काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हिमालयन दृश्य रिसार्ट, धुलिखेलमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुृका साथै प्रस्तावित १८ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभाश वितरणको प्रस्ताव कम्पनीले गरेको छ ।
साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर कार्य सम्पन्न भई २०७८ साल वैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेकाले लाभांशमा लाग्ने करमा भने छुट हुनेछ । स्वरोजगार घलुवित्तसँग मर्जर प्रक्रियामा रहेको कम्पनीले मर्जरको प्रस्तावलाई समेत स्वीकृति दिनेछ । मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।