ।

यो ढिलाइ हुनुमा अधिकारीसहित मलेसियामा रहेको निगमको स्टेसन, निगमको काठमाडौँस्थित वाणिज्य विभाग र अपरेसन विभागको कमजोरी देखिन्छ । उनीहरूको लापरबाहीका कारण यात्रुहरू मार्कामा परेका छन् ।  

घटना-८

यहि चैत्र १० गते एयर इन्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचे । १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासि तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो ।  

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । एक्कासि १९ हजार फिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । एयर इण्डियाको जहाज एक्कासि तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’ले सचेत गराएको थियो । यो घटनापछि एयर इन्डियाका पाइलटलाई कारबाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ ।

चैत्र ६ गतेको जस्तै घटना गत फागुनमा नेपाली आकाशमा नै घटेको थियो । गत फागुन १५ गते कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोक्किनबाट बचे । कतारबाट आएको उक्त एयरवेजको जहाज होल्ड भट्टेडाँडास्थित ‘गुराँस प्वाइन्ट’मा गरेकै अवस्थामा १३ हजार ५ सय फिटबाट एटीसीको अनुमतिविना तल झर्दा झन्डै नेपाल एयरलाइन्ससँग ठोक्किन पुगेको थियो ।

त्यस बेला १२ हजार ५ सय फिटको उचाइमा नेपाल एयरलाइन्स र ११ हजार ५ सय फिटको उचाइमा बुद्ध एयरको जहाज थिए । यस उडानमा कतारले एक्कासि ७ सय फिट जहाज तल झारेपछि तोकिएको १ हजार फिटको दूरी कायम हुन सकेको थिएन । उक्त घटनाबाट बुद्ध एयर समेत जोखिममा परेको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारबाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ । भलै यी दुई घटनामा नेपाल एयरलाइन्सको भने गल्ती नभएको पाइएको छ ।