शीर्षकहरू

सत्य खोल्दा पाएको यो संजाय !

सत्य खोल्दा पाएको यो संजाय !

इन्टरनेटमा फेला पर्ने जुलियन असान्जका पछिल्ला तस्बिरहरुमा जम्मा ५१ वर्ष मात्र पुगेका उनि आफ्नो उमेर भन्दा धेरै बुढा र बिरामी देखिन्छन्। उनको हालत एकदमै दयनीय देखिन्छ।

गत वर्ष बेलायतको सर्वोच्च अदालतले जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने निर्णय गरेको थियो। त्यस पछि बेलायती गृहमन्त्री प्रीति पटेलले असान्जलाई अमेरिका सुपुर्दगी सदर गरिन्। अहिले असान्जको पक्षले यो सुपुर्दगी विरुद्ध अपिल गरेको छ। 

अस्ट्रेलियन खोजी पत्रकार तथा प्रकाशक जुलियन असान्ज माथि अमेरिकामा १८ वटा मुद्दा लागेका छन्।  ती मध्ये १७ वटा जासुसी सम्बन्धी र एउटा कम्प्युटर दुरुपयोग सम्बन्धी रहेको छ। अमेरिकाले उनी माथि सैन्य प्रतिष्ठानका कम्प्युटर ह्याक गरेर गोप्य सैनिक जानकारी र कूटनैतिक सूचनाहरू विकिलिक्समा प्रकाशित गरेको आरोप लगाएको छ। 

विकिलिक्समा प्रकाशित सामग्रीहरूमा सन् २००७ मा इराकको राजधानी बाग्दादमा अमेरिकी सैन्य हेलिकप्टरले १८ जना निर्दोष नागरिकलाई मारेको ३९ मिनेट लामो भिडियो समेत थियो। मारिने मध्ये २ जना पत्रकारहरू पनि थिए।  यो भिडियो फुटेज विकिलिक्सले सन् २०१० मा प्रकाशित गरेको थियो। 

त्यस्तै, विकिलिक्सले अमेरिकाका अनेकौँ देशहरूमा रहेको राजदूतावासले पठाएको जानकारीहरू पनि थिए। यी मुद्धाहरुमा दोषी ठहरे जुलियन असान्जले मृत्युदण्ड देखि १७५ वर्षको जेल सजाय सम्म भोग्नु पर्ने छ। तर, अमेरिकाले चलाकी गर्दै बेलायती अदालतलाई के आश्वासन दिएको छ भने जुलियन असान्ज दोषी ठहरे पनि उनलाई मृत्यु दण्ड दिइने छैन। 

त्यसै गरी, अमेरिकाले जुलियन असान्जलाई 'सुपर म्याक्सी' भनिने कठोर जेलमा पनि नराखिने आश्वासन दिएको छ। तर, यी सबै अमेरिकाको बहाना बाजी मात्र हुन्।  किनकि केही वर्ष अगाडी राष्ट्रपति ट्रम्पको समयमा अमेरिकाले जुलियन असान्ज जो त्यस बेला लन्डन स्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए त्यो बेला उनको हत्या गर्न कोसिस गरेको थियो। अमेरिकाको वास्तविक उद्देश्य जुनै पनि हालतमा जुलियन असान्जलाई पक्रनु र आजीवन कारावासको सजाय दिनु रहेको छ।  

अमेरिकाको यो क्रियाकलापको मतियार आफूलाई प्रजातन्त्रको जननी ठान्ने बेलायत बनिरहेको छ। बेलायतले जुलियन असान्जलाई स्विडेनमा चलेको मुद्रामा सुपुर्दगी गर्न लागे पछि उनले इक्वेडरको राजदूतावासमा शरण लिएका थिए। जहाँ असान्ज ७ वर्ष सम्म एउटा सानो कोठामा थुनिएर बस्न बाध्य भए। 

पछि इक्वेडरको बामपन्थी सरकार परिवर्तन भएपछि त्यहाँ अमेरिका समर्थक सरकार बन्यो। जसले जुलियन असान्जलाई बेलायत सरकारलाई आफ्नो दूतावास भित्रै प्रवेश गरेर गिरफ्तार गर्न अनुमति दियो। जबकि जुन मुद्रामा जमानत तोडेको आरोपमा  बेलायतले जुलियन असान्जलाई पक्रँदै थियो त्यो मुद्दा स्विडेनले फिर्ता गरिसकेको थियो। 

बेलायतले जुलियन असान्जलाई गिरफ्तार गरेर बेलामार्स भनिने सबै भन्दा कठोर जेलमा थुनेको छ।  जहाँ बेलायतका सबै भन्दा खुँखार अपराधीहरूलाई थुन्ने गरिन्छ। जुलियन असान्जलाई यो जेलमा अत्यन्त अमानवीय व्यवहार गरिएको छ।  उनलाई  दैनिक दुई चोटि नाङ्गै पारेर शरीर जाँच गरिने र दिनमा ११ पटक सम्म हतकडी लगाइने गरिन्छ। जुलियन असान्जले बेल्मार्स जेल भित्रै आत्महत्याको प्रयास पनि गरिसकेका छन् । लामो समयसम्मको एकान्त बास र कठोर जेल जीवनका कारण जुलियन असान्जको शारीरिक र मानसिक स्वास्थ्य दयनीय बनिसकेको छ। उनलाई हल्का मस्तिष्क घात पनि भइसकेको छ।

यसै कारणलाई ध्यानमा राखेर बेलायतको तल्लो अदालतले जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने फैसला दिएको थियो। त्यो फैसलाको मुख्य तर्क थियो कि जुलियन असान्जले अमेरिकी जेलमा आत्महत्या गर्न सक्ने सम्भावना प्रबल छ। 

जुलियन असान्ज कुनै पनि आतङ्ककारी वा अपराधी होईनन । उनको कसुर केवल यही मात्र थियो कि उनले अमेरिकाको वास्तविक अनुहार संसार समक्ष उजागर गरिदिए। जुलियन असान्जले खोज पत्रकारिता मात्र गरेका थिए। तर, त्यस बापत उनले अकल्पनीय र अमानवीय दुख भोग्नु परेको छ।

आफूलाई विश्वमा प्रजातन्त्रको चौकीदार भनेर दाबी गर्ने अमेरिका र आफूलाई प्रजातन्त्रको जननी भन्ने बेलायतले एउटा निर्भीक खोज पत्रकार माथि जुन व्यवहार गरिरहेका छन् त्यसले उनीहरूले कस्तो प्रजातन्त्र र मानवअधिकारको वकालत गर्छन् त्यो प्रस्ट भएको छ। अभिव्यक्तिको स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्र केवल देखाउने दाँत मात्र रहेछन्। बेलायत र अमेरिका संसारकै सबै भन्दा भ्रष्ट र अलोकतान्त्रिक देशहरू हुन् !