शीर्षकहरू

‘ट्री अफ द इयर नेपाल २०२२’ घोषणा, अस्मिता सिग्देल बनिन् विजेता

‘ट्री अफ द इयर नेपाल २०२२’ घोषणा, अस्मिता सिग्देल बनिन् विजेता

काठमाडौं । ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विजेता घोषणा गरिएको हो ।  

‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता अस्मिता सिग्देल बनेकी छिन् । उनले एक लाख रुपैयाँ नगद हात पारेकी हुन् । त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद ६० हजार रुपैयाँ हात पारेका छन् भने तेस्रो श्रेयसि विष्ट भएकी छिन् । उनले पनि ४० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।     

‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा. संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए । जसको बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैंक रहेको थियो ।

रूखसँगै मानिसको मन छुने कथाहरू संकलन गरेको ‘ट्री अफ द इयर नेपाल’ कार्यक्रमको यो छैठौँ संस्करण हो । विशेष महत्त्व बोकेको प्राचिन रुखहरूको पहिचान र संरक्षणका लागि क्रियसन नेपालले ‘ट्री अफ द इयर नेपाल’ अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम मनाउँदै आएको क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘हामीले यो कार्यक्रम विगत ६ वर्षदेखि मनाउँदै आएका छौं । हामी एक अर्कामा जोडिनका लागि यस्तो कार्यक्रम मनाउनु पर्छ भनेर शुरु गरिएको थियो । त्यही सोचलाई आज पनि निरन्तरता दिइरहेका छौँ । रूखको महत्त्व बुझाउने यस्ता कार्यक्रम निरन्तर गर्दै जानु पर्छ ।’  

‘ट्री अफ द इयर नेपाल’ प्रतियोगिता गर्न नेपालमा क्रियसन नेपालले सर्टिफिकेट पाएको छ । यस प्रतियोगितामा कुनै पनि कथा बोकेको रुखको फोटो मोबाइलबाट खिचेर जो कोहीले भाग लिन पाउने क्रियसन नेपालकी सचिव सुजता कोइराला बताउँछिन् । उनी भन्छिन्, ‘ट्री अफ द इयर नेपाल रुखहरूको एउटा फोटोग्राफी प्रतियोगिता हो । नेपालभर लुकेका रुखहरूको कथा बाहिर ल्याउनका लागि क्रियसन नेपालले यस्तो कार्यक्रम गर्दै आएको छ । यसमा नेपालभरबाट जसले पनि भाग लिन पाउँछन् ।’ 

प्रतियोगिताको निर्णायक तथा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रञ्जित आचार्यले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्ने बताए । उनले भने, ‘अहिलेले युवापुस्ताहरू वाइफाइको टावर गयो भने सास फेर्न नै गाह्रो भएझैँ गर्छन् । तर, यदि रुखले अक्सिजन दिन छाड्यो भने के हुन्छ भनेर त्यो सोचका हुँदैनन् । त्यसैले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्छ ।’  

त्यस्तै, यस प्रतियोगिताको निर्णायक समेत रहेका फोटोग्राफर चुङबा शेर्पाले व्यवसायिकरुपमा फोटोग्राफी क्षेत्र नरोजेको सुनाए । उनले भने, ‘व्यवसायमा लागेर पैसा कमाउँछु भने मैले फोटोग्राफी रोजेको होइन । नेपालमा फोटोग्राफी क्षेत्रको क्षमता बढाउन आवश्यक रहेको छ । त्यसको लागि म लागिरहेको छु ।’   

कार्यक्रममा माछापुच्छ्रे बैंकका चिफ बिजनेस अफिसर टिका भट्टराईले माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताए । उनले भने, ‘हाम्रो बैंकले आफ्नो नाफा अन्तगर्तको केही हिस्सा सामाजिक उत्तरदायित्व क्षेत्रमा खर्च गर्दै आएको छ । अन्य क्षेत्रमा पनि हाम्रो बैंकले विभिन्न सहयोग गर्दै आएको छ ।’