शीर्षकहरू

सिक्लेस हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै १०.५३ प्रतिशत लाभांश

सिक्लेस हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै १०.५३ प्रतिशत लाभांश

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गरेको पहिलो वर्षनै १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी असोज ११ गते बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड रहेको छ ।

सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित नगद लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २० गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । आभ्या क्लब, घारीपाटन, कास्की, पोखरामा विहान ११ बजे कम्पनीले सभा बोलाएको हो । 

सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत उत्पादन गर्दै आएको हो । 

यस आयोजनाको कुल लागत रू. २ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २७ लाखभन्दा बढी नाफा गरेको छ । सो अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट रू. १९ करोड ३३ लाखभन्दा बढी आम्दानी गरेको छ ।