शीर्षकहरू

कसैले थाहै नपाइ राष्ट्रपति पौडेल बसन्तपुर पुगेपछि...

कसैले थाहै नपाइ राष्ट्रपति पौडेल बसन्तपुर पुगेपछि...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित देवी कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्न आउँदा र फर्किंदा बाटो खाली भएन । आमनागरिक र सामान्य सवारीसँगै राष्ट्रपति वसन्तपुर आउजाउ गरेपछि धेरैले राष्ट्रपतिका विगतका सवारी र सडक अवरुद्ध सम्झिए ।

दशमी तिथिमा कुमारीघरमा विशेष पूजाआजा हुने गर्छ । पूजाको भोलिपल्ट एकादशीको दिन कुमारीको प्रसाद राष्ट्राध्यक्षबाट ग्रहण गर्ने परम्परा छ ।राष्ट्रपति पौडेल शीतलनिवासबाट अपराह्न ४ बजे राष्ट्रपति भवन, पानीपोखरी, लाजिम्पाट, कान्तिपथ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, नेपाल वासुसेवा निगम, नयाँसडक हुँदै कुमारी मन्दिर वसन्तपुर पुग्नुभएको थियो । तर राष्ट्रपतिको सवारीमा न बाटो खाली गरियो न त सडकमा आउजाउ गर्नेलाई राष्ट्रपतिको सवारी छ भन्नेसम्म जानकारी रह्यो ।

राष्ट्रपति सवार गाडीको अघि र पछि गरी दुईवटा मात्र सुरक्षा निकायका गाडी थिए । राष्ट्रपतिको सवारीभन्दा झन्डै २० मिनेटपहिले नै सडक खाली गरी सर्वसाधारणको आउजाउ ठप्प पार्ने गरिएकोमा राष्ट्रपति पौडेलको सवारीलाई भने धेरैले अनौठो माने । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा नै रामचन्द्र पौडेलले सवारीका बेला आफूले बाटो खाली नगराई आफ्नो सवारीले सर्वसाधारणलाई असर पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर निर्वाचित भएपछि पशुपतिको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो ।

यस कार्यको आलोचना निकै भएको थियो । तर शनिबार भने त्यस्तो नभएकोमा सुरक्षा निकायको बेग्लै तर्क छ । कुमारीघर जाँदा उनको सवारी निजी भएको र सोहीअनुसार सवारीका बेला बाटो खाली नगरिएको सुरक्षा निकायको तर्क रहेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीका अनुसार अति विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रोटोकल’अनुसार नै सडक खाली गराइएको हुन्छ ।