शीर्षकहरू

जसलाई शरण दिए उसैले महेन्द्रलाई सुकुम्वासी बनाए

जसलाई शरण दिए उसैले महेन्द्रलाई सुकुम्वासी बनाए

डेढ दशकदेखि सप्तरीका महेन्द्र प्रसाद साहको न कामको टुङ्गो छ, न आरामको । उनको भोक निद्रा सबै हराएको छ। सप्तरीको खडक नगरपालिका वडा नं.४ घर भएका साहलाई यो अवस्थामा पुर्‍याउने अरू कोही नभएर उनका आफ्नै दिदीका छोरा अर्थात् भाञ्जा जय नारायण साह हुन् ।  

महेन्द्र, रामवति साह र रामप्रसाद साहका जेठा छोरा हुन् । उनकी सहोदर दिदी चन्दर देवी साहका छोराले उनलाई मिटर ब्याजको जालोमा पारेको उनको आरोप छ ।

उनकी दिदी चन्दर देवी साहको बिहे सिराहाको लालपुरका भवरलाल साहसँग भयो । उनका २ छोरा र १ छोरी भए । चन्दरदेविको श्रीमानले अर्की बिहे गरेपछि उनलाई खान लाउन समस्या भयो । उनको दुखमा मलम लगाउन रामवतिले चन्दरदेविलाई माइतमा बस्न दिइन ।

आमाको निर्णयलाई नकार्न सकेनन्, महेन्द्रले । उनकी दिदी र उनका सन्तानहरूको लालन पालनदेखि पढाई समेत जनता माध्यमिक विद्यालय पसेरामा महेन्द्र प्रसाद साहले नै गरिदिए । तर, महेन्द्रले चन्दरका छोरा जयनारायण साहले यसरी आफ्नो परिवारलाई ऋणको जालोमा पार्छन् भन्ने सोचेका थिएनन् ।  

‘भाञ्जाभाञ्जीको पालनपोषणदेखि पढाइ समेत गराएँ। भान्जीको विवाह समेत आफैले गरिदिए । आफैले हुर्काएको, बढाएको, पढाएको भान्जाले यसरी फसाउँछन् भनेर सोचको थिइन’, उनले भने ।

उनका अनुसार जयनारायणले महेन्द्रकी आमा रामवति साहलाई ललाई फकाई गरि २०६४ साल भाद्र २६ गते सात लाख रुपैयाँ लिएको भनेर कपाली तमसुक बनाए । उनका बुबासँग जय नारायणले मन्जुरनामा बनाएका छन् । मन्जुरनामा बनाएपछि उनको सबै सम्पत्तिमा जयनारायणले हक दाबी गर्दै आएका छन् ।

बिरामी आमालाई ललाई फकाइ गरेर भान्जाले तमसुक बनाइएको महेन्द्रको दाबी छ । उनी भन्छन्, ‘मेरो घरमा बसी मेरो आमाबाट कपाली तमसुक बनाएर मलाइ नै भान्जाले फसाए । मेरो आमालाई प्यारालाइसिस भएको समयमा उनले यस्तो तमसुक बनाएका हुन् । नलिएको पैसा नै नलिए पनि उनीसँग तमसुक छ।  भएको सबै सम्पत्तिमा हक दाबी गर्दै आएका छन् ।’  

जयनारायणले महेन्द्रबाट १४ कट्ठा जग्गा कब्जा गरेका छन् । त्यो जग्गा फिर्ता पाउनु पर्ने उनको माग रहेको छ । जय नारायण पढेलेखेको भएकोले आफ्नो परिवारलाई फसाएको उनको आरोप छ । जय नारायणले रामवतिसंग झुक्काएर गलत तमसुक बनाएर छाप लगाउन लगाएको उनको भनाई छ । 

‘झुटो छाप लगाएर मेरो आफ्नै भान्जाले मलाई फसाए । मलाई खाएको ऋण तिर्न कुनै आपत्ति छैन । तर, मैले कुनै ऋण खाएको छैन । खादै नखाएको ऋणको जालोमा फसाइएको छ’, उनी दुखेसो पोख्छन् ।  

उनका आमाबुवाको पाँच वर्ष अघि नै मृत्यु भइसकेको छ । बुवा आमाको मृत्यु भइसकेपछि उनलाई थप तनाव बढ्यो । भएको सम्पत्तिको सबै हक दाबी भान्जाले बनाएका छन् । केही जग्गा कब्जा समेत गरेका छन् । आफ्नो परिवार पाल्नका लागि उनी अधिया कमाइमा अरूको खेतमा काम गर्छन्।

