शीर्षकहरू

‘सहकारीले मेरो लास बेवारिसे छाड्दैन भन्ने विश्वास सबै सदस्यमा पुर्याएका छौँ’

‘सहकारीले मेरो लास बेवारिसे छाड्दैन भन्ने विश्वास सबै सदस्यमा पुर्याएका छौँ’

अहिले सहकारीहरू समस्यामा परेका, सञ्चालक भागेका र कालोसूचीमा सूचीकृत भएका जस्ता नकारात्मक समाचारहरू दिनदिनै पढ्न, सुन्न र हेर्न पाइन्छ। तर, त्यस्ता धेरै सहकारीहरू छन् जसलाई सहकारीको सङ्कटले छुने कुनै गुञ्जायस नै देखिँदैन। यो बेला समेत आफ्नै सुरमा बिना कुनै मानसिक तथा आर्थिक दबाब निरन्तर आफ्ना सदस्यहरूलाई सेवा प्रदान गर्दै रहेको सहकारीको रुपमा रहेको स‌स्था हो, चन्द्रागिरि बचत तथा ऋण सहकारी। यसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण कुमार श्रेष्ठ हाल कतिपय सहकारीमा देखिएको समस्याको जड स्वयम् त्यसका सञ्चालक नै रहेको जिकिर गर्छन्। प्रस्तुत छ, सहकारीका समस्या र कारणबारे उनै कृष्ण कुमारसँग आर्थिकन्युजकी सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंश : 

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थालाई के भनेर चिनाउनु हुन्छ ?

यो सहकारी आज भन्दा २२ वर्ष अगाडी अर्थात् बि.स. २०५८ साल वैशाख ६ गते सीमित व्यक्ति र सीमित पुँजी सङ्कलन गरेर सुरु गरिएको संस्था हो । जम्मा २५ जना स्थानीय किसान, बेरोजगार व्यक्तिहरू र सामाजिक अभियन्ताले सुरुवात गरेको यो संस्थामा अहिले १६ हजार ९८४ जना सदस्यहरू आबद्ध हुनुहुन्छ । थोरै पुँजीबाट सुरु भएको संस्था अहिले फागुन मसान्तसम्म आइपुग्दा ३ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेर सदस्यहरूलाई सेवा दिइरहेको अवस्था छ । विभिन्न आरोह र अवरोह पुरा गरी वित्तीय बजारका विभिन्न चक्रहरूको अनुभव गर्दै यो संस्थाले परिपक्व हुँदै सदस्यहरुलार्ई सर्वप्रिय सहकारी वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

कति लगानीमा सुरु गर्नु भएको थियो ?

यो संस्था २५ जनाले एक/एक हजार रुपैयाँ सङ्कलन गरेर २५ हजार रुपैयाँबाट सुरुवात भएको हो । सुरुमा २५ हजार रुपैयाँ पनि लगानी गर्ने अवस्था थिएन । बचतको अवधारणाबाट सुरु भएको संस्था हो, यो । पछि लगानी र बचतका सेवालाई विविधिकृत गर्ने हिसाबले लगानीमा पनि जोड दिन थालियो ।

संस्था स्थापनाको उद्देश्य थानकोटको महादेवस्थान गाविस र आसपासका क्षेत्रको समुदायमा भएको आर्थिक विपन्नता, गरिबीलाई हटाउने भनेर सुरुवात गरिएको थियो । लगानी मार्फत आर्थिक सशक्तीकरण गर्ने भन्ने ठुलो सपना बोकेको थिएन । बचतको माध्यमबाट एक अर्कालाई सहयोग गर्ने र आर्थिक गर्जो टार्ने भन्ने सानो सोचबाट नै सुरुवात भएको हो । तर, अहिलेको अवस्थामा व्यवसायी भएर पनि जान सकेका छौँ ।

यसको सेवा केन्द्र र कर्मचारीहरू कति छन् ? 

यसको सेवा केन्द्र दुई वटा रहेका छन् । मुख्य कार्यालय र दुई सेवा केन्द्र स्थापना गरेर सञ्चालन गरेका छौँ। ती सेवा केन्द्रहरू पनि संस्था एकीकरण गरेर सञ्चालन गरेका हौँ । एउटा ललितपुरको खुमलटारमा र अर्को चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १२ दहचोकमा छ । अहिले सबैतिर गरी ४७ जना कर्मचारी रहेका छन् ।

बचत र ऋणको ब्याज कति छ ?

