शीर्षकहरू

‘जडीबुटीबाट लाभ लिने हो भने सरकारले कानमा तेल हालेर बस्नु हुँदैन’

‘जडीबुटीबाट लाभ लिने हो भने सरकारले कानमा तेल हालेर बस्नु हुँदैन’

नेपालको भौगोलिक विविधता र प्राकृतिक स्रोतको प्रचुर उपलब्धताले हामीलाई दिएको एक उत्कृष्ट उपहार हो, दुर्लभ र महत्त्वपूर्ण जडीबुटीहरू। तर, त्यसको सही सदुपयोग मात्र होइन उचित बजारीकरण समेत गर्न नसकेर हामीले प्रकृतिले दिएको अनुपम उपहारबाट जुन मात्रामा लाभ लिन सक्नुपर्थ्यो त्यो सकिरहेका छैनौँ भन्ने आम मानिसहरूको धारणा रहने गरेको छ। खासमा हामी हाम्रा जडीबुटीबाट के आर्थिक लाभ लिई रहेका छौँ ? यो क्षेत्रमा काम गरिरहेकाहरूको अनुभव कस्तो छ ? सरकारी नीति कति सहज र जडीबुटी व्यापारको लागि अनुकूल छ भन्ने लगायतका प्रश्नहरूको जवाफ खोज्ने क्रममा आर्थिक न्युज डटकमकी सम्वाददाता सम्झना बरुवालले जडीबुटी व्यवसायी सङ्घ नेपालका अध्यक्ष विष्णु भण्डारीसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अंश :

तपाई जडीबुटी व्यवसायी, नेपालमा जडीबुटीको बजारको अवस्था कस्तो छ ?

समग्र रुपमा भन्नुपर्दा नेपालमा जडीबुटीको स्थानीय बजार राम्रो छ । तर, निर्यातमा भने कोरोना महामारी यता समस्या हुँदै गएको छ। अहिले झन् समस्या थपिएको छ । बजारमा देखिएको आर्थिक समस्याका साथै नीतिगत समस्याहरू पनि हाम्रा समस्याका रुपमा रहेका छन् । सरकारी नीतिका कारण पनि जडीबुटी निर्यातमा समस्या झन् बढेको छ । विशेष गरी जडीबुटी क्षेत्रमा ऐन र नियमको पनि समस्याहरू रहेका छन् । वन ऐनमा पनि समस्या छ । त्यससँगै कोरोना महामारी पछि विभिन्न क्षेत्रमा देखिएको आर्थिक मन्दीका कारण निर्यात घटेको हो । 

हामी जडीबुटी बेचेर औषधि किन्छौ, आफैँले औषधि बनाउन सकिँदैन ?

नेपालमा औषधि बनाउने उद्योगहरू पनि रहेका छन् । उहाँहरूले औषधि बनाएर बाहिरी देशमा निर्यात पनि गरिरहनु भएको छ । नेपालमा १२० भन्दा बढी औषधि उद्योगहरू छन् । यसका साथै आयुर्वेदिक तेलहरू पनि उत्पादन गरेर निर्यात गरिरहनु भएको छ । केही औषधि हामी बाहिरबाट पनि निर्यात गर्छौ । तर पछिल्लो समय नेपालको आयुर्वेदिक औषधिहरूको व्यापार फस्टाउँदै गएको र विदेशी आयुर्वेदिक औषधिहरूलाई विस्थापित गरेको अवस्था पनि छ  । पतञ्जलि  र डाबरका औषधिहरू कोरोना काल भन्दा अघिदेखि नै फेल भएर नेपाली औषधिहरू नै चलिरहेको अवस्था छ । जडीबुटी र कच्चा पदार्थ निर्यात हुन्छ । त्यससँगै औषधि बनाएर पनि निर्यात हुन्छ । देशका लागि आवश्यक पर्ने ५० प्रतिशत भन्दा बढी आयुर्वेदिक औषधिहरू अहिले नेपालमा नै उत्पादन हुने गरेको छ ।

नेपालका जडीबुटी व्यवसायीहरूले कहिलेदेखि बोरामा बेच्दै आएको जडीबुटीलाई बोतलमा बेच्न सुरु गर्ने ?

