शीर्षकहरू

डीडीसीले दुई महिनामै तिर्न बाँकी राख्यो किसानको भुक्तानी

डीडीसीले दुई महिनामै तिर्न बाँकी राख्यो किसानको भुक्तानी

काठमाडौं । दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । 

काभ्रेका किसान रामप्रसाद सापकोटाले दुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताए । “घरखर्चदेखि बच्चाबच्ची पढाउने दूध बचेको पैसाले हो, समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको छ,” उनले भने । दूध बिक्री गरेको एक लाख ५० हजार रुपियाँ पाउन बाँकी रहेको उनले जानकारी दिए । 

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले मुलुकभर दुग्ध विकास संस्थानबाट दुई महिनाको ४० करोड रुपियाँ र निजी डेरी उद्योगबाट तीन महिनाको रकम पाउन बाँकी रहेको उनले जानकारी दिए । 

“बजारमा चोकर दाना र परालको मूल्य बढेको छ, पशुआहारको मूल्य बढ्दा किसानको लागत बढेको र समयमा दूध बिक्री गरेको रकम नपाउँदा किसान व्यवसायबाट पलायन हुने अवस्था आइसकेको छ,” उनले भने । 

डीडीसीले दूध खरिद गरेबापत किसानको ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । डीडीसीले पुस महिनासम्मको किसानलाई दूधको रकम भुक्तानी गरेको तर माघ र फागुन महिनाको भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

इन्धनको मूल्य वृद्धिसँगै ढुवानी भाडा बढेकाले किसानको लागत मूल्य नै उच्च भएको र दूध बिक्री गरेको रकम समयमा पाउन नसक्दा पशुलाई आहार खुवाउन नसक्दा दूधको उत्पादन घट्दै गएको किसानको गुनासो छ । 

किसानले दूध बिक्री गरेको रकम १५र१५ दिनमा दिनुपर्ने भए पनि पछिल्लो समय दुई महिनादेखि भुक्तानी रोकिएको उनको भनाइ छ । दूधको मूल्य बढेर प्रतिलिटर ६५ रुपियाँ पुगेको छ । बढेको मूल्य गत चैत १ देखि लागू भएको छ । किसानले प्रतिलिटर दूधमा ६५ रुपियाँ पाउने गर्छन् ।

कारोबार घट्दा भुक्तानीमा समस्या
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बजार मागअनुसार पर्याप्त दूध नहुँदा कारोबारमा कमी आई समयमा किसानको रकम भुक्तानी गर्न नसकिएको स्वीकार गरे । बजारमा दूधको अभाव हुँदा दूध मात्र बिक्री गरिएको र घिउ र बटर बिक्री गर्न नसकेको उनले जानकारी दिए । 

“सामान्य अवस्थामा दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने गरिएको थियो, अहिले ९५ हजारदेखि एक लाख लिटर सङ्कलन हुन्छ,” उनले भने । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध अपुग रहेको उनले जानकारी दिए । 

भदौ र चैतसम्म दूध उत्पादन हुने सिजन भए पनि बजारमा अभाव रहेको डीडीसीले जनाएको छ । बजार मागअनुसार दूध उपलब्ध नहुँदा मुस्किलले दूध वितरण गरिएको तर घिउ र बटर बिक्री गर्न नकिएको डीडीसीले जनाएको छ ।