शीर्षकहरू

तरकारीमा हामी खाँदैछौं यस्तो विष

तरकारीमा हामी खाँदैछौं यस्तो विष

काठमाडौं । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।

कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । 

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना सङ्कलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ । समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन् । तरकारी भान्छामा पु(याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् । 

प्रभावकारितामा शङ्का
कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको कुनै प्रभावकारिता नभएको दाबी गरे । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पुर्‍याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ७र८ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही हुँदैन । उनले प्रश्न गर्दै भने, “बजारबाट लगिएका तरकारी ८ बजेसम्म भान्छामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?” 

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख नरहरिप्रसाद घिमिरे प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए हामीलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताए । “प्रयोगशालामा काम गर्ने महिला कर्मचारी छन्, तिनको सुरक्षाको कसले जिम्मा लिने ? सुरक्षाको व्यवस्था भयो भने हामी राति पनि नमुना सङ्कलन गर्न तयार छौँ,” उनले भने । यसरी राति आएर परीक्षण गरेर दिएको प्रतिवेदनअनुसार समितिले तरकारी नष्ट गर्छ कि गर्दैन भन्ने पनि हेरिनुपर्ने उनले बताए । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने बताए । बजारमा सुरक्षागार्डदेखि कर्मचारी साथीहरू रातिदेखि काम गरिरहेका हुने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने उनको भनाइ छ ।