नेपाल जडीबुटीको ठुलो सम्भावना भएको देश हो । यहाँ अथाह जडीबुटीको भण्डार छ । तर, यहाँ धेरै समस्याहरू रहेका छन् । ल्याएको समस्या छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ल्याब, अनुसन्धान गर्ने तत्त्वहरूको विकास र प्रमाणीकरणको विकास भयो भने हामीहरूले बोरामा नबेचेर बोतलमा बेच्ने अवस्था बनाउन सकिन्छ । यसका लागि नेपालको नीति नियम र सरकार लगायत परराष्ट्र नीति पनि बलियो हुन जरुरी छ । व्यवसायीहरूले पनि आत्मसाथ गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूले लगानीको राम्रो वातावरण बनाइदिनु पर्‍यो । सस्तो ब्याजमा ऋण उपलब्ध भयो भने पनि बोतलमा बेच्न सम्भव हुनसक्छ ।

हाम्रो जडीबुटीको खास बजार कहाँ हो ?

हाम्रो सबैभन्दा ठुलो बजार भनेको छिमेकी राष्ट्र चीन र भारत नै हो । तेस्रो मुलुकहरूमा अमेरिका, जापान र युरोप लगायतका ठाउँहरूमा हाम्रो जडीबुटी र जडीबुटीबाट बनेका तेलहरू निर्यात हुन्छ। तेस्रो मूलकमा पनि प्रशस्त मात्रामा बिक्छ ।

जडीबुटी निर्यातमा कस्ता समस्याहरू छन् ?

जडीबुटी निर्यातमा केही समय अगाडी देखिनै धेरे समस्याहरू रहेका छन् । तर, केही समस्याहरू समाधान भएपछि पछिल्लो समय नीतिगत समस्याहरू यथावत् नै रहेको छ। जडीबुटीहरूमा पनि भ्याट लगाउने समस्या छ । जडीबुटीको निर्यात बढाउनका लागि भण्डारण केन्द्रको पनि समस्या छ । पहाड र हिमालबाट जडीबुटीहरू सङ्कलन हुन्छ त्यसलाई भण्डारण गर्ने केन्द्रको अभाव छ । कोल्ड स्टोर र वायर हाउसको पनि अभाव छ । यसले गर्दा पनि जडीबुटीको निर्यात बढाउन नसकेको अवस्था छ ।

जडीबुटीको निर्यात बढाउनका लागि भण्डारण केन्द्रको पनि समस्या छ । पहाड र हिमालबाट जडीबुटीहरू सङ्कलन हुन्छ त्यसलाई भण्डारण गर्ने केन्द्रको अभाव छ । कोल्ड स्टोर र वायर हाउसको पनि अभाव छ । यसले गर्दा पनि जडीबुटीको निर्यात बढाउन नसकेको अवस्था छ ।

खर्बौँ रुपैयाँमा जडीबुटीको निर्यात हुन्छ । जडीबुटीको ठुलो सम्भावना छ ।  तर, सरकारको तर्फबाट केही मात्रामा सहयोग भयो भने निजी क्षेत्र र सबै व्यवसायी मिलेर निर्यातलाई बढाउन सकिन्छ। यसका लागि हामीले प्रोजेक्ट रिपोर्टहरू पनि तयार गरेका छन् । धेरै मञ्चहरूमा भन्दै पनि आएका छौँ । २५ प्रतिशतसम्म निर्यातलाई बढाउन सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । यसका साथै आयातलाई घटाएर व्यापार घाटा कम गरी मुलुक आत्मनिर्भर हुन पनि धेरै सहयोग हुन्छ ।

नेपालमा जडीबुटी व्यवसायका खास समस्याहरू के–के हुन् ?

हाम्रो जडीबुटी क्षेत्र भन्ने बित्तिकै प्रहरी र राजस्व लगायतका विभिन्न निकायहरूले हेर्ने दृष्टिकोण फरक छ । जडीबुटी दुई नम्बरी हो की ? अवैध हो की ? भन्ने शङ्का हुने गरेको छ । बोरामा पोको पारेको जडीबुटीलाई चिनाउन नसकेको अवस्था छ । पहिलेको तुलनामा कम भएता पनि अहिलेको मुख्य समस्या नै यही रहेको छ ।

वनको कागज बनाउनुपर्ने, निजी क्षेत्रमा उत्पादन भएको जडीबुटीलाई पनि वनको छुट पुर्जी बनाउनुपर्ने, गाडीहरू बिचबिचमा रोक्ने, ठाउँ–ठाउँमा कर तिर्नुपर्ने लगायतका धेरै समस्याहरू रहेका छन् । कतिपय ठाउँमा कागजपत्र हुँदा हुँदै पनि जानकारीको अभावले गर्दा प्रहरीहरूले दुख दिने समस्याहरू यथावत् नै छन् । जडीबुटी व्यवसायीहरूले नियम कानुनहरू थाहा नहुँदा जानकारीको अभावका कारण पनि धेरै समस्याहरू भोगिरहेका छन् । जडीबुटी भनेको निम्न स्तरका, पढाई  नभएका गरिब र अनकन्टारका मान्छेहरूले गर्ने काम हो। अहिले निर्यातकर्ताहरुले पनि धेरै कुरा सिकाइरहनु भएको छ । विभिन्न ठाउँमा गएर तालिमहरू पनि दिइरहनु भएको छ । जडीबुटी क्षेत्रमा समस्या धेरै छन् । तर, केही समस्याहरू व्यवसायीहरूले नै समाधान गरिरहेका छौँ ।