‘दुई बिगा जग्गामा खेती गरिरहेको छु । त्यो जग्गा अर्काको हो । अधिया कमाइ गरेको हो । आफ्नो जग्गा भान्जाले कब्जा गरेको छ । छोराछोरी साना छन्, पाल्नै पर्‍यो । अरूको जग्गा कमाएर भए पनि परिवार धानिरहेको छु’, उनले आँखा भरी आँसु पार्दै भने।

विदेश जाने, पैसा कमाउने र छोराछोरीको भविष्य राम्रो बनाउने सोच्थे, उनी । तर, उनको सपना सबै  भान्जाका कारण तुहिएको उनले बताए । उनले भने, ‘विदेश गएर पैसा कमाउँछु र छोराछोरीलाई राम्रोसँग पठाउँछु, भविष्य राम्रो बनाउँछु भनेर सोचेको थिएँ। भान्जाले फसाएर अहिले न्याय खोज्दै, भौतारिदै हिँड्नु परेको छ ।’  

अहिले महेन्द्र उमेरले ४७ वर्षका भए । मलिन अनुहार र थकित शरीर लिएर भौँतारिँदै हिँड्छन् उनी। झट्ट हेर्दा लाग्छ ६५ वर्ष पुगेका हुन्। आफ्नो शरीर तिर हेर्दै उनी भन्छन्, ‘चिन्ताले निन्द्रा समेत लाग्दैन । कतैबाट न्याय पाइन्छ की भनेर हिँड्दा हिँड्दै शरीर सुकेर यस्तो भएको छ । पहिला मोटो थिएँ, अहिले यस्तो भएँ ।’

डेढ दशकदेखि उनी निरन्तर न्यायको खोजीमा छन् । पञ्चायतदेखि जिल्ला प्रशासन कार्यालय सप्तरी, प्रहरी कार्यालय, सर्वोच्च अदालतसम्मको ढोका ढकढक्याए । तर, उनले कतैबाट पनि न्याय पाएनन् । उनी जहाँ हारगुहार माग्न जान्थे त्यहाँका मानिसहरूलाई समेत जयनारायणले आफ्नो पक्षमा पार्ने गरेको उनको भनाई छ ।

‘मेरा भान्जाले सबैलाई किनिहाल्छन् । म जहाँ न्याय माग्न जान्छु त्यहाँ भान्जाको मिलेमतो हुन्छ । र, उनीहरूले मलाई उल्टै पैसा लिएको हो । तैँले तिर्नु पर्छ भनेर दबाब दिन्छन्’, उनले भने ।

आफू एउटा सामान्य किसानको छोरा भएकोले आफ्नो पहुँच त्यहाँसम्म नपुग्ने उनको गुनासो छ । उनको साथमा सबै प्रमाणहरू छन् । तर, पनि उनले न्याय पाउन सको छैनन् । अहिले विभिन्न प्रमाणका कागजातहरू झोलामा बोकेर न्यायको खोजी गर्दै उनी काठमाडौँ आइपुगेका छन् ।  

अहिले काठमाडौँका विभिन्न ठाउँमा न्याय पाउनु पर्ने भन्दै बिन्ती बिसाउँदै हिँडेका छन् । गाउँ गाउँमा सिंहदरबार भन्ने सरकारको नारालाई नै गिज्याउने गरेर न्यायको लागि काठमाडौँ आएका छन्, उनीहरू । जनप्रतिनिधि कसैले पनि आफ्नो कुरा नसुनेपछि उनीहरू काठमाडौँ आउनु परेको हो ।

आफू न्याय नपाएसम्म  घर नफर्किने अडानमा रहेका छन्, उनी। ‘मैले ऋण खाएको छैन । मेरो तमसुक फिर्ता हुनु पर्‍यो । मसँग केही बाँकी छैन । तमसुक फिर्ता नभए मैले कसरी जिउने ? कसरी परिवार पाल्ने ?’, उनले अगाडी भने, ‘मेरो माग पुरा नभए त्रिशूलीमा हाम फालेर आत्महत्या गर्छु । तर, घर फर्केर जान्न ।’  

सरकार र आन्दोलनरत मिटर ब्याज पीडितबिच ५ बुँदे सहमति भएको छ । सरकारले देखाएको आश्वासनले समेत मिटर ब्याज पीडित खुसी छैनन् । महेन्द्र जस्तै अन्य पीडितहरूले न्याय नपाएसम्म र सरकारसँग भएको पाँच बुँदे सहमति नटुंगेसम्म घर नफर्कने भन्दै काठमाडौंमै न्यायको पर्खाइमा रहेका छन् ।