सहकारीको ऋणको ब्याजदर सन्दर्भ ब्याजदरले तोकेको अनुसार १६ प्रतिशत रहेको छ । त्यस भन्दामाथि कुनै पनि ऋणका शीर्षकमा ब्याजदर छैन । न्यूनतममा १४ प्रतिशतदेखि अधिकतममा १६ प्रतिशत ब्याजदर ऋणमा कायम भएका छन् । बचत तर्फ ऐच्छिक बचतमा ७.५ देखि ८ प्रतिशत, ९.२५ प्रतिशत सम्मको रहेका छन् । बचतको प्रोडक्ट अनुसार फरक फरक रहेका छन् । आवधिक बचतमा न्यूनतम १२.५ प्रतिशतदेखि अधिकतम १३.५ प्रतिशतसम्म रहेको छ ।

ऋणको अवधि कतिसम्मको छ ?

ऋणको अवधि अधिकतम ८ वर्षसम्म दिन पाउन प्रावधान रहेको छ । यद्यपि हामीसँग उपलब्ध रहेको फन्ड अनुसार अधिकतम ५ वर्षसम्म लगानी गर्ने गरेका छौँ । थोरै लगानी ५ वर्षको छ भने धेरै लगानी ३ वर्षसम्मको रहेको छ ।

सहकारीको लगानी कुन–कुन क्षेत्रमा छ ?

लगानी हामीले धेरै क्षेत्रमा गरेका छौँ । त्यसमा पहिलो प्राथमिकतामा उद्यमशीलता, व्यापार व्यवसाय, सदस्यहरूको समृद्धि निर्माणका लागि घर घडेरी किन्न, शैक्षिक प्रयोजन, वैकल्पिक ऊर्जामा लगानी गरेका छौँ । वैकल्पिक ऊर्जामा विशेष गरी इलेक्ट्रिक गाडी खरिदमा पनि ऋण लगानी गरेका छौँ । पहिले वैदेशिक रोजगारीमा पनि लगानी गरेका थियौँ ।

पछिल्लो समयमा भने देशभित्र नै केही गर्नुपर्छ भनेर उद्योग र व्यवसायलाई प्राथमिकतामा राखेका छौँ । त्यसैगरी, कृषि र युवा उद्यमशीलता ऋण पनि रहेको छ । युवा उद्यमशीलता ऋणमा अन्य ऋणको ब्याजको तुलनामा १ प्रतिशत कम ब्याजमा ऋण लगानी गर्छौ । त्यस्तै, प्रोफेसनल लोनमा विशेष पेसा भएका डाक्टर, इन्जिनियर, पिएचडी होल्डर्स लगायतका सदस्यहरूका लागि लगानी गर्ने गछौं । आजसम्म हामी २१ वटा शीर्षकमा ऋण लगानी गर्ने गरेका छौ ।

अहिलेसम्म कति ऋण लगानी गर्नुभएको छ ? लगानी भएको ऋणको जोखिम कति छ ?

फागुन मसान्तसम्मको रिपोर्ट अनुसार २ अर्ब २ करोड रुपैयाँ रकम सदस्यहरूलाई लगानी गरेका छौँ । ऋणको जोखिम कसरी लगानी गर्ने भन्नेमा भर पर्छ । लगानी गर्ने बेलामा नै विश्लेषण गरेर सदस्यहरूको तिर्न सक्ने क्षमतालाई गहन रुपमा अध्ययन गरेर लगानी गरियो भने ऋण असुलीमा समस्या हुन्न । लगानी गर्ने बेलामा धितो मात्र हेरेर लगानी गरियो भने समस्या आउँछ । ऋण असुलीमा प्रभाव पार्ने बाह्य तत्त्वहरू पनि हुन्छन् । त्यसमा अर्थ बजारमा देखा पर्ने विभिन्न उतार चढावहरू रहेका छन् । त्यसले पनि ऋण असुलीमा असर पार्छ ।

सहकारीका कोषहरू के के छन् ?

संस्थाका कोषहरूमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले व्यवस्था गरेको सबै कोषहरूमा संस्थाले आफ्नो नाफाबाट विभाजन गरेर व्यवस्था गर्ने गरेको छ । अर्को सदस्यको हितको लागि भनेर हित कोष खडा गर्छौँ । त्यसमा सदस्यहरूको राहतको कार्यक्रमहरू सञ्चालन गर्छौ ।

तरलताको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

हामीले अहिलेसम्म तरलताको अभावको स्थिति भोग्नु परेको छैन । फागुन मसान्तसम्म पनि हामीसँग झन्डै २७ प्रतिशत तरलता रहेको छ । २ अर्ब ५१ करोड रुपैयाँ बचत छ । यस अवधिमा २ अर्ब २ करोड रुपैयाँ मात्र ऋण लगानी गरेका छौँ । त्यस लगायत साढे १७ करोड रुपैयाँ शेयर पुँजी छ । जगेडा कोष र अन्य कोषमा गरेर २० करोड रुपैयाँ रहेको छ । हाम्रो संस्थामा तरलताको मजबुत अवस्था रहेको छ । ठुलो रकमको बचत फिर्ता गर्नुपर्‍यो भने पनि त्यसको तयारी अवस्थामा छौँ ।

बजारमा देखिएको हल्लाको असर यो सहकारीमा कति परेको छ ?