नेपालको कानुनमा पनि सुधारको खाँचो छ ?

नेपालको कानुनमा जडीबुटी क्षेत्र लगायतका निर्यातको लागि धेरै कुराहरूको सुधारको खाँचो छ । २०५१ सालको वन ऐन चलाइरहेका छौँ । वन ऐनहरू परिवर्तन हन आवश्यक छ । परराष्ट्र नीति गतिलो छैन । जडीबुटीको ठुलो बजार चीनमा सामान जान्छ । तर, चीनले बैंकिङ प्रणाली मार्फत पैसा दिँदैन । उसले वैधानिक  रुपमा सामान किन्नै चाहँदैन । सरकारले परराष्ट्र नीति पनि परिवर्तन गर्नुपर्ने छ । खेती भएका उत्पादनलाई सहज रुपमा स्थानीय निकायबाट रसिद र भौचर काटेर सहज रुपमा सामानहरू यता उता लान र ल्याउन पाउने वातावरण बनाउनुपर्छ  ।

जडीबुटी भन्ने बित्तिकै औषधिको रुपमा मात्रै प्रयोग हुँदैन । मसलाको रुपमा पनि प्रयोग हुन्छ । अलैचीं, टिमुर लगायतका जडीबुटीहरू मसलाको रुपमा प्रयोग हुन्छ । धूपमा र कस्मेटिक आइटममा पनि जडीबुटीको प्रयोग हुने गर्छ ।  श्रीखण्ड, घिउकुमारीहरू औषधि र कस्मेटिक दुवैमा प्रयोग हुन्छ । त्यसैगरी फुड सप्लीमेन्ट्रीको रुपमा पनि प्रयोग हुने भएकाले जडीबुटीहरूलाई नीति बनाएर फुड सप्लीमेन्ट्रीको कानुन बनाएर कारोबार गर्न र निर्यात गर्न सकियो भने राम्रो सम्भावना रहेको छ ।

सरकारले जडीबुटी व्यवसायीलाई कसरी हेरेको छ ?

अहिलेसम्म सरकारले जडीबुटी भनेर आँखा चिम्लेको जस्तो लाग्छ । हामीले जति पटक ढोका ढक्ढक्याएपनि सरकारले हाम्रो समस्या फिटिक्कै सुनेको छैन । यो क्षेत्रमा लागेको २८ वर्ष भयो । १० वर्षदेखि सरकारी निकायमा ढोका ढकढक्याउन पनि कुनै सुनुवाइ भएको छैन । औषधि उत्पादन हुने क्षेत्रमा भण्डारण केन्द्र बनाइदेऊ भन्दा पनि सरकारले नसुनेको अवस्था छ ।

१० वर्षदेखि सरकारी निकायमा ढोका ढकढक्याउन पनि कुनै सुनुवाइ भएको छैन । औषधि उत्पादन हुने क्षेत्रमा भण्डारण केन्द्र बनाइदेऊ भन्दा पनि सरकारले नसुनेको अवस्था छ ।

हाम्रो जडीबुटीको क्षेत्र हेर्ने निकाय पनि छैन । संसारभरि खपत हुने ६० प्रतिशत अलैचीं नेपालले उत्पादन गर्छ । त्यसैगरी टिमुर पनि नेपालले उत्पादन गर्छ । जडीबुटीको लागि नेपाललाई संसार कै हब बनाउन सकिन्छ । तर, सरकारले जडीबुटी क्षेत्रलाई ओझेलमा पारेको छ । कुनै पनि क्षेत्रमा सरकारले सुनेको छैन । जडीबुटी क्षेत्रमा त झन् कानमा तेल हालेर बसेको छ । आर्थिक क्षेत्रदेखि लिए निर्यातमा पनि सरकारले सहयोग नगरेको अवस्था छ । जडीबुटी क्षेत्रको विकास गर्ने हो भने जडीबुटी विकास बोर्डको आवश्यकता छ ।