शीर्षकहरू

किसानको दबाव सामु झुक्यो सरकार, मलको मूल्य र अनुदान यथावत् राख्ने निर्णय

किसानको दबाव सामु झुक्यो सरकार, मलको मूल्य र अनुदान यथावत् राख्ने निर्णय

काठमाडौं । रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । सरकारले यसअघि आर्थिक भार अत्यन्तै ठूलो भएको भन्दै रासायनिक मलमा दिँदै आइएको अनुदान कटौटी गर्न अलोकप्रिय निर्णय गरेको थियो । 

सो निर्णयका विरुद्ध विभन्नि राजनीतिक दलका भातृ संगठनका रुपमा रहेका किसान संगठनहरुले आन्दोलनका घोषणा गरिसकेका थिए । वर्तमान सरकारबारे आम किसानहरुको धारणा नै नकारात्मक बन्ने र त्यसले दिर्घकालिन राजनीतिक क्षति पुर्याउने देखिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

मन्त्रीपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।