बजारमा देखिएको हल्लाले संस्थाभित्र प्रवेश नगर्नुभएका नयाँ सदस्यहरूलाई आबद्ध गराउन खोज्दा 'सहकारीमा पनि सदस्य बन्ने र ?' भन्ने कुरा चैँ सुनिन्छ । तर, हामीसँग आबद्ध भएका सदस्यहरूलाई नियमित रुपमा सदस्य शिक्षा कार्यक्रमहरू गरेर सदस्यहरूसँग सम्पर्कमा रहेका कारणले गर्दा पनि बजारको असरको परेको छैन ।

सहकारीहरू बारे अहिले मानिसहरूको दृष्टिकोण सकारात्मक बनेको छैन । यसमा तपाईहरुको दोष कति ?

सहकारी क्षेत्रको कुरा गर्दा वास्तविक रुपमा सहकारी बन्नु पर्नेमा कता–कता कम्पनी र बैंक बनेको हो कि जस्तो गरी सञ्चालन भएका सहकारीका समस्याका कारणले गर्दा अहिले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो । अभियानको रुपमा भन्नुपर्दा थोरै हिस्सा हाम्रो भागमा पनि आउँला । तर, यो सहकारीको मूल्य मान्यता र सिद्धान्त भन्दा बाहिर नगई  सेवा प्रदान गरेका कारण बजारमा अहिले देखिएको समस्यामा हाम्रो सहकारीको भूमिका छ भन्ने लाग्दैन ।

सहकारीका सञ्चालकहरूले आफू खुसी असुरक्षित ढङ्गले घरजग्गामा लगानी गरेका कारण सङ्कट आएको हो भनिन्छ । यसमा सत्यता कति छ ?

यो सुशासकीय पक्ष हो । सहकारीका सञ्चालक, व्यवस्थापन, बचत सङ्कलन गरेर सङ्कलित रकम आफूखुसी एउटै क्षेत्रमा संयमित नभई लगानी गरेका कारण समस्या आएको कुरा हामीले पनि सुनेको कुरा हो । समस्याको केही न केही कारण हुन्छ । त्यसमा यो पनि हुन सक्छ । सम्पत्ति र दायित्व व्यवस्थापन गर्ने, लगानीलाई प्राथमिकीकरण गर्ने, सुशासनलाई संस्थामा प्रत्याभूति गर्ने र स्वनियमनलाई प्रत्याभूत गर्ने हो भने समस्या आउँदैन ।

तपाईहरुले लगानी गर्ने बेलामा नै हेक्का नपुर्‍याएको हो वा जानीजानी जोखिम उठाएको हो ?

मान्छेहरूमा लोभ जागेपछि कतिपय अवस्थामा जानी जानी पनि जोखिम उठाएको पनि हुनसक्छ । अर्को कुरा सहकारी चलाउन धेरै जान्ने मान्छेको पनि आवश्यकता पर्दैन भन्ने मानसिकताले गर्दा पनि आम सदस्यहरूले जम्मा गरेको बचतको परिचालन गर्न नजानेर पनि गल्ती भएको छ । वित्तीय ज्ञान, सिप र क्षमता नभएका कारणले पनि गल्ती भएको छ ।

नियामकको स्पष्ट कानुन र सहकारी प्रतिको नीतिगत अस्पष्टताको अनावश्यक फाइदा तपाईहरुले उठाएको होइन भनेर कसरी मान्ने ?

सहकारी संस्थाहरूले धेरै फाइदा उठाउने ठाउँहरू छन् । त्यसैको परिणाम पनि हो, अहिलेको स्थिति । स्वनियम महत्त्वपूर्ण कुरा हो । सहकारी संस्थालाई साँच्चिकै सहकारीको रुपमा कसरी सञ्चालन गर्ने भन्ने कुरा हामीलाइृ थाहा छ । थाहा भएको कुरालाई पालना गर्‍यौ भने समस्या हुँदैन । जो–जो ले स्वनियमनलाई पालना गरेका छैनन् । जो नाफाको पछाडि दौडिएका छन्, ती संस्थाहरूमा समस्या छ ।

पहिले पहिले सहकारीको सहायताले मानिसहरूको जीवनस्तर उक्सेका धेरै कथाहरू पढ्न र सुन्न पाइन्थ्यो । अहिले तपाईँहरू बदनाम हुनेगरी हल्ला भोगिरहँदा ती उदाहरणहरू किन अघि सार्नु हुन्न ?

