शीर्षकहरू

कालोसूचीबाट हट्यो कान्तिपुर सहकारी

कालोसूचीबाट हट्यो कान्तिपुर सहकारी

काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ कालोसूचीबाट हटेको छ । कर्जा सूचना केन्द्रले गत फागुन ५ गते कालोसूचीमा राखेको सो सहकारी यस्तो सूचीबाट हटेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल चन्द्र अधिकारीले जानकारी दिएका हुन् । 

पछिल्लो समय सहकारीहरु धमाधम कालोसूचीमा पर्दै आएका छन् । कतिपय सहकारी भने समस्या समाधान गर्दै सूचीबाट हट्ने पनि भइरहेको छ । यही क्रममा कान्तिपुर सहकारी सूचीबाट हटेको हो । 

अधिकारीले कान्तिपुरलाई कालोसूचीबाट हटाउनुको कारण प्रष्ट्याउँदै आर्थिक न्युजसँग भने, ‘यो सहकारी सिन्धु विकास बैंकको चेक बाउन्सको कारण कालोसूचीमा परेको थियो । तर, सो विषयलाई संम्बोधन गरेसँगै फागुन २६ गते नै कालोसूचीबाट हटिसकेको छ ।’

उनका अनुसार जुन व्यक्तिलाई काटेको चेक बाउन्स भएको थियो । सो व्यक्तिले पाउनु पर्ने पैसा पाएपछि कालोसूचीबाट फुकुवा गरिदिनु भनेर बैंकमा निवेदन दिनुपर्छ । यसरी कान्तिपुरलाई कालोसूचीमा राख्न आवेदन दिने व्यक्तिले पैसा प्राप्त गरेपछि फुकुवाका लागि गरेको अनुरोधका आधारमा बैंकले सिफारिस गरेपछि कान्तिपुर केन्द्रको कालोसूचीबाट हटेको हो । 

काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले गत भदौदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि समस्यामा परेको थियो । यसरी समस्यामा परेसँगै पीडितहरुको आग्रहमा केन्द्रले कालोसूचीमा समेत राखेको थियो । 

विगत २५ वर्षदेखि सञ्चालनमा रहेको सो सहकारीले बचत रकम फिर्ता नदिएको भन्दै सदस्यहरुले आन्दोलन समेत गरेका थिए । हाल उक्त सहकारीमा २० हजार भन्दाबढी सदस्यहरु रहेका छन् । 

कसरी पर्छन् र हट्छन् कालोसूचीबाट

कुनै पनि व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई जारी गरेको चेक प्रापक व्यक्ति वा संस्थाले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा भुक्तानी लिन जाँदा जारी गर्ने व्यक्ति वा संस्थाको खातामा पर्याप्त रकम नभई सो चेकमा उल्लेखित बराबरको रकम प्राप्त गर्नुपर्ने व्यक्तिले भुक्तानी नपाउने अवस्थालाई चेक बाउन्स भनिन्छ ।    

बैंकको नियम अनुसार कुनै पनि व्यक्ति वा फर्मले आफ्नो खातामा भएको मौज्दात भन्दा बढी रकमको चेक जारी गर्न नपाउने ब्यवस्था छ । विभिन्न व्यवहारिक कठिनाइ तथा ब्यबसायिक सहजताका लागि विभिन्न व्यक्ति तथा फर्मले भविष्यमा यो दिन खातामा पैसा आउँछ अनि भुक्तानी लिनु भन्ने सर्तमा जारी गरेको चेक सो मितिमा नसाटिएको अवस्थामा भुक्तानी लिने व्यक्तिले चेक बाउन्स गर्न सक्छ ।  

यदि कुनै व्यक्ति वा फर्मले अनादर हुनेगरी चेक जारी गरेमा त्यस्तालाई कालो सूचिमा राखेर कारोबार रोक्न सकिन्छ । कालोसूचीमा दर्ता हुने विविध कारणहरू मध्ये अनादर चेकको भुक्तानी तथा कानुनी न्यायका लागि कुनै पीडित ग्राहकले चेक जारी भएको मितिले ६ महिना भित्र सम्बन्धित बैंकमा गई चेक जारी गर्ने व्यक्ति वा फर्मलाई कालो सूचिमा राखिपाऊ भनी आवश्यक कागजात सहित निवेदन दिएमा सो प्रक्रिया अघि बढाउन सकिन्छ ।  

कुनै पनि बैंकमा कुनै व्यक्ति वा फर्मलाई कालो सुची दर्ताको प्रक्रिया सुरु गरेर बिचमा दुई पक्ष बीच आपसी समझदारी भई लेनदेनको कुरा सहज रूपले सम्पन्न हुन्छ र आपसी व्यवहार मिलेको खण्डमा निवेदकले अर्को निवेदन बैकमा दिई सो प्रक्रिया रद्द गर्न अथवा केही समयको लागि स्थगित पनि गर्न सक्दछ।

यदि प्रक्रिया स्थगित गरेको अब धिमा समेत भुक्तानी पाउनु पर्ने पक्षले रकम नपाएमा लिखित निवेदन बैंकमा दिई पुन प्रक्रिया सुचारु गर्न सकिन्छ ।

यसरी कालोसूचीमा दर्ता भएका खातामा मौज्दात राख्ने बाहेक अन्य कुनै पनि कारोबार गर्न मिल्दैन । भुक्तानी पाउनु पर्ने व्यक्ति वा फर्मले पूर्ण रकम भुक्तानी पाए पछि उक्त व्यक्ति वा फर्मले कालोसूची दर्तामा रहेको व्यक्ति वा फर्मलाई कालोसूचीबाट हटाउन निवेदन दिई सम्बन्धित व्यक्ति वा फर्मलाई कालोसूचीबाट हटाउन सकिन्छ ।