विश्व अर्थतन्त्रको महारथी मानिने संयुक्त राज्य अमेरिकामा अहिले बैंकिङ संकट देखा परेको छ । पाँच दिनको अन्तरालमा तीनवटा मुख्य बैंक सिलिकन भ्याली (एसभीबी), सिग्नेचर र सिल्भर गेट बैंक सङ्कटमा परेको भन्दै बन्द गरिएपछि त्यहाँ बैंकिङ संकट सुरु भएको अनुमान लगाउन थालिएको छ ।
विशेषतः अल्पकालीन बैंकिङ तरलता व्यवस्थापनमा चुकेका कारण ती बैंकहरू यो अवस्थामा पुगेको बताइएको छ । निक्षेपकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि अमेरिकाको निक्षेप सुरक्षण निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले सिलिकन भ्याली, सिग्नेचर र सिल्भर गेट बैंक बन्द भएको घोषणा गरेको हो । केही दिन अघिसम्म सामान्य रूपमा चलिरहेका यी बैंकहरू एकाएक टाट पल्टिएपछि जनमानसमा एक प्रकारको त्रास नै पैदा गरेको छ । लामो समयसम्म समस्याग्रस्त भएपछि मात्र बैंकहरू टाट पल्टिन्छन् भन्ने निक्षेपकर्ताहरूको सोचाइलाई यो घटनाले नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ ।
अहिले सङ्कटमा परेको सिलिकन भ्याली अमेरिकामा रहेका बैंकहरूमध्ये १६ औं ठूलो बैंक हो । सन् २००८ मा टाट पल्टिएको वासिङ्टन म्युचुअल बैंकपछि अमेरिकामा टाट पल्टने यो दोस्रो ठूलो बैंक हो । यसको कुल सम्पत्ति गत वर्षको अन्त्यसम्म २ खर्ब ९ अर्ब डलर थियो । विशेष गरी प्रविधि केन्द्रित स्टार्टअप व्यवसाय, क्रिप्टो र भेन्चर क्यापिटलहरूमा यो बैंकको लगानी थियो । अमेरिकी केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्ने भन्दै व्यापक रूपमा ब्याजदर बढाउँदै लागेको छ । ब्याजदर निरन्तर उकालो लागेपछि त्यहाँको ‘बन्ड मार्केट’ हालसम्मकै न्यून बिन्दुमा ओर्लिएको छ ।
बन्ड मार्केटबाट नोक्सानी बेहोरिरहेका बेला सिलिकन बैंकमा एक्कासि निक्षेपकर्ताले निक्षेप फिर्ता लगेपछि संस्थामा समस्या आएको हो । उनीहरूको निक्षेप फिर्ता गर्नकै लागि सिलिकन बैंकले ठूलो नोक्सान बेहोरेर न्यून मूल्यमा बन्ड बिक्री गर्यो । डेढ वर्षअघि प्रतिकित्ता २ सय डलरसम्म पुगेको सेयर मूल्य २ डलरमा झर्यो । यही नोक्सानीका कारण तरलता व्यवस्थापन गर्न नसक्दा सिलिकन बैंक समस्यामा पर्यो । त्यसमाथि प्रविधि क्षेत्रमा आएको मन्दी र संस्थागत निक्षेपकर्ताको अविश्वासले करिब ४० वर्ष पुरानो सिलिकन भ्यालीजस्तो विशाल बैंकलाई एकै दिनमा ढालिदियो ।
