शीर्षकहरू

आर्थिक मन्दीले झ्याप्पै छोप्यो, सहकारीमा कालोधन छिर्योः अध्यक्ष गोल्छा

आर्थिक मन्दीले झ्याप्पै छोप्यो, सहकारीमा कालोधन छिर्योः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभिन्न परिसूचकहरुले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएता पनि वास्तवमा नेपाली अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै क्षेत्रहरुमा आर्थिक मन्दी र सुस्तता छाएको उदाहरणहरु पेश गर्दै यस्तो बताएका हुन् । 

उनले वितरणमुखी मानसिकताबाट बाहिर निस्कनुपर्नेमा पनि जोड दिएका छन् । सो कार्यक्रममा बोल्दै उनले अब विकासमा मात्रै खर्च गर्ने गरी कडा र परिपक्क निर्णय नगर्ने हो भने मुलुकको अर्थतन्त्रले नयाँ गति लिन नसक्ने बताएका छन् ।

उनले भने, ‘अब वितरण मुखी माइन्स सेट बाट बाहिर निस्कनुपर्छ । खाईपाई आएकाहरुलाई त्यस्तो रकम रोक्दा अलोकप्रिय त बनिन्छ । तर, त्यसो नगर्ने हो भने यो देशमा दिर्घकालिन समृद्धि सम्भव छैन ।’ 

उनले भौतिक पूर्वाधारमा खर्च गर्ने, खर्च गर्ने क्षमता बढाउने र मानसिकतामा परिवर्तन गर्ने काम अनिवार्य रुपमा गर्नुपर्नेमा जोड दिए ।विभिन्न परिसूचकहरुले मुलुकको अर्थतन्त्र सुधार भएको देखाएता पनि वास्तवमा नेपाली अर्थतन्त्र कहाँ र कस्तो रुपमा संकटमा छ भन्ने उदाहरण समेत पेश गरेका छन् । 

उनले भने, ‘औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा ठूलो मात्रामा रोजगारी गुमिरहेको छ । यो आर्थिक मन्दीको स्पष्ट सूचक हो ।’ त्यसबाहेक डिजेलको खपतमा आएको गिरावटलाई पनि उनले आथिर्क मन्दीको सूचकको रुपमा पेश गदै उनले भने, ‘अरु पनि धेरे इन्डिकेटरहरु छन् । जसले हाम्रो अर्थतन्त्र अत्यन्तै सुस्त बनाइरहेको छ । यो. स्तरको सुस्तता कहिल्यै छाएको थिएन ।’

त्यसबाहेक निर्माण व्यवसाय र अटोमोबाइल्सको क्षेत्रमा डरलाग्दो शिथिलता छाएको उनले बताए । अध्यक्ष गोल्छाले भने, ‘निर्माण व्यवसायमा ५० प्रतिशत भन्दाबढीले सुस्तता छाएको छ । अटोमोबाइल्समा त्यस्तै छ । अझ सार्वजनिक यातायातमा ९० प्रतिशतले मन्दी छाएको देखिन्छ ।’ सरकारको राजस्व संकलनका प्रमुख क्षेत्रहरुमा यस प्रकारको सुस्तता आर्थिक संकटको गम्भिर सूचकका रुपमा रहेको उनले बताए ।

हाल सहकारी क्षेत्रमा देखा परेको आर्थिक संकटको कारणबारे उनले भने, ‘अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेका सहकारीमा राज्यले ठूलो लगानी गरेको छ । जसमा ५० लाख भन्दाबढी सदस्यहरु आवद्ध छन् । तर, सहकारीमा राजनीति र कालोधन छिरेको छ । जसले गर्दा कमजोर बनेको हो ।’

अध्यक्ष गोल्छाले सहकारीहरुलाई अनुगमन र नियमन गर्नुपर्ने कुरामा जोड दिए । लघुवित्त र सहकारीहरुमा नियमनको अभाव कै कारण डरलाग्दो संकट देखा परेको उनले बताए ।

पछिल्लो समय ११ महिनाका लागि वस्तु र सेवा आयात गर्न सक्ने गरी मुलुकमा विदेशी मुद्रा सञ्चिति हुन खुशीको कुरा रहेको उनले बताए । रेमिट्यान्समा भएको बढोत्तरीले यस्तो अवस्था आएकोमा उनले खुशी व्यक्त गरे । तर, देशका यवाहरु पलायन भएर विदेश जाँदा कस्तो सामाजिक संरचनाको विकास हुँदैछ भन्ने कुराको भने उनले चिन्ता व्यक्त गरे । 

हाम्रा छिमेकी मुलुक श्रीलंका, पाकिस्तान र बंगलादेशको तुलनामा मुद्रास्फिति दर पनि नियन्त्रणमा रहेको भन्दै उनले खुशी व्यक्त गरे । तर, राष्ट्र बैंकको तथ्यांक र बजारको उपभोक्ताले भागेको यथार्थबीच तालमेल नखाएको भन्ने विषय बहसका रुपमा रहेको पनि उनले स्वीकार गरे । 

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको मूल्यमा देखिएको स्थिरतालाई पनि उनले सकारात्मकताका रुपमा रहेको चर्चा गरे । हालसम्म कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र राष्ट्रिय ऋण रहेकोले संकटमा परेको अन्य मुलुकको जस्तो स्थिति आईहाल्ने सम्भावना हाल नरहेको उनले बताए ।

उनले हाम्रा आर्थिक स्रोतहरु ब्याज तिर्नमा नै खर्च भइरहेको बताउँदै अब नयाँ ढंगले हिड्नुपर्नेमा जोड दिए ।  उनले भने, ‘यसरी मुलुकको साधारण खर्चका ठूलो रकम गएका कारण विकासका लागि खर्चको अभाव छ र रकम भएपनि विकास खर्च गर्न सक्ने अवस्था छैन । जबसम्म विकास खर्च हुँदैन । हाम्रो व्यापरमा भइरहेको अधिक लगानी पनि कम हुँदैन फलस्वरुप हाम्रो अर्थतन्त्र आयातमुखी नै रहन्छ ।’