त्यस्ता उदाहरणहरू अहिले पनि पर्याप्त छन्। चन्द्रागिरि सहकारीका कारण पनि धेरै मानिसहरूको जीवनस्तरमा सुधार भएको छ। कतिले पढ्न पाएका छन् । व्यापार व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्ने लक्ष्य पुरा भएको छ । बेरोजगारहरूले रोजगार पाएका छन् । तर, अहिले केही सीमित संस्थाहरूमा भएको समस्याहरूले मिडियामा पनि स्थान पाएको छ । यसले गर्दा पनि सहकारी राम्रो क्षेत्र होइन भन्ने पर्न गएको हो । जसले समुदायका लागि सहकारी सञ्चालन गरेका हुन्छन् । उसको सञ्चालनको मोडल नै फरक हुन्छ र त्यहाँका सदस्यहरू लाभान्वित भएका हुन्छन् ।

हामीले सदस्यहरू जन्मेदेखि मृत्युसम्मका अवस्थामा सेवा पाउने गरी डिजाइन गरेका छौँ । हामी बचत ऋण सहकारी मात्र होइन । सदस्यहरूका हरेक क्षणमा सहकारी सँगसँगै हुनुपर्छ । सदस्यहरूका लागि एम्बुलेन्स र शवबाहनको व्यवस्था गरेका छौँ । सदस्यहरुमा आफ्नो मृत्यु भयो भने पनि क्रिया खर्च सहकारीबाट आउँछ भन्ने कन्फिडेन्स छ । बिरामी परे भने पनि वर्षमा ३० हजार रुपैयाँ चन्द्रागिरिले दिन्छ भन्ने अवस्था बनाएका छौँ । म मरे भने मलामी नभए पनि घाटसम्म चन्द्रागिरिको शवबाहनले पुर्‍याउँछ भन्ने कन्फिडेन्स बनाएका छौँ ।

सहकारीको साख फेरी जोगाउन तपाईँहरू के कस्ता योजना र कार्यक्रमहरू गरिरहनु भएको छ ?

सहकारीको साख जोगाउन आम जनता र सर्वसाधारणमा सन्देश जाने गरेर सहकारी संस्था भनेको के हो र कस्तो संस्थामा आबद्ध हुनपर्छ भन्ने कुरा आम सर्वसाधारणले बुझ्ने गरेर सन्देश जारी गर्ने काम गर्नुपर्छ। हामीले मुखले भन्दा पनि काम गरेर सहकारिता देखाएका छौँ । काम मार्फत नै सहकारी यस्तो हुन्छ भन्ने देखाएका छौँ ।

यस्तो बेला तपाइहरूलाई राज्यले साथ दिन के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

२०४६ साल पछि हेरौँ भने सहकारीको विकास क्रमलाई हेर्दा सबैभन्दा बढी जोखिम मोडमा छौँ । अहिले को–अपरेटिभ भन्ने ब्रान्डमा प्रश्न चिन्ह उब्जिएको समय हो । सहकारीको साख खस्कँदो अवस्थामा छ । राज्यले सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेरेर पुग्दैन । राम्रो गरेका सहकारीलाई सरकारले चिनाइदिनुपर्छ । अहिले सबै सहकारीमा समस्या आएको होइन ।

केही सहर केन्द्रित, सुशासनमा समस्या भएका संस्थामा समस्या आएको हो । समस्याको कारण लामो समयको कोरोना महामारीको असर र बाह्य युद्धका कारणले विश्वव्यापी रुपमा नै सङ्कट देखा परेको छ । समग्र अर्थतन्त्रमा नै यसले समस्या ल्याएको छ । सहकारीको भरोसा जोगाउनका लागि राज्यले आम जनतालाई आश्वस्त  पार्ने काम गरिदिनुपर्छ । सुशासनमा चलेका सहकारीलाई फरक खालको मापदण्ड बनाइदिनुपर्छ । सहकारी अभियानलाई राज्यको संरक्षणको पनि आवश्यकता छ ।  

अन्त्यमा, तपाई आफ्ना सदस्य, ऋणी र बचतकर्ताहरूलाई के भन्न चाहनुहुन्छ ?

अहिलेको यो अवस्थामा पनि हाम्रा सदस्यहरूले निरन्तर विश्वास गरिदिनुभएको छ । उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु । सहकारी क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेर्नुहुँदैन भनेर अनुरोध गर्न चाहन्छु । विकसित देशका इतिहास हेर्ने हो भने सहकारीको माध्यमबाट नै विकास भएको छ । अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा अङ्गीकार गरेको बेला सहकारीलाई कसरी सुशासित बनाउन सकिन्छ भन्ने कुरामा सहकारी अभियान पनि लाग्नुपर्छ ।