सिलिकन भ्याली बन्द भएको ४८ घण्टा नबित्दै करिब ९० अर्ब डलर निक्षेप र १ खर्ब १८ अर्ब डलर सम्पत्ति भएको सिग्नेचर बैंक अमेरिकी इतिहासकै टाट पल्टने तेस्रो ठूलो बैंक बन्यो । यही क्रमलाई पछ्याउँदै केही दिनकै अन्तरमा अर्को बैंक सिल्भर गेट बन्द भयो । तुलनात्मक रूपमा सानो यो बैंकसँग करिब १६ अर्ब डलर मात्रै सम्पत्ति थियो । सिल्भर गेट र सिग्नेचर बैंक क्रिप्टो कम्पनीका मुख्य लगानी कर्ता हुन् । यी तीनवटै बैंकहरूको कुल सम्पत्ति जोड्ने हो भने ३ खर्ब ४३ अर्ब डलर पुग्नेछ, जुन हाम्रो देशको अर्थतन्त्रको तुलनामा नौ गुणा बढी हो ।
अर्थात् नेपालजस्तो अर्थतन्त्र भएका नौवटा देशको सिङ्गै सम्पत्ति भएका बैंकहरू पाँच दिनभित्र टाट पल्टिए । यसरी एकपछि अर्को गर्दै टाट हुने प्रक्रिया कहिलेसम्म चल्छ र यसले कति वित्तीय संस्थालाई असर गर्छ भन्ने अहिलेसम्म टुंगो लागेको छैन । वर्तमान समयमा अमेरिकी बैंकहरू जेपी मोर्गन, वेल्स फार्गो, बैंक अफ अमेरिका र मोर्गन स्ट्यान्ले, गोल्डम्यान स्याक्स र सिटीलगायतका प्रमुख वित्तीय संस्थाहरूको सेयर बजारबाट ठूलो नोक्सानी बेहोरिरहेका छन् । कुन बैंक कति बेला बन्द हुने हो, टुंगो छैन । यस अवस्थामा निक्षेपकर्ताहरूमा नैराश्यता छाएको देखिन्छ । यद्यपि एफडीआईसीले सबै बचतकर्ताको पैसा सुरक्षित भएको बताएको छ । एफडीआईसीले अमेरिकामा प्राकृतिक व्यक्तिको प्रतिखाता २ लाख ५० हजार अमेरिकी डलरबराबरको निक्षेप सुरक्षण अर्थात् बिमा गर्दै आएको छ ।
अमेरिकामा वित्तीय संस्थाहरू टाट पल्टनुलाई कुनै नौलो घटना भने मान्न सकिँदैन । सन् २००८ मा वित्तीय संकट सुरु भएयता अमेरिकामा साना–ठूला गरी ५ सय ३९ वटा बैंक तथा वित्तीय संस्थाहरू डुबिसकेको तथ्यांक छ । तर, यसमध्ये धेरैजसो वित्तीय संस्थाहरू निकै कम सम्पत्ति भएकाले यसले सिंगो वित्तीय प्रणालीलाई ठूलो असर गरेन । तर, पछिल्लो समय डुबेका बैंकहरूले भने अमेरिकाको वित्तीय बजारमा मात्र नभई विश्व बजारमा नै हलचल ल्याएको छ । गत साता मात्र एसिया र युरोपको सेयर बजारमा बैंकहरूको सेयर मूल्य ह्वात्तै घटेको छ । वित्तीय असन्तुलनको मार खेपिरहेको नेपालमा समेत यसको असर कस्तो पर्ने हो भन्ने धेरैको जिज्ञासा पनि छ ।
अहिलेको विश्वव्यापीकरणको युगमा एउटा देशमा परेको वित्तीय संकटले अन्य मुलुकहरूमा समेत असर पर्नुलाई आश्चर्य मान्न सकिँदैन । फरक यत्तिको हो कि यसको असर धेरै पर्छ वा कम । विश्व अर्थतन्त्रमा नेपाली अर्थतन्त्रको हिस्सा अत्यन्त न्यून रहेकाले अमेरिकी बैंकिङ संकटले सीधा अर्थतन्त्रमा गहिरो असर नपरे पनि अप्रत्यक्ष रूपमा भने असर पार्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा ब्याजदरमा वृद्धि हुँदा सरकारी वैदेशिक ऋणको दायित्व बढ्न सक्छ ।
ब्याजको भार हाम्रै बैंकहरूले पनि थेग्नुपरेको छ । अहिले १२ वटा बैंक तथा वित्तीय संस्थाहरूले करिब ६१ अर्ब ६८ करोड रुपैयाँ विदेशी ऋण ल्याएका छन् । यसको ब्याज बढ्दा हाम्रा बैंकहरूको दायित्व बढ्नेछ । यसैगरी कतिपय नेपालीले विदेशी सेयर बजार, घरजग्गा कारोबार र कमोडिटी बजार हँुदै क्रिप्टो बजारमा समेत लगानी गरेका छन् । यी बजारमा आएको गिरावटले उनीहरूको लगानीसमेत जोखिममा जाने अवस्था देखिन्छ । यसबाट नेपालमा भित्रिने रेमिटेन्समा समेत गम्भीर असर पुग्ने आकलन गर्न सकिन्छ ।
अमेरिकी बैंकहरू धमाधम बन्द हुँदा नेपालका निक्षेपकर्ताहरूमा समेत बेचैनी बढेको छ । कतै नेपालका बैंकहरू पनि यसैगरी डुब्ने त होइनन् भन्ने आशंकासमेत उनीहरूमा जागेको देखिन्छ । अमेरिकी बैंकहरूको तुलनामा नेपाली बैंकहरूको स्थिति भने नितान्त फरक छ । अधिकांश अमेरिकी बैंकको बन्डमा ठूलो लगानी गरेका छन् । तसर्थ, बन्डको मूल्यमा गिरावट आएपछि उनीहरू संकटमा गएको देखिन्छ । नेपालका बैंकहरूले भने लगभग २ प्रतिशत मात्र सेयर बजारमा लगानी गरेका छन् ।
तसर्थ, यसबाट जोखिम कम छ । अमेरिकी बैंकहरूमा बिनाधितो समेत कर्जा प्रवाह गर्ने प्रचलन छ, तर नेपालमा भने धितो राखेर मात्र कर्जा दिने चलनले भोलिका दिनमा संकटको समयमा यही धितोको प्रयोग गर्न सक्ने अवस्था रहन्छ । यसैगरी नेपाली बैंकहरूले कर्जा प्रवाह गर्दा एकै ठाउँमा मात्र नभई विविधीकरण गरेका छन् । यसले गर्दा एक स्थानमा आएको मन्दीले सम्पूर्ण बैंक नै डुब्न सक्ने सम्भावना कम देखिन्छ ।
अमेरिकी बैंकहरू जस्तै नेपालका बैंकहरू रातारात डुब्ने अवस्था नदेखिए पनि ढुक्क बस्ने अवस्था भने छैन । नेपालमा पनि ब्याजदर वृद्धिको समस्या छ, तरलता आभावले छोडेको छैन, आर्थिक गतिविधिहरूमा संकुचन आएको छ । यसले गर्दा विगतका महिनाहरूमा ऋण भुक्तानीको आवस्था सन्तोषजनक देखिँदैन । सीमित व्यक्तिमा प्रवाह भएको ऋण र घरजग्गामा गरिएको लगानी अहिले पनि समस्याग्रस्त छ ।
डेढ दशकअघि अमेरिकामा वित्तीय संकट आएकै बेला नेपालमा पनि घरजग्गामा बैंकहरूको अधिक लगानीले ठूलो वित्तीय संकट निम्त्याएको थियो । अहिले पनि बजारमा ब्याजदर वृद्धिको विरोध भन्दै बैंकको ऋण नतिर्नेसम्मका धम्कीहरू आउन थालेका छन् । तसर्थ, नियामक राष्ट्र बैंक र सरकारले यसलाई मिहिन तरिकाले नियाल्नुपर्ने आवश्यकता देखिन्छ । बैंकहरूले गर्ने लगानीको विविधीकरण गर्न र वित्तीय प्रणालीलाई पुनः अवतरण गराउन सबै सरोकारवाला जिम्मेवार हुनु आवश्यक देखिन्छ ।