शीर्षकहरू

अति धेरै गाली खाँए तर बैंक डुब्नबाट जोगाएँ: गभर्नर अधिकारी

अति धेरै गाली खाँए तर बैंक डुब्नबाट जोगाएँ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुले सही समयमा सही निर्णय गरेका कारण नेपालका बैंकहरु डुब्नबाट जोगिएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

राष्ट्र बैंकले ल्याएको कर्जा-निक्षेप अनुपात (सिडी) रेसियो सम्बन्धी नयाँ व्यवस्थाले आफूहरूलाई सकसमा पारेको बैंकर्सहरुले गुनासो गरिरहेका बेला उनको यस्तो भनाई आएको हो। उनले भने, ‘हामीले सिडी रेसियो नल्याएको भए हामि फेल हुनलाई आज अमेरिकाको बैंक भन्दा अगाडी हुन्थ्यौ ।’

अमेरिकी र युरोपेली बैंकहरुमा हाल देखिएको समस्याको असर नेपाली बैङ्किङ क्षेत्रमा समेत पर्छ कि भन्ने आम चिन्तालाई सम्बोधन गर्दै उनले अहिले विदेशी बैंकमा आएका समस्याहरूले नेपालमा असर नहुने स्पष्ट पारे। ती बैंकहरुमा नेपालको कुनै पनि लगानी नरहेको समेत उनले जानकारी दिए।

राष्ट्र बैंकको नेतृत्व कर्ताको रुपमा आफुले राम्रा काम गर्दा समेत धेरै गाली खाएको उनले गुनासो समेत गरे । उनले कार्यक्रमका सहभागीलाई इङ्गित गर्दै भने, ‘सायद यहाँ हुनु भएकोहरु मध्ये सबैभन्दा बढी मैले नै गाली खाएको छु होला । मैले जति गाली खाएको अरू हुनुहुन्न होला । तर, राम्रा काम गर्दा गाली खाएको छु । सबैको हाइहाइ मात्र हुनु खोजेको थिएँ भने अहिले सुधार हुने दिन देख्दैनौँ थियौँ ।’

आम रुपमा अहिले सबैले सोचेजस्तो आर्थिक वृद्धिदर हुने कुरामा उनले शंका व्यक्त गरे। उनले भने,'हामीले सोचे जस्तो ढंगले आर्थिक वृद्धिदर नहुन सक्छ।' यसका साथै उनले निजी क्षेत्रको मनोबल गिरेको पाइएको समेत बताए ।

गभर्नर अधिकारीले भने, ‘आर्थिक स्थिति शिथिल हुँदै जाँदा बजारमा नैराश्य बढेको देखिन्छ । खासगरि निजी क्षेत्रको मनोबल अलिकति गिरेको हामीले पाएका छौँ । डिमान्ड घटेर गएको देख्दा यसको असर व्यक्ति व्यक्तिमा परेको देखिन्छ ।’

समग्रमा नेपालको आर्थिक सूचकाङ्क त्यति बिग्रिसकेको अवस्था नभएको उनको जिकिर थियो। सबैजसो सूचकाङ्क सकारात्मक नै रहेको उनले बताए । त्यस्तै, रेमिट्यान्स आप्रवास राम्रो भएकोले बाह्य क्षेत्रको सुधारमा समेत राम्रो टेवा पुगेको उनले सुनाए । यसका साथै उनले पछिल्लो समय वित्तीय संस्थाहरूको अस्वस्थ प्रतिस्पर्धालाई रोक्नका लागि नै मर्जरको नीति ल्याइएको बताए ।

यस्तै, ब्याजदरहरू गत महिनादेखि नै घट्न थालेकोले अब नबढ्ने उनले जानकारी दिए । गभर्नर अधिकारीले भने, ‘तरलता सहज हुँदै जाँदा बैंकहरुले ब्याजदर घटाउन थालेका छन् । ब्याजदर घट्ने क्रम गत महिनादेखि नै सुरु भइसकेको छ । आउने दिनहरूमा पनि यो भन्दा माथि ब्याजदर जाने अवस्था छैन । क्रमश घट्दै नै जान्छ ।’

उनका अनुसार राजस्व संकलन बढाउनका लागि हामीलाई निकै चुनौतीपूर्ण रहेको छ । निजी क्षेत्रको आम्दानीहरू घटेको अवस्था छ । आयातबाट पनि राजस्व संकलन धेरै हुने देखिँदैन । तरलता सहज बने पनि ऋणको माग भने बैंकहरुमा नआएको उनले बताए। उनले भने ‘अहिले पनि सही डिमान्ड आएको नै छैन । ब्याज तिर्नलाई मात्रै ऋण माग्न आउनेहरू रहेका छन्। राम्रो डिमान्ड आएको नै छैन।'

पछिल्लो समय लघुवित्त आएको विभिन्न कुराहरूलाई हेरेर यसको सुरुवात नै ठिक थिएन भन्ने निष्कर्ष निकाल्नु नहुनेमा उनको जोड थियो। लघुवित्तको सुरुवात नै राम्रो थिएन भन्न नमिल्ने बताउँदै उनले भने ‘लघुवित्त प्रतिको धारणा आफ्नो-आफ्नो हुनसक्छ । तर, जुन बेला बैंकहरुले एउटा तहको ग्राहकलाई सेवा पुर्‍याउन सकेन । सानो ऋण दिन सकेन । त्यहाँ लघुवित्तले सेवा दिएको देखिन्छ।

गभर्नर अधिकारीले भने, ‘सानो ऋण लिएर आफ्नो परिवारको उत्थान गर्नेहरू पनि थुप्रै छन् । कयौँ मानिसहरूको जीवनस्तर उकासेको छ, लघुवित्तले । कतिपय ठाउँमा लघुवित्तहरूले गरेको राम्रा कामहरू धेरै नै छन् । यसले गर्दा लघुवित्त सुरुवात राम्रो थिएन भन्ने निष्कर्ष निकाल्न हुँदैन ।’

उनका अनुसार पछिल्लो एक दशकको समयमा लघुवित्तहरूको सख्यात्मक वृद्धि अत्यन्तै भएको छ । संख्यात्मक हिसाबले बढी हुँदा टार्गेट पुर्‍याउनका लागि नै ऋण प्रवाह गरेको पाइन्छ । यसले केही समस्या आएको हुनसक्छ । तर, यती विकृति आयो भन्दैमा सबैलाई बढार्न हुँदैन भनेर राष्ट्र बैंकले काम गरिरहेको छ ।