शीर्षकहरू

यी हुन् उपप्रधानमन्त्रीमा आकांक्षा राख्ने कांग्रेसका ६ जना

यी हुन् उपप्रधानमन्त्रीमा आकांक्षा राख्ने कांग्रेसका ६ जना

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ ।

१३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको भए पनि प्रधानमन्त्रीपछिको दोस्रो तहको नेतृत्व कांग्रेसले लिनेछ ।

देउवा क्याम्पबाट पाँच जना
कांग्रेसबाट प्रधानमन्त्रीपछिको दोस्रो वरीयता सम्हाल्दै सरकारमा जान कांग्रेसका हालका उपसभापतिदेखि पूर्वउपसभापति तथा वर्तमान महामन्त्रीसम्मको आकांक्षा छ । हालका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत र नेता ज्ञानेन्द्रबहादुर कार्कीले इच्छा देखाएका छन् । यीमध्ये महामन्त्री थापाबाहेकका सबै सभापति शेरबहादुर देउवा क्याम्पका हुन् ।

खड्का उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाए सरकारमा जाने मनस्थितिमा छन् । तथापि, उनले सरकारमा जाने आफ्नो इच्छा नरहेको सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

महामन्त्री गगनकुमार थापा पनि उपप्रधानसहित अर्थ मन्त्रालयको नेतृत्व पाए सरकारमा जाने मनस्थितिमा रहेको उनीनिकट स्रोत बताउँछ । उनलाई निकट नेताहरूले उपप्रधानसहित सरकारको नेतृत्वमा जान दबाब दिइरहेका छन् ।

यसैगरी, कांग्रेस पूर्व उपसभापति निधि पनि सरकारको नेतृत्व लिन तयार देखिएका छन् । उनले पछिल्लो समय सभापति देउवासँगको सम्बन्ध सुमधुर बनाउँदै लगेका कारण सरकारमा आफूलाई नेतृत्व दिने अपेक्षा राख्दै आएका छन् । कांग्रेसको गत महाधिवेशनमा पहिलो चरणमा सभापतिमा आफैं उम्मेदवार बनेका निधिले दोस्रो चरणमा देउवालाई साथ दिँदै सभापतिमा सघाएका थिए ।

यसैगरी, पूर्वमहामन्त्री सिंह पनि उपप्रधानसहित सरकारको नेतृत्वमा जान तयार देखिएका छन् । उनले पछिल्लो समय आफूनिकट नेतामार्फत सरकारमा जाने इच्छा सभापतिसम्म पुर्‍याइसकेका छन् ।

यसैगरी, कांग्रेस पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता महतको पनि सरकारमा उपप्रधानसहितको जिम्मेवारीमा जाने चाहना देखिएको छ । उनले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जान इच्छा देखाइरहेका छन् ।

‘चाहना देखाउने कुरा आफ्नो ठाउँमा होला, पार्टीले कसलाई पठाउँछ, अहिले केही नबोलौं,’ तपाईंको अर्थमन्त्री बन्ने इच्छा हो ? भन्ने प्रश्नमा महतले राजधानीसँग भने ।

यस्तै, नेता कार्कीले पनि उपप्रधानसहित अर्थ मन्त्रालयको नेतृत्व लिएर सरकारमा जान लबिङ गरिरहेका छन् । उनी यसअघिसमेत देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको भूमिकामा थिए भने पछि सञ्चारमन्त्रीका रूपमा सरकारमा थिए ।

हाल सरकारको नेतृत्व गरेको गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दल छन् ।

यी आठै दलले मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत सँगसँगै लिने गरी आवश्यक तयारी र रणनीति बनाएका छन् । एमालेसहितको गठबन्धन १२ फागुनमा भत्किएपछि आठदलीय गठबन्धन बनेको थियो ।

१० पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको मुख्य समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, नयाँ गठबन्धन बनेसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रचण्डले संविधानको धारा ७६ (२) अनुसार गत १० पुसमा प्रतिनिधिसभाका १ सय ६९ सांसदको समर्थन ततत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेपछि तत्कालीन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रचण्डलाई नेकपा माओवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीले समर्थन गरेका थिए ।

प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो ।