शीर्षकहरू

स्ववियु निर्वाचनमा यति धेरै विवाद, सर्वपक्षीय बैठकमा कुरा मिलेन

स्ववियु निर्वाचनमा यति धेरै विवाद, सर्वपक्षीय बैठकमा कुरा मिलेन

वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा उत्पन्न विवाद सुल्झाउन मङगलबार साँझको सर्वपक्षीय बैठक निष्कर्षविहीन भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकमा सहमति जुट्न सकेन। 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितीमा भएको बैठकमा चार घण्टा छलफल भएको थियो। सहमति नजुटेपछि बुधबार बिहान ८ बजे फेरि बस्ने समझदारी भएको बैठकमा सहभागी कांग्रेस पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए। 

बैठकमा सोमबार निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा त्रूटी रहेको र त्यस बारे छानबिन गरी सच्याउनु पर्ने विषयमा छलफल भएपनि निष्कर्ष भने निस्किन सकेन। यसलाई बुधबार बिहानको बैठकले सहमति जुटाउने सिंहले बताए। 

निर्वाचन समितिले सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार , मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो। मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा उल्लेख थियो ।

सोमबार निर्वाचन समितिले जारी गरेको ९ हजार ७ सय मतदाताको नामावली प्रति विरोध जनाउदै मंगलबार बिहान विधार्थी संगठनहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नु पर्ने माग राखेर क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका थिए।  जसले मंगलबार मनोनयनपत्र वितरण कार्य नै हुन सकेन। त्यसपछि निर्वाचन समितिले तत्काल निर्वाचन कार्यतालिका स्थगित गरेर यस बारेमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकमा छलफल गर्ने जानकारी विधार्थी संगठनहरुलाई गराएको थियो। तर सर्वपक्षीय बैठकमा पनि मंगलबार निष्कर्ष निस्कन नसकेपछि चैत ८ मा निर्धारित निर्वाचन नै अब हुने किन नहुने भन्ने अन्यौल थप बढेको छ।