शीर्षकहरू

स्वरोजगार लघुवित्तले चैत ११ गते लाभांश पारित गर्ने

स्वरोजगार लघुवित्तले चैत ११ गते लाभांश पारित गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १७ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजारको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उल्लेखित प्रस्तावसँगै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।